विदेशी लगानी खुला नगरौँ

मंगलबार, १ असार, २०७८
डिजिटल संस्करण

देशमा भित्रिने लगानीको तुलनामा लाभांशका रूपमा बाहिरिने रकम निकै ठूलो हुनु मुलुकका लागि राम्रो होइन

देशमा कसरी विदेशी लगानी भिœयाउने भनेर नेपालमा करोडौँ खर्च गरी धेरै सभा–सम्मेलन आयोजना हुने गरेका छन् । विदेशी लगानीकर्तालाई कसरी रिझाउने ? कसरी रातो कार्पेट बिछ्याई विदेशी लगानी ल्याउने ? भन्ने चासो धेरैको छ । हाल मुलुकले स्वदेशी लगानीकर्तालाई भन्दा पनि बढी सुविधा विदेशी लगानीकर्तालाई दिएको छ । यसरी स्वदेशी लगानीकर्तालाई भन्दा पनि बढी सुविधा दिएर विदेशी लगानी भित्र्याउनु साँच्चै उचित हो त ? यसमा गम्भीर समीक्षा हुन आवश्यक छ ।

विदेशी लगानी मूलतः दुई उद्देश्यले ल्याइन्छ । पहिलो स्वदेशी लगानीकर्तासँग पुँजी र व्यवस्थापनको क्षमता कमजोर भएको अवस्थामा विदेशी लगानी ल्याउनुपर्छ भन्ने मान्यता छ । विदेशी लगानीका रूपमा ठूलो मात्रामा पुँजी र व्यवस्थापकीय क्षमता पनि मुलुकमा भित्रिन्छ भन्ने मानिन्छ । तर, अहिले नेपाली लगानीकर्ताको क्षमता वृद्धि भइसकेको छ । नेपालीले दसौँ हजार व्यक्तिलाई रोजगारी दिन सक्ने किसिमका उद्यम गरिरहेका छन् । नेपाली व्यवस्थापकले नै ठूलो लगानीका उद्योग तथा परियोजनाको सफलतापूर्वक व्यवस्थापन गरिरहेका छन् ।

तर, नेपाली सबै क्षेत्रको व्यवस्थापनमा सक्षम भइसकेका छन् भन्ने पनि होइन । जुन क्षेत्रमा विदेशी ज्ञान र व्यवस्थापन क्षमताको साथै अत्यन्त ठूलो पुँजी चाहिन्छ, ती क्षेत्रमा विदेशी लगानी भित्र्याउने चलन विश्वभरि नै छ । छिमेकी देशहरू भारत, बंगलादेश, श्रीलंका, भुटान आदिमा बहुराष्ट्रिय कम्पनीले आफ्नो देशका एक–दुईजना कर्मचारी लिएका हुन्छन्, बाँकी स्थानीय देशका कर्मचारीले नै ती कम्पनी सफलतापूर्वक सञ्चालन गरिरहेका छन् । केही अवधिसम्म व्यवस्थापनको सीप चाहिएको अवस्थामा विदेशी कन्सल्टेन्ट वा कन्सल्टेन्सी फर्महरूलाई करारमा लिन सकिन्छ । उनीहरूको क्षमता र ज्ञान हस्तान्तरण गरी स्थानीयस्तरमै जनशक्तिको विकास गर्न सकिन्छ । नेपालका सन्दर्भमा यसो गर्नु अति नै आवश्यक छ । 

