दुवै मिर्गाैला फेल भएका रिसिङ गाउँपालिका– १ कोइदिमकी मीनमाया थापालाई व्यास नगरपालिका– २ दमौलीका सुजन विष्टले नगद पाँच हजार रुपैयाँ सहयोग गरेका छन् । सोमबार दमौली अस्पताल परिसरमा रहेको शत्रुघ्न मन्जु डायलाइसिस युनिटमै पुगेर विष्टले युनिटका इन्चार्ज शैलेश पण्डित र व्यास नगर जेसिजका अध्यक्ष लक्ष्मीभक्त खनालको उपस्थितिमा मीनमायाका श्रीमान् तिलबहादुर थापालाई नगद पाँच हजार रुपैयाँ सहयोग गरेका हुन् ।
आर्थिक अवस्था कमजोर भएका थापाको उपचारमा थोरै भए पनि सहयोग पुग्ने उद्देश्यले आर्थिक सहयोग गरेको उनले बताए । ‘आय स्रोत कमजोर रहेको र कृषि गरी परिवार पाल्नुपर्ने बाध्यता भएको थापा परिवारमा सानो रकमले पनि सहयोग पुग्ने भएकाले सहयोग गरेको हुँ,’ उनले भने ।
सहयोग प्राप्त भएपछि तिलबहादुरले खुसी व्यक्त गरे । उनले समाचार प्रकाशित गरेर आफ्नो परिवारलाई सहयोग प्राप्त भएकोले नयाँ पत्रिकाकर्मी उपेन्द्र खनाललाई धन्यवाद दिँदै ग्रामीण क्षेत्रमा सास्ती पाएका र आर्थिक अवस्था कमजोर भई पीडा भोग्दै आएकाहरूको विषयलाई लेखेर उजागर गर्न अझै बढी सुझाए । यसरी नै वास्तविक पीडितको मर्ममा साथ दिई कलम चलाउन उनले आग्रह गरे ।
‘मैले सहयोग पाउँछु भन्ने आस पनि गरेको थिइनँ । तर, मलाई दुईपटक सहयोग जुटेको छ । पहिलोपटक ११ हजार पाँच सय ३० रुपैयाँ र अहिले दोस्रोपटक पाँच हजार रुपैयाँ प्राप्त भयो । अझै यो निषेधाज्ञाको समयमा त्यति टाढाबाट श्रीमतीलाई बोकेर ल्याउनुपर्ने बाध्यतालाई जेसिजले समाधान गरेको छ, म सबैप्रति आभार प्रकट गर्न चाहन्छु,’ उनले भने ।
गत शुक्रबार ‘डायलाइसिस गराउन श्रीमतीलाई सात घन्टा बोकेर ल्याउने–लैजाने गर्छन् तिलबहादुर’ शीर्षकमा नयाँ पत्रिकामा समाचार प्रकाशित भएको थियो । उक्त समाचार प्रकाशित भएपछि दमौलीका विष्टले सहयोग गरेका हुन् । उनी पेसाले इन्जिनियर हुन् ।
त्यस्तै, उक्त समाचार प्रकाशित भएपछि दुवै मिर्गाैला फेल भएकी मीनमायालाई पूर्वीनवलपरासी स्थायी घर भई हाल अमेरिकामा बस्दै आएका टेक थापाले केही दिनअगाडि नगद ११ हजार पाँच सय तीस रुपैयाँ सहयोग गरेका थिए भने व्यास नगर जेसिजले अस्पताल ल्याउने र लैजाने व्यवस्था गरेको थियो ।
श्रीमानले बोकेरै श्रीमतीलाई डायलाइसिस गराउन ल्याउनुपर्ने बाध्यता भएकाले उनीहरूको उपचारमा गाउँपालिकाले सहयोग गरेदेखि सहज हुने जेसिजका अध्यक्ष लक्ष्मीभक्त खनालले बताए । ‘अहिले जेसिजले अस्पताल ल्याउने र लैजाने गरेको छ । यो समय केही दिनका लागि मात्रै हो । त्यसपछि फेरि तिलबहादुरले श्रीमतीलाई बोकेरै ल्याउनुपर्ने बाध्यता हुन्छ । त्यसैले स्थानीय सरकारले पहल गरेदेखि स्थानीयलाई पनि गाउँमै सिंहदरबार आएको महसुस हुने थियो,’ उनले भने । निषेधाज्ञा लगाएपछि प्रत्येक सोमबार र बिहीबार डायलाइसिसका लागि तिलबहादुरले श्रीमतीलाई बोकेरै दमौली अस्पताल ल्याउने गर्दथे ।