जुम्लाको पातारासी गाउँपालिकाको टुङटुङ लेकमा गएकाे पहिरोमा परेर चारजना बेपत्ता भएका छन् भने चारजना घाइते भएका छन् । पहिरोमा परेर बेपत्ता भएकाको खोजीकार्यका लागि आफन्तजन पहिरो गएको स्थानतर्फ गइरहेको प्रहरीले जनाएको छ ।
साे क्षेत्रमा फोन नलाग्ने भएकोले सम्पर्क हुन सकेको छैन । पहिरोमा परेर घाइते भएकामध्ये सुकबहादुर नेपाली र तारा नेपालीको अवस्था गम्भीर रहेको स्थानीयलाई उद्धृत गर्दै जुम्लाका प्रहरी प्रमुख दानबहादुर थापाले बताए । अरू दुईजना घाइतेको नाम खुलिसकेको छैन ।
उनीहरू केही समय पहिले जडीबुटी खोज्न पाटन गएका थिए । निरन्तर वर्षा भएपछि गाउँ फर्कन थालेका उनीहरू पहिरोमा परेका हुन् । बुधबार बिहान पहिरोमा परेका उनीहरूले आफन्तलाई फोन सम्पर्क गरेर जानकारी गराएका थिए । सहायक प्रमुख जिल्ला अधिकारी नन्दराज चौलागाईंले भने, ‘बेपत्ता भएका व्यक्तिका आफन्त अहिले सम्पर्कमा छैनन् । फोन सम्पर्क हुन नसक्दा उद्धार कार्य अघि बढाउन समस्या भइरहेको छ ।'
‘चारजना पहिरोमा परेको खबर पाउनेबित्तिकै हेलिकोप्टरबाट उद्धार गर्ने तयारी भएको थियो,’ चौलागाईंले भने, ‘अहिलेसम्म न मौसम खुलेको छ, न त आफन्तको फोन नै लाग्छ । घटनास्थल पुग्न सदरमुकामबाट तीन दिन लाग्ने भएकोले सम्पर्क हुन असहज भइरहेको छ ।’
घाइतेहरू कस्तो अवस्थामा छन् ? कहाँ छन् ? सम्पर्क हुन सकेको छैन । उद्धारका लागि सुर्खेतमा हेलिकोप्टर तयारी अवस्थामा छ । पानी परिरहेकाले मौसम खुलेको छैन । मौसम खुल्नेबित्तिकै उद्धार सुरु हुने स्थानीय प्रशासनले जनाएको छ ।
घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गर्ने तयारी गरिए पनि खराब मौसमका कारण हेलिकोप्टर घटनास्थलमा पुग्न नसकेको जुम्लाका डिएसपी दानबहादुर थापाले बताए । घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको छ, तर त्यहाँ पुग्न पैदल दुई दिन लाग्ने भएकाले हेलिकोप्टरबाट उद्धार गर्नुको विकल्प नभएको थापाले बताए ।
वर्षाले कर्णाली राजमार्ग अवरुद्ध
अविरल वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कर्णाली राजमार्गको दही खोला, गगने खोला, पिली, रारालिहीलगायतका ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।
सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीका अनुसार अविरल वर्षाका कारण कर्णाली राजमार्गको विभिन्न ठाउँमा पहिरो गएको छ । पहिरो गएको ठाउँमा सडक खुलाउने काम भइरहेको छ ।