हाम्रोमा विदेशी लगानीको इतिहास हेरौँ । नेपालमा पहिलो विदेशी लगानीको बैंकका रूपमा नबिल बैंकमा युएईका लगानीकर्ता आएका थिए । तर, अहिले त्यो बैंकबाट अरबी लगानीकर्ता फर्किसकेका छन् र नेपालकै लगानीकर्ता चौधरी ग्रुपले विदेशी लगानी किनेको छ । अर्को विदेशी लगानीको बैंक इन्डोस्वेज बैंकबाट पनि विदेशी लगानीकर्ता नेपाली समूहलाई नै सेयर बेचेर फर्किसकेका छन् । जलस्रोतमा पनि अपर भोटेकोसी आयोजनाको अमेरिकी लगानीकर्ता पान्डा इनर्जी इन्टरनेसनल फर्किसकेको छ । र, जर्मनीको कम्पनी हेस्ट आफ्नो औषधी कारखाना नेपालीलाई बेचेर फर्किसकेको छ । विदेशी लगानीकर्ता फर्केपछि पनि ती बैंक, जलविद्युत् परियोजना र औषधी कारखानाहरू झनै राम्ररी चलिरहेका छन् । नेपाली लगानीकर्ता र व्यवस्थापनअन्तर्गत नै यी कम्पनी नेपालकै ठूला र उदाहरणीय कम्पनीका रूपमा स्थापित भएका छन् । 

विशेषगरी खुला अर्थतन्त्रका पक्षपाती तथा विश्वबैंक, एसियाली विकास बैंक जस्ता संस्थाका समर्थक विदेशी लगानीकर्ता नेपालबाट फर्केकोमा दुखेसो गर्छन् । तर, म भने यसलाई राम्रो मान्छु । विदेशी लगानीकर्ता यहाँबाट गएकै कारण ती संस्थाको सेयर खरिद गर्ने नेपालीले लगानीलाई कैयौँ गुणा बढाई आज अर्बपति भएका छन् । त्यो नेपालका लागि असाध्यै राम्रो हो । त्यसबाट नेपालको धन नेपालमै रहेको छ र उनीहरूले कमाएको नाफा नेपालमै बसेको छ । अन्यथा, एनसेलजस्ता विदेशी सेयरधनीले नेपालबाट हरसाल मूल लगानीभन्दा बढी रकम बाहिर लगिरहेका छन् । अर्थात् मुलुकको वैदेशिक लगानी ऋणात्मकतर्फ गइरहेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको विदेशी लगानीसम्बन्धी अध्ययन प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७२/७३ देखि ०७६/७७ सम्मको ५ वर्षको अवधिमा नेपालमा जम्मा ६९ अर्ब ४८ करोड रुपैयाँ लगानी भित्रिएकोमा एक खर्ब तीन अर्ब ७० करोड लाभांशका रूपमा बाहिरिएको थियो । यसरी नेपालमा भित्रिने लगानीको तुलनामा लाभांशका रूपमा बाहिरिने रकम निकै ठूलो छ, जुन मुलुकका लागि राम्रो होइन । यस्तो अवस्था कायमै रहे, होङ्सी सिमेन्ट र जलस्रोतका अन्य केही कम्पनीलगायत नयाँ विदेशी लगानीकर्ताले एकसाथ नाफा बाहिर लान खोज्दा हाम्रो विदेशी मुद्राको सञ्चितिबाट धान्न सकिएला त ? भोलिका दिनमा भुक्तानी सन्तुलन ऋणात्मक भएर हामीले कडा सर्तमा विदेशी ऋण लिन नपरोस् र नेपाललाई अप्ठ्यारो स्थिति नआओस् भन्नेतर्फ वेलैमा सचेत हुन आवश्यक छ । 

सेयर पुँजीका रूपमा भन्दा पनि ऋणका रूपमा विदेशबाट पैसा ल्याउने विषयलाई भने हामीले प्रोत्साहन गर्नु आवश्यक छ । यसो गर्दा नेपाली लगानीकर्ताले आवश्यक परेको बखत विदेशबाट पुँजी ल्याउन सक्छन् । र, निश्चित अवधिमा कर्जा चुक्ता गरी फिर्ता गरिदिन सक्छन् । अतः निम्न कारणले सेयरका रूपमा भित्रिने विदेशी लगानीलाई प्रतिबन्ध लगाउनुपर्छ । 

विदेशी बहुराष्ट्रिय कम्पनी नेपाल आएपछि उनीहरूले आफ्नो प्रतिस्पर्धी नेपाली कम्पनीलाई आर्थिक रूपमा कमजोर बनाउँछन् र सस्तो मूल्यमा त्यस्ता कम्पनीलाई ‘एक्विजिसन’ गरी बजारमा एकाधिकार कायम गर्छन्

