अरनिको, डुम्रे, बेँसीसहर, चामे र साँफेबगर–मार्तडी सडक सबैभन्दा धेरै प्रभावित, आर्थिक क्षतिको विवरण अझै आएन
मनसुन सुरु भएपछि पछिल्ला ६ दिन (३१ जेठदेखि) मा देशका ५० भन्दा बढी स्थानमा राजमार्ग अवरुद्ध भएको छ । त्यसमध्ये शनिबार साँझसम्म १४ स्थानमा सडक अवरुद्ध रहेको, २४ ठाउँमा एकतर्फी सञ्चालनमा ल्याउन सकिएको तथा १२ ठाउँमा सुचारु भएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले जानकारी दिए ।
निरन्तरको वर्षाले मुख्य तीन राजमार्ग सबैभन्दा बढी प्रभावित भएका छन् । अरनिको राजमार्गको सिन्धुपाल्चोक क्षेत्रमा पर्ने विभिन्न ठाउँमा सडक अवरुद्ध छ । शनिबार मात्र सडक विभागका महानिर्देशकसहितको टोलीले स्थलगत अवलोकनसमेत गरेको छ । त्यसक्रममा धेरै ठाउँमा सडक अवरुद्ध बनेको अवलोकन गरिएको महानिर्देशक थापाले जानकारी दिए ।
अवरुद्ध भएका ठाउँमध्ये बुधबार साँझ ७ बजेसम्ममा १० ठाउँमा एकतर्फी सडक सञ्चालनमा आएको छ । त्यस्तै, ३ ठाउँमा दुईतर्फ सुचारु भएको छ भने ८ ठाउँमा दुईतर्फी नै अवरुद्ध रहेको छ । ‘लिपिङमा पुल बगाएको छ । तर, अप्ठ्यारो भौगोलिक अवस्थाले गर्दा तत्कालै नियमित गर्न कठिन देखिएको छ,’ उनले भने । अहिलेसम्मको ठूलो क्षति पनि अरनिको राजमार्गमै देखिएको छ । आर्थिक हिसाबले करोडौँको क्षति नभए पनि काम गर्न भने कठिन देखिएको महानिर्देशक थापाको भनाइ छ । अघिल्लो वर्ष पनि अरनिको सडक सबैभन्दा धेरै प्रभावित भएको थियो ।
त्यस्तै, अर्को सबैभन्दा धेरै प्रभावित सडकमा साँफेबगर–मार्तडी, कोल्टी सडक परेको छ । यस सडकको धेरै ठाउँ अवरुद्ध भएको छ । यस सडकको बार्जुगाड, बल्दे, अम्कोटमा सडक अवरुद्ध छ । यही सडकको हड्डे खोला, रिला, बलेना पनि अवरुद्ध रहेको छ । ‘त्यस क्षेत्रमा पर्ने पहाड नै हलचल गरिरहेको देखिन्छ, त्यसले गर्दा धेरै ठाउँमा पहिरो गएको छ,’ महानिर्देशक थापाले भने । अरनिको राजमार्गमा भन्दा साँफेबगर–मार्तडी सडकमा गइरहेको पहिरो भने अघिल्ला वर्षहरूको निरन्तरता भएको उनको भनाइ छ । यो वर्ष अझ बढिरहेको विभागको भनाइ छ ।
त्यस्तै, डुम्रे, बेँसीसहर, चामे, मनाङ सडक योजनाको डुम्रे, बेँसीसहर, चामे सडक ८ ठाउँभन्दा धेरै स्थानमा अवरुद्ध छ । यो सडकमा पनि केही वर्षदेखि निरन्तर पहिरोको समस्या भइरहेको छ । यो वर्ष मनसुनको सुरुवातमा नै समस्या देखिएको विभागका इन्जिनियरहरूको भनाइ छ ।
यसबाहेक बेलहिया, भैरहवा, बुटवल, बर्तुङ, राम्दी, स्याङजा, पोखरा (सिद्धार्थ राजमार्ग), पाँचखाल, मेलम्ची–टिम्बु सडक, मध्यपहाडी राजमार्गको बाग्लुङखण्ड, सुर्खेत–दैलेख, महाबुलेख गाल्जे, नाग्मा, गमगढी, नाक्चेनाग्ला, मैलुङ–स्याफ्रुबेँसी, स्याफ्रुबेँसी–रसुवागढीलगायतका सडक अवरुद्ध रहेका छन् ।
कति क्षति, सडक सुचारु गर्ने योजना के ?
सडक विभागका अनुसार सडक अवरुद्ध भएको जानकारी तत्काल प्राप्त गरे पनि कति क्षति भयो र त्यसलाई मर्मत गर्न कति खर्च लाग्छ भन्ने जानकारी अझै प्राप्त भइनसकेको जानकारी दिएको छ । ‘हामीले भोलि (आइतबार) सम्म अनुमानित क्षतिको विवरण दिने तयारी गरेका छाैँ,’ महानिर्देशक थापाले भने । कतिपय सडक अवरुद्ध भएको ठाउँमा अवलोकन गर्न पुग्न नसकिएका कारण पनि क्षतिको विवरण प्राप्त हुन ढिलाइ भइरहेको छ ।
सडक विभागले सडक सुचारु गर्नका लागि अवरुद्ध भएका ठाउँमा लोडर, एक्जाभेटर, टिपरजस्ता हेभी इक्विप्मेन्ट परिचालन गरिसकिएको सडक विभाग यान्त्रिक महाशाखाका उपमहानिर्देशक भुवन अधिकारीले जानकारी दिए । राजमार्गहरूमा न्यूनतम हप्ता दिनभित्रमा सडक सुचारु गरिसक्ने विभागको भनाइ छ । राष्ट्रिय राजमार्र्ग तथा सहायक राजमार्गलाई अवरोधरहित बनाउन देशभर २ सय ७ हेभी इक्विप्मेन्ट परिचालन गरिएको छ ।
महाशाखाका अनुसार ८७ वटा हेभी इक्विप्मेन्ट विभिन्न राजमार्गछेउमै राख्ने काम भइरहेको छ । बाँकी रहेका १ सय १८ वटालाई भने हेभी इक्विप्मेन्ट डिभिजन र यान्त्रिक कार्यालयमा राखिएको उपमहानिर्देशक भुवन अधिकारीले जानकारी दिए । अघिल्ला वर्षहरूमा भएका सडक अवरोध तथा पहिरोका घटना र सम्भाव्य ठाउँहरूको पहिचान गरेर लोडर, ब्याक हो लोडर, एक्जाभेटर, डोजर, ट्रान्सपोर्ट ट्रक, क्रेन, क्रेन ट्रक, ट्रकलगायतका साधनलाई ठाउँ–ठाउँमा पुर्याएको छ । तस्बिर : रासस