कोभिडको चपेटामा निर्माणाधीन होटेल, डेढ खर्ब लगानीमाथि जोखिम

शुक्रबार, ११ असार, २०७८
डिजिटल संस्करण
कोभिडको चपेटामा निर्माणाधीन होटेल, डेढ खर्ब लगानीमाथि जोखिम

काठमाडौंको कान्तिपथमा निर्माणाधीन होटेल बाराही । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

कोभिडका कारण १५ महिनादेखि पर्यटन क्षेत्र ठप्प छ । पुरानै होटेलको लगानी नै समस्यामा परेका वेला अर्बौैंको लगानीमा निर्माण भइरहेका नयाँ होटेलहरूले सम्पन्न भई सञ्चालनमा ल्याउने अवधि बढाउँदै लगेका छन्, तर यहीबीचमा होटेलहरूमा बैंकको लगानी करिब ३० अर्बले बढेर १ खर्ब ३९ अर्ब पुगेको छ  

पोखराको बाराही होटेलका सञ्चालक विप्लव पौडेलले काठमाडौंको कान्तिपथमा नयाँ होटेल निर्माण सुरु गरेको चार वर्ष भयो । कोभिडअघिको योजनाअनुसार ०७७ वैशाखमा होटेल सञ्चालन गर्ने लक्ष्य उनको थियो । तर, कोभिडले होटेल निर्माणमा अवरोध भएपछि गत पुससम्म सञ्चालनमा ल्याउने लक्ष्य लिए पनि अहिलेसम्म होटेल निर्माण सम्पन्न भएको छैन । ‘अहिले होटेल निर्माणको काम जारी भए पनि गति घटेको छ,’ पौडेलले भने । एक अर्ब लगानी लाग्ने आकलन गरेर निर्माण सुरु गरेको होटेलमा कोभिडकै कारण ३० प्रतिशत लागत बढ्ने देखिएको छ । यसको मतलब, होटेल सञ्चालनमा आउँदासम्म १ अर्ब ३० करोड रुपैयाँ खर्च हुनेछ ।

नक्सालमा निर्माण भइरहेको पाँचतारे डबलट्री बाई हिल्टन होटेलको काम पनि उत्साहजनक हुन सकेको छैन । जगदम्बा हस्पिटालिटीका प्रबन्ध निर्देशक साहिल अग्रवालका अनुसार अहिलेसम्म होटेलको स्ट्रक्चर निर्माणको काम ९५ प्रतिशत सम्पन्न भयो । इन्टेरियरको काम अझै ८५ प्रतिशत र मेकानिकल, इलेक्ट्रिकल तथा प्लम्बिङको काम ३०–४० प्रतिशत बाँकी छ । ‘निषेधाज्ञाले बजार बन्द छ, निर्माण सामग्रीको अभाव छ, सीमित कर्मचारीले काम गरिरहेका छन्,’ उनले भने, ‘लकडाउन तथा निषेधाज्ञाले होटेल निर्माणमा ढिलाइ हुँदा सञ्चालन अवधि सरेको सर्यै छ, अब ०७९ सालको दसैँसम्म होटेल सञ्चालनमा ल्याउन सकिन्छ कि भन्ने छ ।’ सुरुमा भ्रमण वर्ष २०२० सम्म होटेल सञ्चालन गर्ने लक्ष्य राखे पनि कोभिडले डेढ–दुई वर्ष पछाडि धकेलियो । उनले थपे, ‘होटेल निर्माणमा ढिलाइ हुँदा प्रोजेक्ट कस्ट बढेको बढ्यै छ, ५ अर्बसम्ममा होटेल सञ्चालन गर्न सकिन्छ कि भन्ने थियो, अब लगानी बढेर ६ अर्ब पुग्ने अनुमान छ ।’ 

कोभिड महामारीकै कारण दरबारमार्गमा सञ्चालित पाँचतारे होटेल अन्नपूर्ण करिब दुई वर्षदेखि बन्द भएको छ । तत्काल पर्यटक आउने सम्भावना नदेखेपछि मुलुककै पहिलो पाँचतारे होटेल अन्नपूर्ण बन्द गर्ने निर्णयमा व्यवस्थापन पुगेको हो । कोभिडको पहिलो लहर मत्थर भएर लकडाउन खुकुलो भएपछि अधिकांश उद्योग व्यवसाय पुरानै अवस्थामा फर्किन लागेको थियो, तर पर्यटन क्षेत्र सामान्य अवस्थामा आउन सकेन । कोभिडको दोस्रो लहरअघि आन्तरिक पर्यटकको मुभमेन्ट केही बढे पनि विदेशी पर्यटक लक्षित होटेल, ट्रेकिङलगायत पर्यटन विगत १५ महिनादेखि ठप्प छ । 

