पोखराको बजेट ६ अर्ब २७ करोड ७५ लाख

बिहिबार, १० असार, २०७८
डिजिटल संस्करण

देशकै ठूलो महानगरको रूपमा रहेको पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष ०७८/७९ का लागि ६ अर्ब २७ करोड ७५ लाखको बजेट सार्वजनिक गरेको छ । बुधबारदेखि सुरु भएकाे महानगरपालिकाको सातौँ नगरसभाको दोसो दिन बिहीबार उपमेयर मञ्जुदेवी गुरुङले बजेट सार्वजनिक गरेकी थिइन् ।

सार्वजनिक गरिएको बजेट चालू आव ०७७/७८ को भन्दा ८ करोड ४ लाख बढी हो । चालू वर्षको महानगरको बजेट ६ अर्ब १९ करोड ७१ लाख ७८ हजार रहेको छ । बजेटमा चालूतर्फ दुई अर्ब ९० करोड ९४ लाख (४६ दशमलव ४ प्रतिशत), पुँजीगततर्फ तीन अर्ब ३६ करोड ८० लाख (५३ दशमलव ६ प्रतिशत ) विनियोजन प्रस्ताव गरिएको छ । 

कुल बजेटमध्ये नगर कार्यपालिकाको कार्यालयतर्फ ८८ करोड ८६ लाख (१४ प्रतिशत ), सामाजिक विकासतर्फ १२ करोड ७९ लाख ८९ हजार (२ प्रतिशत), शिक्षातर्फ एक अर्ब ४२ करोड ८७ लाख ३५ हजार (२२ दशमलव ७५ प्रतिशत), कृषितर्फ १४ करोड ४९ लाख (२ दशमलव ३ प्रतिशत), स्वास्थ्यतर्फ ४० करोड २२ लाख (६ दशमलव ४ प्रतिशत), वडा कार्यालयतर्फ ४१ करोड ६० लाख (६ दशमलव ६ प्रतिशत), पूर्वाधारतर्फ दुई अर्ब ८६ करोड ९० लाख (४५ दशमलव ७ प्रतिशत ) विनियोजन गरिएको छ ।

सार्वजनिक बजेटको खर्च व्यहोर्ने स्रोतहरूमा संघीय सरकार वित्तीय हस्तान्तरणबाट दुई अर्ब ५६ करोड १६ लाख (४१ प्रतिशत ) प्रदेश सरकार वित्तीय हस्तान्तरणबाट ९ करोड २८ लाख (१ दशमलव ५ प्रतिशत ), संघीय राजस्न बाँडफाँडबाट ३१ करोड २१ लाख ५४ हजार (५ प्रतिशत), प्रदेश सरकार राजस्व बाँडफाँडबाट ६ करोड १८ लाख ७६ हजार अर्थात् (१ प्रतिशत ), आन्तरिक आयबाट दुई अर्ब २२ करोड अर्थात् (३५ प्रतिशत)  व्यहोरिने उपमेयरले जानकारी दिइन् ।
कुल आम्दानी र खर्चमध्ये एक अर्ब तीन करोड ७५ लाख ९२ हजार न्यून हुने र सो न्यून हुने बजेट पूर्ति गर्न गत आवको सञ्चित मौज्दात र चालू आवको अन्त्यमा बचत हुने रकमबाट व्यहोरिनेछ ।

बजेटले निर्धारण गरेका प्रमुख कार्यक्रमहरू यस्ता छन् :                                           
स्वास्थ्य तथा सामाजिक विकास
कोरोना नियन्त्रणका लागि आइसोलेसन तथा हालै स्थापित अस्पताल वार्डको सुसञ्चालन, जनशक्ति व्यवस्थापन, पिसिआर परीक्षण, कन्ट्याक्ट  ट्रेसिङलगायतका कार्यलाई निरन्तरता दिइनेछ ।

अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीको जोखिम भत्तालाई निरन्तरता दिने, कोभिडका कारण विभिन्न व्यवसायमा प्रभाव पर्न गएका व्यवसायीलाई समय सीमा दिई विभिन्न प्रकारका कर छुट तथा राहतको व्यवस्था, वैदेशिक रोजगारीबाट फर्केकालाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गर्ने, नगरपालिकाभित्र एम्बुलेन्स स्टेसन स्थापना, आधारभूत स्वास्थ्य सेवाका लागि स्वास्थ्य सेवा केन्द्रहरूको म्यापिङ, साबिकको लेखनाथ नगरपालिका भवनमा हाल निर्मित कोभिड वार्डलाई क्रमशः शिशुवा अस्पतालको मुख्य संरचनाको रूपमा विकास गरी एक सय शय्याको अस्पतालको रुपमा विकास गर्ने । 

