कोकाकोला कम्पनी नेपालमा प्लास्टिक रिसाइक्लिङमा सक्रिय

सोमबार, २४ जेठ, २०७८
डिजिटल संस्करण

कोकाकोलाले विभिन्न हिमालमा संकलन भएको प्लास्टिकजन्य फोहोरलाई रिसाइक्लिङका लागि काठमाडौं ल्याएर अभ्नी भेन्चरलाई हस्तान्तरण गरेको छ । नेपाली सेनाको अगुवाइमा भएको हिमाल सफाइ अभियानमा विभिन्न हिमालबाट ल्याएको फोहोर आवश्यकताअनुसार व्यवस्थापन तथा रिसाइक्लिङका लागि कोकाकोलाले पनि सहकार्य  गरेको हो । 

सगरमाथा, लोत्से, मकालु, धौलागिरि, पुमोरी र अमादब्लमजस्ता ६ वटा हिमालबाट संकलन गरिएको कम्पनीले जनाएको छ । सफाइमा २७ हजार ६ सय ७१ किलोग्राम फोहोर, ४ वटा मृत शरीर र एउटा मानव अवशेष रहेको जनाइएको छ । 
यससँगै हिमाल सफाइ कार्यक्रमको दोस्रो संस्करण ‘सफा हिमाल अभियान २०२१’ को समापन भएको घोषणा गरिएको छ । कोकाकोलाले नेपालमा वल्र्ड विदाउट वेस्ट प्रोग्रामका बारेमा अपडेट गराउने पत्रकार सम्मेलनमार्फत विश्व वातावरण दिवस मनाएको जनाएको छ । 

हिमाल सफा अभियानका निर्देशक नेपाली सेनाका ब्रिगेडियर जनरल हिमांशु खड्काले नेपाली सेनाको नेतृत्व र नेपाल सरकारको पहलमा सफा हिमाल अभियान २०२१ को २७.६ टनको फोहोर र चारवटा शवहरू विभिन्न हिमालबाट निकालिएपछि सफलतापूर्वक सम्पन्न भएको बताए । 

उनले भने, ‘अभियान कोभिड–१९ महामारी र दुईवटा साइक्लोन ताउ ते र यासका बाबजुद सफल भयो । यो हाम्रो इन्भाइरोमेन्टली रेस्पन्सिबल पार्टनरहरूको अटुट समर्थनका कारण सम्भव भएको हो ।’ भविष्यका लागि हिमाल संरक्षण गर्न सफा हिमाल अभियानलाई निरन्तर रूपले समर्थन गरेकोमा कोकाकोलाप्रति आभारी रहेको उनको भनाइ थियो । 

नेपाली सेनाको नेतृत्वमा कोकाकोला र अन्य बहुसरोकारवालाको सहयोगमा रहेको अभियानको मूल उद्देश्य हिमालको संरक्षण गर्नु र देशका ६ वटा उच्च चुचुराहरू सफा गरी जलवायु परिवर्तनको प्रभावलाई पनि कम गर्नु रहेको जनाइएको छ । कोकाकोलाले नेपालको प्राकृतिक गौरव तथा सौन्दर्य संरक्षणका लागि काम गर्ने उद्देश्यले सन् २०१९ मा स्थापना भएदेखि हिमालय सफाइ अभियानलाई सहयोग गर्दै आएको जनाएको छ ।

वल्र्ड विथआउट वेस्ट कार्यक्रम सन् २०१८ मा सुरु गरिएको कोकाकोलाले जनाएको छ । यो कार्यक्रम सन् २०३० सम्ममा सेल्सको सय प्रतिशतको प्याकेजिङबराबरको संकलन र रिसाइकल गर्ने कोकाकोलाको विश्वव्यापी प्रतिबद्धता रहेको जनाइएको छ । 

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले फोहोर व्यपस्थापनको क्षेत्रमा जिम्मेवारी व्यवस्थापनको चुनौतीलाई आवश्यक पर्ने गति प्रदान गर्न र पिइटी बोतलहरू रिसाइकल गर्न धेरै पहल गरेको बताए । उनले भने, ‘हिमाल सफाइ अभियान र रणनीतिक स्थानहरूमा सुभनामूलक पिइटी संकलन बिनहरूको स्थापनाजस्ता विभिन्न कार्यक्रममार्फत हामीले समुदायमा फोहोर अलग्याउने, प्याकेजिङ र रिसाइक्लिङसम्बन्धी जागरुकता सिर्जना गरेका छौँ ।’

नेपालका कोकाकोलाका कन्ट्री निर्देशक आदर्श अवस्थीले वल्र्ड विथआउट वेस्ट नेपालको एक प्रमुख कार्यक्रम रहेको बताए । प्याकेजिङ रिसाइकल्ड भएको सुनिश्चित गर्न उद्योगका कर्मचारी, पर्यावरणविद्हरू, सरकार र नागरिक समाज संगठनहरूसँग साझेदारी गरेको उनको भनाइ थियो । 

सुझावित समाचार