‘तल्लो जात’ भनेर कोठा भाडा नदिएको आरोप लागेका घरबेटीविरुद्ध पत्रकार रूपा सुनारले प्रहरीमा जाहेरी दिएकी छिन् । जातकै आधारमा डेरा नदिने घरधनी काठमाडौं महानगरपालिका– ११ बबरमहलकी ५८ वर्षीया सरस्वती प्रधानविरुद्ध पत्रकार सुनारले जातीय भेदभाव छुवाछुत तथा कसुर र सजाय ऐन, २०६८ अनुसार बिहीबार महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दर्ता गराएकी हुन् ।
घरधनी प्रधानले आफूलाई सानो जातको भन्दै डेरा भाडामा नदिएको पीडित सुनारको गुनासो छ । उनका अनुसार घरबेटी प्रधानले सबै कुरा मिलेपछि कोठा भाडामा दिनुअघि जात सोधेकी थिइन् । दलित समुदायको भन्ने थाहा पाएपछि भने भाडा दिन इन्कार गरेको रूपाले जाहेरीमा उल्लेख गरेकी छिन् ।
जातीय विभेदको मुद्दा भएका कारण प्रहरीले सजिलै मुद्दा गर्न नमानेको सुनारले बताइन् । ‘हामी १२ बजे प्रहरीकहाँ पुग्यौँ । जाहेरीको ढाँचामा आवश्यक कागजातसहित गएका हौँ । तर, प्रहरीले उजुरी दर्ता गर्नै मानेन,’ सुनार भन्छिन्, ‘म एउटा पत्रकार हुँदाहुँदै त प्रहरीले उजुरी लिँदैन भने आममानिसले कसरी न्यायको अपेक्षा गर्ने ?’ दिनभर प्रहरी कार्यालयमा धर्ना दिएपछि साँझ मात्रै प्रहरीले उजुरी दर्ता गरेको उनले बताइन् । ‘१२ बजेदेखिको निरन्तर दबाबले ४ बजेर ५० मिनेटमा बल्ल प्रहरीमा जाहेरी दर्ता गर्न सफल भएँ । साथ दिनुहुने सम्पूर्णमा हार्दिक धन्यवाद । लडाइँ अझै बाँकी छ,’ जाहेरी दर्तापछि सुनारले सामाजिक सञ्जालमा लेखेकी छिन् ।
मंगलबार कोठा खोज्न घरधनी प्रधानकहाँ पुगेकी सुनारलाई कोठामा बस्ने पक्कापक्की भएपछि जातमा पुगेर अड्किएको थियो । घरधनीले जातकै कारण कोठा दिन नसक्ने पछि टेलिफोनमा बताएकी थिइन् । घटनापछि आफूमाथि विभेद भएकोबारे पत्रकार सुनारले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन् ।