विवाह गर्ने प्रलोभनमा बलात्कारमा परेकी सुनसरीस्थित इटहरीकी २४ वर्षीया युवतीको जाहेरी सिराहास्थित इलाका प्रहरी कार्यालय लहननले दर्ता गरेको छ । घटना भएको दुई दिनपछि बलात्कृत युवतीको जाहेरी दर्ता भएको हो ।
युवतीको मेडिकल रिपोर्ट पनि पजिटिभ आएको छ । मेडिकल रिपोर्ट पजिटिभ आएसँगै प्रहरीले जाहेरी दर्ता गरेको हो । यसअघि जाहेरी दर्ता गर्न प्रहरी कार्यालयले मानेको थिएन । इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी डा. तपन दाहालले जाहेरी दर्ता भएको बताए ।
उनले भने, ‘युवती भनिएको जस्तै बलात्कृत नै भएको होइन । मेडिकल रिपोर्ट पजिटिभ आएको छ । मुद्दा दर्ता भइसकेको छ । सबै प्रक्रिया अब कानुनअनुसार अघि बढ्छ । यसमा आत्तिनुपर्ने केही छैन ।’
सिराहा लहान– ६ का २७ वर्षीय विजयकुमार साहले रातभर बलात्कार गरेको भन्दै युवती गत शुक्रबार दिउँसो ४ बजे इलाका प्रहरी कार्यालय लहानमा जाहेरी दर्ता गर्न पुगेकी थिइन् । तर, प्रहरीले बलात्कार नभई विवाहसम्बन्धी विवाद रहेको भन्दै जाहेरी दर्ता गर्न मानेको थिएन ।
पीडित युवतीका अनुसार विवाह गर्ने प्रलोभनमा पारी साहले गत बिहीबार बिहानै इटहरीबाट लहान आउन भनेका थिए । लकडाउनका कारण सवारीसाधन नचलेपछि उनी इटहरीमै अड्किएर बसेकी थिइन् । साहले पटक–पटक आउन आग्रह गरेपछि मोटरसाइकलमा लिफ्ट मागेर लहान पुगेकी थिइन् । लहानमा भेट भएपछि साहले नजिकैको गेस्टहाउस लगेर राखेका थिए । सोही गेस्टहाउसमा साहले रातभर बलात्कार गरेको पीडित युवतीको भनाइ छ । युवतीका अनुसार गेस्टहाउसको कोठामा लगेपछि साहले मोबाइल फोन खोसेका थिए । सोही कारण रातभर डराएर बसेको र पीडा कसैसँग भन्न नसकेको उनको भनाइ छ ।
तर, घटनामा संलग्न अभियुक्त अझै पक्राउ परेका छैनन् । प्रहरीले जाहेरी दर्ता गरे पनि घटनामा संलग्न साहलाई भने पक्राउ गरेको छैन । महिला अधिकारवादी ललिता दासका अनुसार अभियुक्त साह गाउँमै खुलेआम हिँडिरहेको र पीडितलाई पटक–पटक फोन गरेर धम्क्याइरहेका छन् ।
उनले भनिन्, ‘प्रहरीले पीडितको जाहेरी दर्ता गरेको भनेको छ । तर, अभियुक्तलाई अझै पक्राउ गरेको छैन । अभियुक्तले मसहित पीडितलाई फोन गरेर धम्क्याइरहेको छ । मिल्न भन्दै विविध प्रलोभन देखाइरहेको छ । प्रहरीले किन प्रक्राउ गरिरहेको छैन । बुझ्न सकिएको छैन ।’