पहिलो– सेयर भनेको स्वामित्व हो । विदेशी लगानीकर्ताको सेयरका रूपमा पुँजी भित्र्याउँदा त्यो लगानी यहाँ रहुन्जेल वर्षौंसम्म अनवरत रूपले लाभांश विदेश लगिरहन्छन् । त्यसरी लैजाने लाभांश मूल लगानीभन्दा कैयौँ गुणा बढी हुन सक्छ । 

दोस्रो– विदेशी बहुर्राष्ट्रिय कम्पनी नेपाल आएपछि उनीहरूले आफ्नो प्रतिस्पर्धी नेपाली कम्पनीलाई आर्थिक रूपमा कमजोर बनाउँछन् र सस्तो मूल्यमा त्यस्तो कम्पनीलाई ‘एक्विजिसन’ गरी बजारमा एकाधिकार कायम गर्छन् । यस्ता उदाहरण भारतमा प्रशस्त मात्रामा देख्न सकिन्छ । धेरै भारतीय कम्पनीलाई विदेशी कम्पनीले विस्थापित गरी बजारमा व्यापार र ब्रान्डलाई अझै मजबुत बनाइरहेका छन् र लगातार नाफा आफ्नो मुलुकमा लगिरहेका छन् । 

नेपालमा पनि आइटिसी, डाबर, कोलगेट, पाल्मोलिभ, कोकाकोला, पेप्सीकोला आदि कम्पनीले नेपाली बजारमा आधिपत्य जमाइसकेका छन् । केही भारतीय र चिनियाँ कम्पनी गहन अध्ययन गरी नेपालको बजारमा आधिपत्य जमाउने उद्देश्यसाथ आउन तयार भएर बसेका छन् । नेपालको बजार अलि ठूलो हुनासाथ उनीहरू प्रवेश गर्ने तयारीमा छन् । उदाहरणका लागि ब्रिटानिया, पार्ले आदि कम्पनी सोही रूपमा नेपाल आउने तयारीमा छन् । अहिले पनि होङ्सीले नेपाली सिमेन्ट उत्पादकलाई ठूलो प्रतिस्पर्धा दिइरहेको छ । अन्य चिनियाँ कम्पनीले सिमेन्टमा हात हालिसकेका छन् र यिनीहरू क्षमता वृद्धि गर्ने योजनामा रहेका छन् ।  

तेस्रो– पुँजीको अभावकै कारण नेपालमा विदेशी लगानी ल्याउन आवश्यक छैन । हाल नेपाली बैंकहरूसँग लगानी गर्न योग्य रकम ४० खर्ब नाघिसकेको छ । र, यसमा सरदर वार्षिक २० देखि २५ प्रतिशतले वृद्धि भइरहेको छ । अहिले नै पनि नेपाली बैंकहरूसँग तरलता अत्यधिक छ । ब्याजदर पनि अत्यन्त न्यून अर्थात् एकल अंकमै छ । अतः विदेशी ऋण पनि त्यति आवश्यक छैन । साँच्चै भन्ने हो भने नेपाली बैंकिङ इतिहासमा खासगरी दुई दशकदेखि तरलता अभाव भएको छैन । कहिले–कहिले अनुत्पादक क्षेत्रहरू, जस्तै– जग्गा–जमिन, सुन, गाडी, घर, सेयरबजार आदिमा अन्धाधुन्ध फट्काबाजी गरी लगानी बढ्दा र चलखेलले गर्दा तरलता संकुचित भएको अनुभव हुन्छ । तर, नियामक निकाय नेपाल राष्ट्र बैंकले अलि लगाम लगाउँदा र केही नीतिगत परिवर्तन गर्नेबित्तिकै स्वाभाविक रूपमा तरलता आइहाल्छ । स्थानीय बैंकहरूले विभिन्न परियोजना, व्यापार, उद्योग, सेयर, जग्गा आदि सबै क्षेत्रमा स्वस्थ र अस्वस्थ प्रतिस्पर्धा गर्दै एक–अर्काका ग्राहक खोसिरहेका छन् । तैपनि, चाहेजति लगानी गर्न सकेका छैनन् । अहिलेसम्म नेपाल राष्ट्र बैंकको नियन्त्रण अत्यन्त प्रभावशाली रहेको छ र नेपालको बैंकिङ सिस्टम दक्षिण एसियामै उत्कृष्ट छ । बैंकको खराब ऋण (एनपिए) अत्यन्त थोरै छ, जसलाई विदेशी बैंकहरूले समेत डाहको आँखाले हेर्छन् र गलत साबित गर्न चाहन्छन् । 