पूर्वाधारतर्फ
विकटलाई निकट ल्याउन सुरु गरिएको कनेक्टिङ सडक कार्यक्रमलाई निरन्तरता, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलदेखि बेगनासताल र विमानस्थलदेखि लेकसाइडसम्म फास्ट ट्र्याक निर्माणको सम्भाव्यता अध्ययन, अस्फाल्ट पिचको विस्तार, विश्व बैंकको सहयोगमा सञ्चालित तालचोक बेगनास सडकको निर्माण कार्य आरम्भ गर्ने, ५० लाखभन्दा बढी लागत भएका योजनाको मर्मतसम्भार गरी दिगोपना ल्याउने उद्देश्यले २ प्रतिशतका दरले मर्मत–सम्भार कोष कट्टा गर्ने, उपभोक्ताको श्रम, सीप र प्रविधिमा आधारित २५ लाखसम्मका योजना उपभोक्ता समितिमार्फत सञ्चालन गर्न प्रोत्साहित गर्ने, सडक निर्माणतर्फको बजेट विनियोजनलाई भौगोलिक हिसाबले सन्तुलित बनाउने, वडा कार्यालय तथा महानगरको प्रशासकीय भवन निर्माणलाई पहिलो प्राथमिकता, पोखरा उपत्यकामा सञ्चालित खानेपानी योजनालाई अविलम्ब सम्पन्न गर्न सहयोग र समन्वय, खानेपानीको स्रोत तथा मूल दर्ता गर्ने कार्यविधि तर्जुमा, साना सिँचाइका कार्यक्रमहरू कार्यान्वयन, पोखरा सभागृहको जीर्णोद्धारको कार्य थालनी, पोखरामा सिटी बस टर्मिनल निर्माण तथा लामे आहालमा प्रस्तावित बसपार्कको निर्माणको लागि सहकार्य, निर्माण सामग्री गुणस्तर तथा नियन्त्रण प्रयोगशाला सञ्चालन गर्ने, भूउपयोग योजना तर्जुमा गरी कार्यान्वयन गर्ने, मुख्य सहरी सडकमा नक्सा पास गरी भवन बनाउँदा अन्डरग्राउन्ड पार्किङ अनिवार्य गर्ने । 

शिक्षा
सबैका लागि शिक्षा कार्यक्रमलाई विशेष प्राथमिकता दिई बाल विकास केन्द्रको क्षमता अभिवृद्धि गर्दै गुणस्तरीय शिक्षामा जोड दिने, चार वर्ष उमेर समूहका सबै बालबालिकालाई पूर्वप्राथमिक कक्षाको अनुभवसहित कक्षा १ मा भर्ना गर्ने व्यवस्था गर्ने, गण्डकी बहुप्राविधिक शिक्षालयमा विषयहरू थप गर्ने, सामुदायिक विद्यालयलाई क्रमशः प्राविधिक विद्यालयमा स्तरोन्नति गर्ने, बाल विकास केन्द्र, आधारभूत विद्यालय, माध्यामिक विद्यालय, सामुदायिक सिकाइ केन्द्रहरूको स्तरोन्नति गर्दै प्राविधिक शिक्षाको अनुपात वृद्धि गरी रोजगारमूलक शिक्षामा जोड दिने, स्थानीय मागबमोजिमको पाठ्यक्रम निर्धारण गरी व्यावसायिक तालिम सञ्चालनको अवधारणा बनाउने, स्थानीय विषयवस्तु र परिवेश समेटी तयार गरिएको स्थानीय पाठ्यक्रम आगामी शैक्षिक सत्रबाट कार्यान्वयनमा ल्याउने ।

खेलकुद
वडास्तरमा खेल प्रतियोगिता तथा प्रशिक्षण सञ्चालन, पोखरालाई खेलकुद सहरका रूपमा विकास गर्न राष्ट्रिय, स्थानीय र अन्तर्राष्ट्रियस्तरका खेल पूर्वाधार निर्माण र भएका पूर्वाधारको स्तरोन्नति गर्ने, विद्यालय महानगरस्तरीय मेयर कप सञ्चालन, एक टोल, एक खुला क्षेत्र, एक खुला क्षेत्र एक व्यायामशाला कार्यक्रम सञ्चालन, महानगर वर्ष खेलाडी छनोट गरी सम्मान गर्ने ।
 
भाषा, कला, साहित्य, संस्कृति
पोखरा २७ अर्चलेस्थित कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थललाई साहित्य अनुसन्धान केन्द्रको रूपमा विकास गर्ने, महानगर रत्न चयन गरी सम्मान गर्ने, विद्यालयस्तरमा कला, साहित्य भाषा संरक्षण तथा विकासका लागि आवश्यक कार्यक्रम सञ्चालन ।
 