कोभिडले बाराही काठमाडौं (कान्तिपथ), हायात प्यालेस (ताहाचल), र्याडिसन (सुकेधारा), हिल्टन (नक्साल), होलिडे इन (पुल्चोक), दी सेन्चुरियन (विराटनगर), द लस्ट होराइज रिसोर्ट (पोखरा), भंगेरी दरबार रिसोर्ट (नगरकोट), लेमन ट्री (त्रिपुरेश्वर), सिप्राभ्य होटेल (रविभवन) लगायत एक दर्जनभन्दा बढी पाँचतारे र चारतारे होटेल निर्माण रोकिएको छ । कोभिडकै कारण निर्माणको तयारीमा रहेका दर्जन हाराहारी ठूला होटेलको काम सुरु हुन सकेको छैन ।

कोभिडका कारण पर्यटक आगमन शून्य हुँदा बन्द भएका पुराना होटेलहरू हायात रिजेन्सी, मल्ल, पवन प्यालेसलगायत पुनः सञ्चालनमा आउनै सकेका छैनन् । कोभिडले थलिएको पर्यटनले खुट्टा उठाउन नपाउँदै दोस्रो लहर सुरु भएपछि धेरै व्यवसायीहरू पलायन हुने अवस्थामा पुगेको पाँचतारे म्यारियट होटेलका सञ्चालक शशिकान्त अग्रवाल बताउँछन् ।

साहिल अग्रवाल,जगदम्बा हस्पिटालिटी

होटेल निर्माणमा ढिलाइ हुँदा प्रोजेक्ट कस्ट बढेको बढ्यै छ, ५ अर्बसम्ममा होटेल सञ्चालन गर्न सकिन्छ कि भन्ने थियो, अब लगानी बढेर ६ अर्ब पुग्ने अनुमान छ 
 

यसरी नयाँ र पुराना दुवै किसिमका होटेलले अप्ठ्यारो सामना गरिरहँदा यस क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूले वैशाखसम्म लगानी गरेको १ खर्ब ३८ अर्ब लगानीको भविष्य पनि अन्योलमा परेको छ । गत वर्षको वैशाखमा होटेलमा बैंकको लगानी १ खर्ब ९ अर्ब रहेको थियो । कोभिडकै बीचमा होटेलमा बैंकको लगानी २९ अर्ब रुपैयाँ थपिएको छ । यसबाहेक पनि  बैंकहरूले पर्यटन (ट्रेकिङ, माउन्टेनियरिङ, र्याफ्टिङ आदि) मा २८ अर्ब ७८ करोड रुपैयाँ लगानी गरेका छन् । 

नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशी भ्याक्सिन नलगाएसम्म नेपालमा पर्यटक ल्याउन कठिन हुने बताउँछन् । होटेलमा बैंकहरूको अर्बौँ रुपैयाँ लगानी रहेकाले होटेल डुब्दा जनताको पैसा डुब्ने भएकाले त्यसतर्फ सबैले सोच्नुपर्ने जोशी बताउँछन् । ‘भ्याक्सिन सहज गरेर नेपाल सुरक्षित छ भन्ने सन्देश दिन सके दक्षिण एसियामा नेपाल र श्रीलंका पर्यटकको रोजाइमा पर्ने देखिन्छ,’ जोशीले भने । 

