रसुवागढी भन्सार राजस्व लक्ष्य भेट्न असफल, ११ महिनामा वार्षिक लक्ष्यको आधा पनि उठेन

बिहिबार, ३ असार, २०७८
डिजिटल संस्करण

रसुवा भन्सार कार्यालय टिमुरेलाई राजस्व संकलन लक्ष्य भेट्न मुस्किल देखिएको छ । चालू आर्थिक वर्षको ११ महिना सकिँदासम्म वार्षिक लक्ष्यको आधा रकम पनि संकलन हुन सकेको छैन । टिमुरेका भन्सार प्रमुख रामप्रसाद रेग्मीका अनुसार चालू आर्थिक वर्ष ०७७÷७८ मा ७ अर्ब २४ करोड ३३ लाख २२ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेको छ ।

चालू आर्थिक वर्षको साउनदेखि जेठसम्मको ११ महिनामा वार्षिक लक्ष्यको ४२ दशमलव ९ प्रतिशत मात्र राजस्व संकलन भएको छ । कार्यालयले साउनदेखि जेठसम्म ६ अर्ब ६१ करोड ७ लाख २१ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा ३ अर्ब १० करोड ८९ लाख ३२ हजार रुपैयाँ मात्र राजस्व संकलन भएको छ । जुन ११ महिनामा लक्ष्यको ४७ प्रतिशत हो । 

चालू आर्थिक वर्ष सकिन अब एक महिना मात्र बाँकी छ । कार्यालयले वार्षिक लक्ष्य पूरा गर्न अबको एक महिनामा ४ अर्ब १३ करोड ४३ लाख ९० हजार राजस्व संकलन गर्नुपर्ने देखिएको छ । तर, यो एक महिनामा चीनबाट आयात भएको दरलाई हेर्ने हो भने यो रकम संकलन हुन सक्ने देखिएको छैन । 

कोरोना भाइरसको संक्रमणका कारण चीनसँगको व्यापार प्रभावित भएको डेढ वर्षभन्दा बढी भएको छ । यसको असर भन्सार राजस्व असुलीमा देखिएको छ । रसुवागढी नाकाबाट आयात–निर्यात सहज बन्न नसक्दा लक्ष्यको तुलनामा निकै कम राजस्व संकलन भएको छ । कोरोनाका कारण चीनले एकतर्फी मात्र नाका खोल्नु, सामग्रीको आयात कम हुनु र नाकामा आयात–निर्यात सहज बन्न नसक्दा राजस्व संकलनमा कमी आएको भन्सार प्रमुख रेग्मीले बताए । 

०७६ माघ १५ देखि गएको जेठ २२ गतेसम्म नाका बन्द भयो । त्यसपश्चात् चीनले रसुवागढी नाका एकतर्फी सञ्चालन गरेको छ । चीनले आफ्नै गाडीमा नेपालतर्फको भूभागमा सामान ल्याइदिने गरेको छ । अहिले चीनले दैनिक ५ देखि ८ कन्टेनर चिनियाँ गाडीमा नेपाली भूमिमा सामान ल्याइरहेको छ । चिनियाँ एउटा गाडीमा आएको सामग्री नेपाली दुईवटा कन्टेनरमा नेपाली कामदारले लोड गर्ने गरेका छन् । चिनियाँ गाडीमा आएको सामग्री नेपाली गाडीमा लोड–अनलोड गर्नका लागि स्वास्थ्यका मापदण्ड अपनाउँदै नेपाली कामदार नाकामा खटिएका छन् । 

रसुवा भन्सार कार्यालयले निकासी, पैठारी, महसुल, सेवाशुल्क, कृषि सुधार, अन्तःशुल्क, भ्याटलगायतका शुल्कबापत भन्सार असुली गर्ने गर्छ । चीनको केरुङबाट रसुवागढी नाका हुँदै अहिले नेपालतर्फ रेडिमेड कपडा, इलेक्ट्रोनिकलगायतका सामग्री भित्रिने गरेको छ भने नेपालबाट केरुङतर्फ हस्तकलाका सामग्री जाने भए पनि कोरोना संक्रमण सुरु भएयता चीनले एकतर्फी मात्र नाका खुला गरेसँगै नेपालबाट हुने निर्यात भने शून्य छ । 

सुझावित समाचार