स्टेरोइडको जथाभावी प्रयोगले कोभिडका बिरामीमा ब्ल्याक फंगस संक्रमण

बिहिबार, २७ जेठ, २०७८
डिजिटल संस्करण

स्टेरोइड दुखाइ कम गर्न, एलर्जी बढ्न नदिन, भाइरसका कारण शरीरका अंगहरू सुन्निनबाट जोगाउन प्रयोग हुन्छ 

कोभिड– १९ का संक्रमितहरूको उपचारमा स्टेरोइडको प्रयोग भइरहेको छ । हाल स्टेरोइडको प्रयोगबारे विभिन्न भ्रमहरू देखिएका छन् भने गम्भीर बिरामीहरूमा मुख्य रूपमा प्रयोगमा आइरहेको स्टेरोइडको जथाभावी प्रयोगले ब्ल्याक फंगसजस्ता घातक रोगहरूसमेत निम्त्याइरहेको छ । संक्रमणले शरीरमा पार्ने असर नियन्त्रणमा ल्याउनका लागि चिकित्सकहरूले स्टेरोइडको प्रयोग गरिरहेका छन् । 

हालसम्म कोभिड संक्रमणविरुद्धका लागि मात्रै कुनै औषधि प्रमाणित भएका छैनन्, उत्पादन भइरहेका औषधिहरूसमेत अध्ययनको क्रममै छन् । हाल प्रयोगमा आइरहेका विभिन्न औषधिहरू सम्बन्धित लक्षण नियन्त्रणका लागि प्रयोगमा आइरहेका छन्, जुन चिकित्सकको सल्लाहविना प्रयोगमा नल्याउनसमेत चिकित्सकहरूले आग्रह गरिरहेका छन् ।  

चिकित्सकहरूका अनुसार, कुनै पनि संक्रमणविरुद्ध शरीरको इम्युन सिस्टमले विभिन्न रसायनहरू उत्पादन गरिरहेको हुन्छ । ती रसायनहरूले भाइरसबाहेक शरीरको अन्य अंगविरुद्ध पनि प्रतिक्रिया जनाउँछन् । अर्थात् इम्युन रेस्पोन्सले शरीरको अंगमा पार्ने असर नियन्त्रणमा ल्याउन स्टेरोइडहरू प्रयोगमा ल्याइन्छ । हाल नेपालमा कोभिडका बिरामीमा डेक्सामेथासोन, मिथाइल प्रिमिसोलेन, प्रिमिसोलेन प्रयोग भइरहेका छन् । यी स्टेरोइडहरूले संक्रमणका कारण फोक्सो वा अन्य अंगमा देखिने इन्फ्लामेसन अर्थात् सुजनलाई कम गर्छन् र तिनले शरीरको रोगप्रतिरोधी प्रणाली कोरोना भाइरससँग जुध्न अति सक्रिय अवस्थामा पुग्दा हुने  क्षतिलाई समेत रोक्ने गर्छन् ।

डा. असरफ हुसेन
स्वस्थ व्यक्तिमा ब्ल्याक फंगसले खासै असर गरेको पाइँदैन । तर, बिरामीहरूमा स्टेरोइडको प्रयोग गर्नुपर्ने हुन्छ, जसले शरीरको रोग प्रतिरोधक क्षमतामा पनि कमी आउँछ । योसँगै स्टरोइडले शरीरको सुगर लेभल पनि बढाइदिन्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सेप्टेम्बर २०२० मा विज्ञहरूको सल्लाहमा कोभिडका गम्भीर बिरामीमा स्टेरोइडहरूको प्रयोगका लागि अनुमति दिएको थियो । जसअनुसार स्टेरोइडमा डेक्सामेथासोन र अन्य कार्टिकोस्टेरोइडको प्रयोग गर्न सकिने जनाएको थियो । क्लिनिकल परीक्षणका आधारमा प्रयोगमा ल्याउन अनुमति दिइएको स्टेरोइड अर्थात् कार्टिकोस्टेरोइड्स मात्रा मिलाएर मात्र प्रयोगमा ल्याउन सिफारिस गरिएको थियो ।

संक्रमणका कारण गम्भीर बनेका बिरामीमा डेक्सामेथासोन, हाइड्रोकोर्टिसोन वा पेडनिसोनजस्ता स्टेरोइडहरू प्रयोगमा ल्याउन सकिन्छ । स्टेरोइड दुखाइ कम गर्न, एलर्जी बढ्न नदिन, भाइरसका कारण शरीरका अंगहरू सुन्निनबाट जोगाउन प्रयोग भइरहेका छन् । चिकित्सकीय भाषामा एन्टी इनफ्लामेटोरी अर्थात् सुन्निनबाट रोक्ने यी औषधिको प्रयोगले श्वास–प्रश्वासमा सहजता ल्याउन, प्रतिरोधी क्षमता कम गर्न, फोक्सो वा श्वासनलीलाई सुन्निनबाट बचाउन प्रयोग गरिन्छन् । तर, स्टेरोइडको प्रयोग संक्रमण देखिनेबित्तिकै भने गर्नुहुँदैन । 

