बहुमत सदस्यले बहिष्कार गरे ललितपुर महानगरको नीति तथा कार्यक्रम

बिहिबार, १० असार, २०७८
डिजिटल संस्करण

ललितपुर महानगरपालिकाको नगरसभा बहुमत सदस्यले बहिष्कार गरेका छन् । जसकारण महानगरको बिहीबारै नीति तथा कार्यक्रम पास गरेर बजेट सार्वजनिक गर्ने योजना सफल हुन सकेन । बहुमत सदस्यले नगरसभा बहिष्कार गरेपछि उपस्थित सदस्यहरूलाई नीति तथा कार्यक्रम वितरण गरेर बैठक स्थगित भएको महानरका प्रवक्ता राजु महर्जनले बताए । 

‘बहुमत सदस्यले बैठक बहिष्कार गरेका कारण उपस्थित सदस्यहरूलाई नीति तथा कार्यक्रम वितरण गरेर पर्सिसम्मका लागि बैठक स्थगित ग¥यौँ,’ प्रवक्ता महर्जनले भने, ‘यो अन्तिम वर्ष पनि हो । उहाँहरूले प्रतिपक्षको भूमिका निभाउन खोज्नुभएको होला ।’ 

अर्को बैठक १२ गते शनिबारका लागि बोलाइएको छ । शनिबारको बैठकमा सबै सदस्यलाई सहभागी हुने वातावरण बनाउने उनले बताए ।

मेयरले नीति तथा कार्यक्रम बुधबार कार्यपालिकामा पेस गरेको र बल मिच्याइँ गरी कार्यपालिकामा अध्ययनकै क्रममा रहेको नीति तथा कार्यक्रम १० गते डाकिएको नगर सभामा उपमेयरले पेस गर्न लागेकाले बैठक बहिष्कार गरिएको वडा नम्बर ३ का अध्यक्ष श्रीगोपाल महर्जनले बताए । 

‘नीति तथा कार्यक्रमा राम्रोसँग हेर्न नै नपाई पास गर्नतिर लाग्नुभयो । हामीले राम्रोसँग नीति कार्यक्रम पढ्न दिनुभन्दा अर्को चुनाव जितेर आउनुस् अनि पढ्नुस् भन्नुभयो,’ अध्यक्ष महर्जनले भने, ‘नियमअनुसार नीति तथा कार्यक्रम अनि बजेट आउँदैन भने हामी नगरसभा बहिष्कार गरिरहन्छौँ ।’ 

नगरसभामा ३९ जना कार्यपालिका सदस्यहरूमध्ये बहुमत २६ जना र ९२ नगर सदस्यमध्ये ६६ जना नेकपा एमाले र माओवादी केन्द्रको सदस्य छन् । उनीहरूले सबैसँग संवाद समन्वय गरी कानुनी प्रक्रियाअनुरूप आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्न माग गरेका छन् ।
 

सुझावित समाचार