गत साता १ सय २३ अंकको उतारचढाव देखिएको बजारमा कारोबार बन्द हुँदा भने अघिल्लो साताको तुलनामा ४१ अंकले वृद्धि भएको छ । साताभरमा कारोबार रकम भने करिब ३३ प्रतिशतले बढेको हो । अघिल्लो साता ५० अर्ब रुपैयाँको सेयर कारोबार हुँदा गत साता भने ६७ अर्ब रुपैयाँको सेयर किनबेच भएको हो । दैनिक औसत कारोबार रकम पनि १३ अर्ब रुपैयाँ पुगेको छ ।
गत साता जलविद्युत्, जीवन बिमा, निर्जीवन, लगानी र व्यापारमूलक समूहगत परिसूचक घटेको छ । यद्यपि, वित्त कम्पनी र विकास बैंक समूहमा उच्च सुधार देखिएको हो । यी दुवै समूहमा करिब १७ प्रतिशतले वृद्धि भएको हो । सबैभन्दा धेरैले मूल्य बढ्नेमा पनि गत साता यही समूहका केही कम्पनीहरू छन् ।
गत साता सबैभन्दा धेरै ४५ प्रतिशतले रकम बढ्नेमा लुम्बिनी विकास बैंक अग्रस्थानमा छ । बैंकको चालू आवको तेस्रो त्रैमासमा नाफा ३ प्रतिशतले घटेको छ । बैंकको लाभांश क्षमता करिब साढे ११ प्रतिशत देखिएकाले मात्रै लगानीकर्ताले बढी मूल्य तयार भएको देखिएको छ । कम्पनीको सेयर ४ सय ९६ रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, राइट ब्याक र सेयर कारोबारबाट उल्लेख्य नाफा बढेको गोर्खाज फाइनान्सको लाभांश क्षमतासमेत ३० प्रतिशत देखिएपछि कम्पनीको मूल्य सातामै ४३ प्रतिशतले बढेर १ हजारभन्दा माथि पुगेको छ ।
अघिल्लो साता सार्वजनिक भएको बजेटले अल्पकालीन र दीर्घकालीन लगानीकर्ता छुट्याएर फरक पुँजीगत लाभकरको घोषणा गरिएको छ । यसले अल्पकालीनभन्दा दीर्घकालीन लगानीकर्तालाई बढी लाभ हुने अवस्था रहे पनि बजार बुलिस प्रवृत्तिमा रहेकाले लगानीकर्ता टेड्रिङमै बढी अभ्यस्त भइरहेका छन् ।
बजारका अन्य आधारभूत पक्षमा खासै परिवर्तन भएको छैन । बैंकहरूमा अधिक तरलता कायमै रहेको छ । अहिले अधिकांशले लगानी क्षेत्र अभावमा सेयर बजारमै कारोबार बढाइरहेका छन् । यसले बजारमा सट्टेबाजी निकै मौलाएको छ । कम अनुभवी तथा नयाँ लगानीकर्ताले भने यस्तो समयमा सजक हुनु राम्रो हुनेछ ।
प्राविधिक विश्लेषण
गत साता सोमबार र मंगलबार घटेको नेप्सेले अन्तिम दुई दिनमा भने सेतो (हरियो) मैनबत्ती बनाएको छ । यी दुई दिनमा पहिलो दिनको तुलनामा दोस्रो दिनको मैनबत्तीको आकार केही घटेको छ । यो बजार बुलिस हुने संकेत नै भए पनि अर्को दिनको कारोबारले दिशा स्पष्ट पार्नेछ । आगामी पहिलो दिनको कारोबारमा कालो मैनबत्ती बने पनि डराउनुपर्ने अवस्था भने नहुन सक्छ । गत साता बनेका दुई सेता मनबत्तीहरूबीचको ग्यापमा कालो मैनबत्ती बनेमा अपसाइड ग्याप वा अपसाइड टुकी ग्याप आकृतिहरू बन्न सक्छन् । यसले पनि बजार बढ्न सक्ने संकेत गर्नेछ । यो सम्भावनाका आधारमा भने मध्यम संकेत हो ।
२१ दिने रेखालाई काटेर माथि लागेको नेप्सेको ७ दिने रेखा दूरी बनाएर अगाडि बढिरहेको छ । यसले बजार बुलिस नै रहेको संकेत गरिरहेको छ । १४ दिने आरएसआई सूचकले पनि बजार अधिक खरिदको अवस्थामा रहेको देखाउँछ । यो सूचक स्केल ७४ मा आएको छ । स्केल ३० मुनि रहे बजारमा अधिक बिक्री भइरहेको, ३० देखि ७० मा रहे सन्तुलित र ७० माथि रहे अधिक खरिद क्षेत्रमा आएको विश्लेषण गरिन्छ ।
पिभट विश्लेषणले भने सेयर
बजारमा आगामी एक साता २ हजार ८ सय ६६ मा पहिलो लक्ष्य रहेको र सो बिन्दुमा प्रतिरोध पाएर घटेमा २ हजार ८ सय ३६ मा पहिलो टेवा पाएर फर्कन सक्ने संकेत गर्छ ।