ओली पक्षका सात सांसद एमाले सुदूरपश्चिम संसदीय दलको सदस्यबाट निलम्बन

सोमबार, ३१ जेठ, २०७८
डिजिटल संस्करण

नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले ह्विप उल्लंघन गरेको अभियोगमा आफ्ना सात सांसदलाई कारबाही गरेको छ । सोमबार बसेको दलको बैठकले ओलीनिकट सात सांसदलाई दलको सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको हो ।
     
सांसद पठानसिंह बोहरा र रतन थापालाई १५ दिन, लीलाधर भट्ट र बलदेव रेग्मीलाई १० दिन तथा नेपालु चौधरी, माया तामाङ बोहरा र गेल्बुसिंह बोहरालाई सात दिनका लागि दलको सदस्यबाट निलम्बन गरिएको एमाले संसदीय दलका प्रमुख सचेतक दुर्गाकुमारी कामीले जानकारी दिइन् ।

मुख्यमन्त्री त्रिलोचन भट्टले सदनबाट विश्वासको मत लिँदा र प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित हुँदा संसदीय दलले जारी गरेको ह्विप उल्लंघन गरेकोले उनीहरूलाई कारबाही गरिएको उनले बताइन् । निलम्बित सांसदले निलम्बन अवधिभर दलको बैठकमा भाग लिन नपाउने संसदीय दलले जनाएको छ । संसद् बैठकमा भने उनीहरूले भाग लिन पाउने प्रमुख सचेतक कामीले बताइन् ।

एमालेमा ओली समूहका सात सांसदले मुख्यमन्त्री भट्टले सदनबाट लिएको विश्वासको मतको विपक्षमा मतदान गरेका थिए । एमाले संसदीय दलले विश्वासको पक्षको पक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो । 

संसदीय दलको ह्विप उल्लंघन गर्दै सात सांसद गत आइतबार सरकारको नीति तथा कार्यक्रम पारित हुँदा पनि विपक्षमा उभिएका थिए । दुवैपटक ह्विप उल्लंघन गर्दा संसदीय दलका नेता प्रकाशबहादुर शाहले उनीहरूलाई स्पष्टीकरण सोधेका थिए ।

५२ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा एमालेका सभामुखबाहेक २४ सांसद छन् । तीमध्ये ओली समूहमा सात र खनाल–नेपाल समूहमा १७ जना छन् । सरकारमा सहभागिताको विषयमा एमाले संसदीय दलमा विवाद छ ।

पार्टीको निर्णयविपरीत सरकारको समर्थन कायम राख्ने निर्णय गरेको, सरकारमा सहभागी भएको र मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भन्दै एमाले प्रदेश कमिटीले पनि खनाल–नेपालनिकट सांसदलाई स्पष्टीकरण सोधेको छ ।

गत १० जेठमा एमाले स्थायी समिति बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर, खनाल–नेपाल समूहको बहुमत रहेकाले दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय गरेको छ । यो समूहबाट प्रदेश सरकारमा तीन मन्त्री र चार राज्यमन्त्री छन् । खनाल–नेपाल समूहका १७ सांसदको सहयोगले मुख्यमन्त्री भट्टले संसदबाट गत साता विश्वासको मत पाएका थिए ।

मुख्यमन्त्रीले विश्वासको मत लिने क्रममा पनि एमाले प्रदेश कमिटीले विपक्षमा मतदान गर्न निर्देशन दिएको थियो । कारबाहीमा परेका ओली पक्षका सांसदले भने पार्टीको निर्देशनअनुसार आफूहरू विश्वासको मत र नीति तथा कार्यक्रमको विपक्षमा उभिएको बताएका छन् । दलले सोधेको स्पष्टीकरणको जवाफमा पनि उनीहरूले पार्टीको निर्देशनको पालना गरेको उल्लेख गरेका थिए ।
 

सुझावित समाचार