पटक–पटकको निषेधाज्ञा र लकडाउनले होटेल निर्माणमा अवरोध सिर्जना भएको बाराही होटेलका सञ्चालक पौडेलले बताए । ‘अहिलेको विषम परिस्थितिमा होटेल निर्माण चाँडै सम्पन्न गरेर मात्र भएन, पर्यटक नआई होटेल चल्दैनन्,’ सिजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरीले भने, ‘महामारी तत्काल मत्थर हुने छाँटकाँट देखिँदैन, संक्रमण फैलिन कम नभएसम्म पर्यटक आउनेवाला छैनन्, त्यसैले होटेल निर्माणको गति पनि कम गरेका छौँ ।’ सेराटन, हिल्टनलगायत कतिपय निर्माणाधीन होटेलहरूले भूकम्प, नाकाबन्दी र कोभिड तीनवटै विपत्तिको मार खेपेका छन् । कोभिडकै कारण प्रोजेक्ट डिले हुँदा लागत कम्तीमा ३० प्रतिशत बढेको उनीहरूको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका वरिष्ठ आर्थिक सल्लाहकारसमेत रहेका व्यवसायी मोती दुगडले विराटनगरको महेन्द्र चोकमा निर्माण गरिरहेको पाँचतारे होटेल दी सेन्चुरियन सञ्चालनको अत्तोपत्तो छैन । सुरुमा होटेल मात्र खोल्ने सोचले निर्माण थालनी गरेको प्रोजेक्टमा मल, स्विमिङ पुल, हेल्थ क्लब, रेस्टुराँ, पार्क, सिनेमा हल, क्यासिनो, गेमिङ जोनलगायत थपिएका छन् । ‘यो मेरो ड्रिम प्रोजेक्ट हो, कुनै पनि हालतमा सञ्चालनमा ल्याउँछु,’ उनले भने, ‘यो १ नम्बर प्रदेशकै युनिक प्रडक्ट बन्ने पक्का छ ।’ १ अर्ब लगानीको आकलन गरी निर्माण सुरु गरेको होटेलमा विभिन्न सेवा थपिएपछि लगानी २ अर्ब पुग्ने भएको छ । त्यसमाथि कोभिडलगायत विभिन्न कारणले निर्माण तथा सञ्चालनमा ढिलाइ भइरहँदा लागत २० प्रतिशत थपिने उनले बनाए । अबको ६ देखि ९ महिनाभित्र होटेल सञ्चालनमा ल्याइसक्ने उनको लक्ष्य छ ।

सिजी होल्डिङ्सले ललितपुरको पुल्चोकमा पाँचतारे होटेल ‘होली डे इन’ निर्माण सुरु गरिसकेको थियो । यस्तै, त्रिपुरेश्वरको बिजनेस होटेल ‘लेमन ट्री’ र नगरकोटको भँगेरी दरबार रिसोर्ट निर्माण भइरहेको थियो । तर, कोभिडले तीनवटै प्रोजेक्ट निर्माणमा ब्रेक लगाइदिएको सिजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरीले बताए । ‘हाम्रा तीनवटै होटेलको निर्माण कार्य जारी छ, तर स्पिड घटाएको छु,’ उनले भने, ‘कोभिड मत्थर भएर पर्यटन लयमा फर्किंदासम्म होटेल सञ्चालनमा आउनेछन् ।’ गत वर्ष कोभिड सुरु भएपछि उनलाई लागेको थियो, बढीमा एक वर्षभित्र महामारी रोकिएला, त्यसपछि पर्यटन लयमा फर्किहाल्छ । तर, कोभिडको दोस्रो लहर आयो र तेस्रो लहर पनि आउन सक्ने चर्चा भइरहेको छ । ‘अबको दुई–तीन वर्ष पर्यटन लयमा फर्किन सक्दैन, सुरुमा पर्यटक आउँदा पहिलेदेखि चलिरहेका होटेलबीच हानथाप हुन्छ, उनीहरू कोठा बिक्री गर्न प्राइस–वारमै उत्रिन्छन्, त्यो वेलामा नयाँ होटेल प्राइस–वारमा उत्रिएर प्रतिस्पर्धा गर्न सक्दैनन्,’ उनले भने, ‘अहिले तीव्र गतिमा काम गरेर होटेल सञ्चालनमा ल्याए पनि पर्यटक नआई व्यापार हुँदैन, त्यसैले होटेल निर्माणमा हतारिएको छैन ।’ 

नगरकोटको भँगेरी दरबार रिसोर्ट किनेर स्तरोन्नति गर्ने काम भइरहेको छ । यो रिसोर्ट सन् २०२३ को मध्यसम्ममा सञ्चालनमा ल्याउने तयारी छ । यस्तै, त्रिपुरेश्वरको लेमन ट्री होटेल २०२३ को अन्तिमसम्ममा र पुल्चोकको होली डे इन २०२४ भित्र सञ्चालनमा आउने उनले जानकारी दिए । 