विदेशीको सेयर लगानीको तुलनामा नेपालीकै लगानीका धेरै फाइदा छन् । यसमा सबैभन्दा महत्वपूर्ण पक्ष भनेको नेपाली लगानीकर्ताले पाएको प्रतिफल वा पैसा नेपालमै रह्यो भने नेपालमै पुनः लगानी गर्नेछन् । त्यसैले नेपालको धन बिदेसिनेछैन ।

अतः मेरो निष्कर्ष छ कि ५०० मेगावाटसम्मको जलविद्युत् र राष्ट्रिय र अन्तर्राष्ट्रिय ट्रान्समिसन लाइन, सौर्य ऊर्जा, सिमेन्ट, होटेल, उत्पादनमूलक उद्योगहरूजस्ता क्षेत्रमा विदेशी लगानी प्रतिबन्ध लगाउनुपर्छ । त्यस्ता क्षेत्र नेपाली लगानीकर्ताका लागि मात्र संरक्षित गर्नुपर्छ । भर्खरै केही मिडियाबाट प्राप्त जानकारीअनुसार नेपालको एउटा कम्पनीले ट्रान्सीमसन लाइनमा भारतीय र बंगलादेशका कम्पनीलाई राम्रो सेयर स्वामित्व दिन लागेको छ । तर, त्यसो गरिनु हुँदैन, त्यस क्षेत्रमा नेपालीका लागि नै लगानी संरक्षित गर्नुपर्छ । सडक, एयरपोर्टजस्ता आधारभूत संरचनामा विदेशी लगानी आउँछ भने पुनर्विचार गरी गुण र लाभका आधारमा मूल्यांकन गर्नुपर्छ । 

हालसम्म विदेशी लगानी भनेर आएका होङ्सी सिमेन्ट, डाबर, आइटिसीलगायतले नेपाली बैंकबाटै ऋण लिएका छन् । तर, उनीहरू नेपालमा आएर नेपाली बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर सञ्चालन भइरहे पनि लाभांशका रूपमा कैयौँ गुणा बढी डलर वा भारतीय मुद्रा लगिरहेका छन् । 

उल्लिखित क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी रोकी भविष्यमा देशमा अर्थसंकट आउनबाट बचाउनुपर्छ भन्ने मेरो राय छ । अन्यथा, हाम्रा भावी पुस्ताले हामीलाई सराप्नेछन् । एकचोटि स्वामित्व पाएपछि हाम्रो आर्थिक नीतिमा समेत विदेशीले प्रभावित गर्नेछन् । उदाहरणका लागि अफ्रिकाका प्रायः मुलुकमा पहिले युरोपियन, अमेरिकन र अहिले चिनियाँ व्यवसायीले आधिपत्य जमाइसकेका छन् र अफ्रिकामा नाफा कमाई आप्mनो देशमा लगिरहेका छन् । त्यहाँका नेता र सरकारी कर्मचारीलाई सित्तैमा स्विट इक्विटी सेयर, कमिसन आदि दिई देशको अर्थतन्त्रमै कब्जा गरेका छन् र स्थानीय अफ्रिकी व्यापारी, तिनका सप्लायर, पेटी ठेकदार आदि ससाना कार्यमा मात्र सीमित भएका छन् । सारा विश्वको अर्थतन्त्रमा घुमाई–फिराई ८५ कम्पनीको मात्र कब्जा छ । अतः सयममै चिन्तन गरौँ । आप्mनो देश नेपाल र नेपाली उद्योगपति, लगानीकर्ता र व्यापारीलाई बचाऊँ ।         

सुझावित समाचार