स्टेरोइडको अत्यधिक प्रयोग घातक 
कोभिड संक्रमण नियन्त्रणमा प्रभावकारी देखिएको स्टेरोइडहरूको अत्यधिक वा जथाभावी प्रयोग अन्य समस्याको कारक बन्ने गरेको छ । जसको उदाहरण हो, ब्ल्याक फंगस । भारतमा कोभिड संक्रमितमा बढ्दै गएको ब्ल्याक फंगसको समस्या नेपालमा पनि देखिन थालेको छ ।

म्युकोमाइर्कोसिस (जाइगोमाइकोसिस) गम्भीर तर दुर्लभ फंगल संक्रमण हो जुन म्युकोर्मिसाइट्स भनिने मोल्डहरूको समूहले गर्दा हुने गर्छ । म्युकोर हाम्रो वातावरणमा प्राकृतिक रूपमै पाइने एक प्रकारको ढुसी हो जुन माटो, धुलोका कण, हावा र शरीरका सतहमा पनि हुन्छ । यो एउटा स्पोरका रूपमा रहने गर्छ ।  चिकित्सकहरूका  अनुसार, ब्ल्याक फंगस मुख्यतया स्वास्थ्य समस्या भएका वा कीटाणु र रोगसँग लड्न शरीरको क्षमता कम गर्ने स्टेरोयडको कारणले हुने गर्छ । डा. असरफ हुसेन भन्छन्, ‘स्वस्थ व्यक्तिमा कालो ढुसीले खासै असर गरेको पाइँदैन ।

तर, बिरामीहरूमा स्टेरोइडको प्रयोग गर्नुपर्ने हुन्छ, जसले शरीरको रोग प्रतिरोधक क्षमतामा पनि कमी आउँछ । योसँगै स्टरोइडले शरीरको सुगर लेभल पनि बढाइदिन्छ ।’ उनका अनुसार मधुमेह, दम, बाथ र अन्य रोगका कारण पहिलेदेखि नै प्रतिरोधी क्षमता कम भएका व्यक्तिमा स्टेरोइडको प्रयोग गर्दा शरीरको इम्युन सिस्टम निकै कमजोर हुन जान्छ । जसले ब्याल्याक फंगसजस्ता संक्रमण सजिलै फैलिन्छन् । कोभिडका बिरामीमा स्टेरोइडको प्रयोग जति प्रभावकारी छ, सावधानीपूर्वक चलाउन नजान्दा त्यति नै हानि गर्ने बताउँछन् डा. हुसेन । उनी भन्छन्, ‘स्टेरोइड लामो समयसम्म प्रयोग गरिरहेका व्यक्तिमा सुगर लेभल नियमित नापिरहनुपर्छ । स्वस्थ व्यक्तिमा समेत स्टेरोइडले रगतमा सुगर लेभल बढाइरहेको हुन्छ ।’

यस्तै कोभिडका बिरामीमा ब्ल्याक फंगसको अर्को कारण फोहोर अक्सिजन सिलिन्डरको प्रयोगलाई समेत मानिएको छ । विभिन्न अध्ययनहरूका अनुसार संक्रमितको संख्या ह्वात्तै बढ्दा अक्सिजन आपूर्तिका लागि वर्षौंदेखि थन्काइएका वा विभिन्न उद्योगमा रहेका अक्सिजन सिलिन्डरहरूसमेत उपचारमा प्रयोग गरियो । सिलिन्डरहरू आवश्यक मात्रामा सरसफाइ वा फिल्टर नहुँदा वा पुराना सिलिन्डरहरू विनापरीक्षण सीधै प्रयोगमा ल्याउँदा ब्ल्याक फंगसको संक्रमण फैलिएको चिकित्सकहरूको भनाइ छ । डा. हुसेन भन्छन्, ‘इन्डिस्ट्रियल अक्सिजन, मेडिकल अक्सिजनजस्तो सीधै फोक्सोमा दिइँदैन । संक्रमण नियन्त्रणबाहिर जाँदा बिरामीले फिल्टर गरिएको अक्सिजन पाएनन्, साथै प्रतिरोधी क्षमता न्यून भएका कोभिडका बिरामीमा स्टेरोइड पनि थपियो, जसका कारण ब्ल्याक फंगस संक्रमणका बिरामीहरू धेरै देखिन थालेको अध्ययनहरूले देखाइरहेको छ ।’  

सुझावित समाचार