त्रिदेशीय सडकखण्डको काम यो वर्ष दैलेखबाट सुरु

दैलेखको महाबु सडकखण्डका लागि २० करोड विनियोजन

मंगलबार, ८ असार, २०७८
डिजिटल संस्करण

नेपाल सरकारले गत वर्षदेखि पहिलो प्राथमिकतामा राखेको त्रिदेशीय सडकखण्डको काम दैलेख सदरमुकामबाट सुरु हुने भएको छ ।  दैलेख सदरमुकाम महावु सडकखण्डमा यो वर्ष २० करोड रकम विनियोजन गरेको छ । गत वर्षदेखि नेपालगन्ज सुर्खेत, दैलेख सदरमुकाम, महावु कालिकोट, जुम्ला, हुम्ला, डोल्पा हुँदै चीनको नाग्चेनाम्लासँग सहज यातायात जोड्ने त्रिदेशीय सडकअन्तर्गत रकम विनियोजन भई काम सुरु गरिएको हो ।

गत वर्ष विनियोजन गरिएको ८० करोड रकम मुगु र डोल्पा सडकखण्डमा खर्च गरिएको थियो । यो वर्ष विनियोजन गरिएको ६० करोडमध्ये मुख्य समस्या मानिएको दैलेख सदरमुकामको काँडा चौरदेखि महावु सडकखण्डका लागि २० करोड विनियोजन गरिएको छ । गत वर्षबाट निरन्तर यो अभियानमा लागेको र यो वर्षबाट सडक स्तरोन्नतिसँगै, सडक चौडा, नाली, ग्याबिन र कालोपत्रेका लागि क्रमागत योजनाअन्तर्गत दैलेख खण्डमा २० करोड रकम विनियोजन भएको प्रतिनिधिसभाका सदस्य रवीन्द्रराज शर्माले जानकारी दिए । 

सडक डिभिजन कार्यालय सुर्खेतअन्तर्गत उक्त रकम खर्च गरिने भएको छ । कुल ६० करोडमध्ये २० करोड रकम महावु सडकखण्डकै लागि भनेर विनियोजन भएर रेडबुकमा आइसकेको छ । सोहीअनुसार ठेक्का खोल्ने र काम अगाडि बढाउने तयारी भएको सुर्खेत सडक डिभिजनका इन्जिनियर तुलाराम शर्माले जानकारी दिए ।  

दैलेखका तीनवटा स्थानबाट सडक खुल्दै
कर्णालीका पाँच जिल्ला जोड्नका लागि दैलेख सदरमुकामको तीनवटा स्थानबाट सडक सञ्चालन हुने भएको छ । अहिले सञ्चालनमा आएको कर्णाली राजमार्गको स्तरोन्नति गर्नुपर्ने देखिएको छ । सुर्खेत माथिल्लो डुगेश्वर, दुल्लु भैरवी हुँदै कालिकोट र जुम्ला जोड्ने सडकमा पनि प्रदेश र केन्द्र सरकारले रकम विनियोजन गरेर धमाधम काम सुरु भइरहेको छ ।

दैलेख सदरमुकाम महावु हुँदै कालिकोट जुम्ला जोड्ने अर्को सडकका पनि यो वर्षबाट काम सुरु हुने भएको छ । तीनवटै सडक सञ्चालनमा आए दैलेखको आर्थिक अवस्था सुधारसँगै पर्यटन प्रवर्द्धनमा निकै ठूलो टेवा पुग्ने दैलेख उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष शान्ति शर्माले जानकारी दिए ।  

जिल्लाका ठूला विकासे योजनाहरू तीव्र गतिमा निर्माण सम्पन्न हुनुपर्ने भन्दै सबै जिम्मेवार निकायहरूले कामको प्रभावकारिता, गुणस्तरीयताबारे खबरदारी गर्न सांसद रवीन्द्र शर्माले आग्रह गरेका छन् ।  जबसम्म ठूला विकासे पूर्वाधार जिल्लामा बन्दैनन् तबसम्म रोजगारी सिर्जना हुँदैन ।

जिल्लाका आमनागरिकको आर्थिक अवस्था सुधारका लागि ठूला विकास जरुरी भएकाले जिल्लाको पूर्व–पश्चिमका सबै जनताको जीवनस्तर सुधार गर्नैपर्नेमध्ये पहाडी सडक, कर्णालीका जिल्ला छुने दुईवटा महत्वपूर्ण सडकहरू महावु हुँदै कालिकोट जुम्ला र भैरवी बेहुली हुँदै कालिकोट जुम्ला जाने सडक, दैलेखको पेट्रोल उत्खनन र माथिल्लो कर्णाली जलविद्युत् आयोजनाहरू निर्माणका लागि जनप्रतिनिधि, राजबहादुर बुढा, पार्वती बिसुन्केले प्रभावकारी भूमिका खेलेको जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाले बताए । 

दैलेखका सबै ठूला विकासको काम तीव्र पारेका छौँ : प्रजिअ
प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल गृहजिल्ला दैलेख आउनेबित्तिकै रोकिएको मध्यपहाडीको कामले तीव्रता पाएको छ । विभिन्न स्थानहरूमा भएका समस्याहरूको बारेमा समाधान गर्न प्रजिअ आफैँले सहजीकरण गरिदिएपछि समस्या समाधानमा सहयोग पुगेको हो । ‘आफू स्थानीय भएकाले जिल्लामा हुने सबैखाले विकासमा गुणस्तरीयता कायम गर्न निकै कडाइका साथ निर्देशन दिएको छु,’ उनले भने ।  गल्ती भेटिएमा तत्काल कारबाही प्रक्रिया पनि अघि बढाएका छौँ । कुनै पनि विकास गतिविधि कसैका कारण अवरोध हुनुहुँदैन भन्ने मान्यताका साथ जिल्ला प्रशासनले काम गरेको प्रजिअ प्याकुरेलको भनाइ छ । 

सुझावित समाचार