कान्तिपथमा निर्माण भइरहेको पाँचतारे होटेल सेराटन निर्माण थालनी गर्दा सन् २०१८ फेब्रुअरीमा सञ्चालन गर्ने लक्ष्य थियो । तर, सुरुवातमै होटेलले भूकम्प र नाकाबन्दीको सामना गर्नुपर्यो । भूकम्प र नाकाबन्दीले होटेल निर्माणमा अवरोध पुर्याएपछि होटेल सञ्चालनको भाका २०२० को अन्तिमतिर सारिएको थियो । तर, कोभिड सुरु भएपछि निर्माणमा फेरि ब्रेक लागेको छ । कोभिड सुरु भएपछि २०२२ फेब्रुअरीमा सञ्चालन लक्ष्य राखिएको होटेल दोस्रो लहर फैलिन थालेपछि अनिश्चित बनेको छ । ८ अर्ब लगानीमा होटेल निर्माण सुरु गरेको भए पनि भूकम्प, नाकाबन्दी, कोभिडले अवरोध सिर्जना भइरहँदा लागत पनि बढेर १२ अर्ब नाघ्ने अनुमान गरिएको छ । 

सञ्चालनको अन्तिम तयारीमा रहेको सोल्टीमोडस्थित पाँचतारे हायात प्यालेस पनि कोभिडका कारण पछाडि धकेलिएको छ । अपार्टमेन्ट परियोजनालाई पाँचतारे होटेलमा परिणत गरिरहेको गोल्यान समूहले २०२१ जुलाईतिर होटेल सञ्चालनमा ल्याउने लक्ष्य लिएको थियो । यो होटेलमा ४ अर्बभन्दा बढी लगानी हुँदै छ । गोल्यान ग्रुपले भ्रमण वर्ष २०२० को सुरुवाततिरै सञ्चालन गर्ने लक्ष्य लिएको भए पनि महामारीले होटेल सञ्चालनको भाका सर्दै गएको छ । 

पोखराको बेगनासनजिकै निर्माणाधीन सांग्रिला भिलेज रिसोर्ट सञ्चालनमा पनि अन्योल सिर्जना भएको छ । सन् २०२१ बाट सञ्चालन गर्ने लक्ष्यका साथ करिब ५० प्रतिशतभन्दा बढी निर्माण कार्य सम्पन्न भइसकेको होटेल कोभिडका कारण पछाडि धकेलिएको बताइएको छ । भैरहवाको बेलहियामा निर्माण भइरहेको पाँचतारे होटेल नान्स पनि सञ्चालनमा आउने अत्तोपत्तो छैन । व्यवसायी सिद्धार्थ राणाले रविभवनमा निर्माण गर्न लागेको सिप्राभ्य होटेलको काम पनि कोभिडले प्रभावित भएको छ । ५ अर्ब ४२ करोड लगानीमा होटेल निर्माण थालनी गरेको भए पनि पटक–पटक निर्माणमा अवरोध भएर सञ्चालनको भाका सर्दा लागत पनि बढेको छ । 

अर्कातिर, बाराहीका सञ्चालकसमेत रहेका पौडेलले लकडाउनलाई अवसरका रूपमा लिएर पोखराको बाराही लजको स्तरोन्नति गरिरहेका छन् । ‘होटेलमा पाहुना नभएको मौका पारेर कोठा, लबी, बाथरुम, स्विमिङ पुललगायत अपग्रेड गरिरहेका छौँ,’ उनले भने, ‘थ्री स्टार होटेललाई फोर स्टारको बनाउन खोजेका हौँ ।’ होटेलको स्तरोन्नतिमा मात्रै १७ करोड रुपैयाँ खर्च हुने अनुमान छ । ८० कोठा भएको बाराही लज स्तरोन्नतिपछि जुलाईको अन्तिमसम्ममा फुल फ्लेजमा सञ्चालनमा आउनेछ । ‘यदि लकडाउन हुँदैनथ्यो भने तत्काल होटेलको स्तरोन्नति सम्भव थिएन,’ उनले भने, ‘यो समय होटेलमा पाहुना छैनन्, स्तरोन्नतिका लागि यही समय उपयुक्त लाग्यो ।’ उनले पब्लिक लिमिटेड कम्पनीमार्फत फेवातालको किनारमा पाँचतारे होटेल बनाउँदै छन् । उनी थप्छन्, ‘यो होटेलको पनि डिजाइनको काम अन्तिम चरणमा छ, असोजदेखि निर्माण सुरु गर्ने तयारीमा छौँ ।’

See More On

सुझावित समाचार