युवा तथा स्वरोजगार प्रवर्द्धन कार्यक्रम
युवा परिषद्मार्फत वडास्तरमा नै युवा गुनासो सुनाइ तथा सहयोग कक्ष स्थापना गरी युवालाई व्यवसाय तथा उद्यममूलक कार्यमा जोड्ने, युवा सभासद् कार्यक्रम निरन्तरता दिँदै एक वडा एक उत्पादन कार्यक्रम अगाडि बढाउने, एक वडा एक विपत् उद्धार समूह तयार गरी परिचालन गर्ने ।
 
वातावरण तथा विपत् व्यवस्थापन

ल्यान्डफिल साइटको व्यवस्थापनका लागि जमिन खरिद गरी निर्माण काम सुरु गर्ने, विपतकाे  कारणले सडक, खानेपानी, सिँचाइ, भवनजस्ता पूर्वाधारमा पुग्न सक्ने क्षति रोक्न वा भइसकेको क्षतिको पुनर्निर्माण, निजी सवारीसाधन खरिद गर्दा पार्किङ स्थल यकिन गर्नुपर्ने र यस्तो सवारीसाधनले घर कम्पाउन्डबाट हिलो सडकमा ल्याउन नसक्ने गरी पार्किङ स्थलको निर्माण तथा मर्मत गर्नुपर्ने, अग्नि नियन्त्रण तथा प्रकोप व्यवस्थापनमा खटिने कर्मचारीहरूलाई तालिमको व्यवस्था, प्रकोपपश्चातको प्रतिकार्य तथा निर्मित संरचनाको मर्मत सम्भारलाई निरन्तरता, पोखरा २८ ठूलाकोटमा एस्टोनोमी पार्क, पोखरा ६ वसुन्धरा पार्कमा थप पूवार्धार निर्माण गर्ने ।
 
पर्यटन
पोखराको पर्यटकीय ब्रान्डिङ र बजारीकरण गरी स्वदेशी तथ विदेशी पर्यटकको आगमनमा वृद्धि गर्न आवश्यक पहल गर्ने, पर्यटकीय गन्तव्य सूचना केन्द्र स्थापना साथै पोखरा बहुउद्देश्यीय टावर निर्माणको अध्ययन, पोखरा पर्यटन विश्वविद्यालय स्थापना, पोखरा कोसेली घर सञ्चालन, पोखरा घन्टाघर निर्माण ।
 
सहकारी
एक सहकारी एक उत्पादनका कार्यक्रमलाई प्रोत्साहन, एक सहकारी एक युवा उद्यम कार्यक्रम, युवा उद्यमी सहकारी सञ्चालनसहित रोजगारीका अवसर सिर्जना, विपन्न वर्गको लागि उत्पादनमूलक व्यवसायमा व्याज अनुदान ।
 
कृषि

व्यावसायिक कृषि तथा पशुपालनमा प्राथमिकता दिँदै उत्पादनमा वृद्धि गरी आत्मनिर्भर बनाउँदै लाने, स्थानीय कृषि तथा अन्य उत्पादनलाई ब्रान्डिङ गर्ने, मौलिक कृषि उत्पादनहरूको समर्थन मूल्य तोक्ने, स्वरोजगार तथा उद्यमशीलता प्रवर्द्धनका कार्यक्रमहरू सञ्चालन गर्ने तथा कृषि उत्पादनलाई पर्यटन स्तरीय होटल एवं रेस्टुरासँग आबद्ध गर्ने, ‘खेती योग्य गह्रा, बनाऔँ हराभरा’ अभियानका रूपमा सञ्चालन, अनुदानमा बिउ उपलब्ध, सिँचाइ सुविधा विस्तार, गुणस्तरीय कृषि उत्पादनको सामग्रीको सहज उपलब्धता गराउँदै कृषि स्रोत केन्द्र र कस्टम हायरिङ केन्द्रको क्षमता विकास, पोखरा १९ लाई ट्राउट माछा उत्पादन पकेट क्षेत्र घोषणा, कृत्रिम गर्भाधान कार्य निःशुल्क गराइने, मासु प्रजातिलाई मध्यनजर गर्दै साझेदारीमा वधशाला तथा वध स्थल निर्माण ।
 
उद्योग, वाणिज्य तथा आपूर्ति
निर्यातजन्य वस्तुहरूको पहिचान गरी उत्पादन वृद्धि गर्दै ती सामग्रीको ब्रान्डिङ गरी अन्तर्राष्ट्रिय बजारमा पुर्याउनका लागि पहल गर्ने, स्थानीय कच्चापदार्थमा आधारित उद्योगलाई विस्तार विकास र आधुनिकीकरण गर्ने, जडीबुटीजन्य उत्पादनहरुलाई प्रसोधन तथा बजारीकरणमा जोड, बजार अनुगमनलाई प्रभावकारी बनाउन शाखा स्थापना गर्ने ।

सुझावित समाचार