होम डेलिभरीलाई खुला नगरेकोमा इ-व्यापार संघ असन्तुष्ट

शुक्रबार, २१ जेठ, २०७८
डिजिटल संस्करण

इ–व्यापार संघ नेपालले सम्बन्धित अधिकारीहरूसँग पटक–पटक छलफल गरेर आग्रह गर्दा पनि जेठ ३१ गतेसम्म जारी गरिएको निषेधाज्ञाले होम डेलिभरीलाई सहज पार्ने प्रावधानलाई पर्याप्त मात्रामा ध्यान नदिएको भन्दै आपत्ति जनाएको छ । संघले हालको प्रतिबन्धमा विशेष गरी काठमाडौं उपत्यकामा कार्य अवधि बिहान ९ बजेसम्म सीमित गर्नु र अत्यावश्यक उत्पादनहरूको परिभाषामा कुनै फेरबदल नगर्नुमा आपत्ति जनाएको हो । 

संघका अध्यक्ष सागर भट्टका अनुसार २ मिटर दूरी कायम राख्नु, डेलिभरी कामदारलाई स्यानिटाइजर, ग्लोब्स र मास्कले सुसज्जित गर्नु, उनीहरूको स्वास्थ्यलाई निरन्तर अनुगमन गर्नुजस्ता सरकारले लगाएका सुरक्षा उपायहरूलाई इ–व्यापार संघ र यसका सदस्य कम्पनीहरूले सधैँ अनुसरण गर्दै आएका छन् । 

सर्वसाधारणलाई एक सुरक्षित विकल्प प्रदान गर्दै सबै सामानहरूको होम डेलिभरी सेवालाई अनुमति दिनाले भाइरस फैलनबाट रोक्न मद्दत पुग्ने उनको भनाइ छ । यसले इ–व्यवसायमार्फत सञ्चालित धेरै साना र मध्यम व्यवसायलाई पलायन हुनबाट बचाउने र अर्थ व्यवस्थालाई निरन्तरता दिने उनको तर्क छ । 

महामारीको चापलाई कम गर्न लगाएको लकडाउन एक महिनाभन्दा बढी भइसकेकाले स्टेसनरी, मोबाइल र कम्प्युटरजस्ता सामग्रीहरू उपभोक्ताका लागि खाना र कपडाजत्तिकै आवश्यक भएको संघले जनाएको छ ।

सरकारले विद्यार्थी, कर्मचारी र समाजका अन्य सदस्यहरूका आवश्यकतालाई सम्बोधन गर्न पर्याप्त कदम नचालेको संघको दाबी छ । इ–वाणिज्य कम्पनीहरूलाई केही उत्पादन समूहहरूमा सीमित नराखी पूर्ण रूपमा वितरण सेवा सञ्चालन गर्न अनुमति दिएमा समस्या समाधान हुने र उपभोक्ताको सुरक्षा सुनिश्चित गर्ने संघले जनाएको छ । 

सुझावित समाचार