चुरे विनाश भयो भन्दै दाताबाट साढे चार अर्ब मागेर ११ जिल्लामा कार्यक्रम

फेरि पहाड फोरेर १४ जिल्लाबाट ढुंगा–गिटी भारत पठाउने योजना

शुक्रबार, २० जेठ, २०७८
डिजिटल संस्करण

चुरे दोहन गर्ने गरी ढुंगा, गिटी, बालुवा निर्यात गर्ने योजना बनाएको सरकारले संरक्षणका लागि दाता पनि गुहारिरहेको छ । संयुक्त राष्ट्रसंघमातहतको हरित जलवायु कोष (जिसिएफ)को चार अर्ब ६७ करोड ८० लाख रुपैयाँ सहयोगमा सरकारले आगामी साउनबाट ‘चुरे उत्थानशील कार्यक्रम’ सञ्चालन गर्दै छ । 

११ जिल्लाका २६ वटा नदी प्रणालीमा आधारित रहेर सञ्चालन हुने यो कार्यक्रममा सरकारले ९१ करोड २० लाख रुपैयाँ थप्नेछ । कार्यक्रम पाँच वर्षसम्म सञ्चालन हुनेछ । 

अहिले कार्यालय स्थापना गरी सर्वेक्षणको काम सुरु भइसकेको छ भने आगामी साउनदेखि फिल्डस्तरमै काम हुनेछ । वन मन्त्रालयका अनुसार यो कार्यक्रम सिन्धुलीदेखि झापासम्मको चुरे र तल्लोतटीय क्षेत्रमा लागू हुनेछ । जब कि सरकारले यिनै जिल्लाबाट ढुंगा, गिटी उत्खनन गरेर निर्यातको योजना बनाएको छ । खानी तथा भूगर्भ विभागले १४ जिल्लाका ९२ स्थानबाट उत्खनन गरेर ढुंगा, गिटी निर्यातको योजना बनाइसकेको छ । जसमा मोरङ, उदयपुर, मकवानपुर, चितवन, डोटी र डडेल्धुरालगायतका चुरे पहाड भएका जिल्ला पनि समेटिएका छन् ।

चुरेबाट बगेर आएको गेग्रानले तल्लोतटीय क्षेत्रको मलिलो जमिन मरुभूमीकरण भइरहेकाले कार्यक्रमअन्तर्गत त्यही समस्यालाई सम्बोधन गरिने अपेक्षा लिइएको छ । ‘चुरेबाट बग्ने नदी क्षेत्रमा भूक्षय रोक्न यो कार्यक्रममार्फत माथिल्लो क्षेत्रमा वृक्षरोपण, जलवायु अनुकूलन खेती प्रणाली र वन संरक्षणका काम हुनेछन्,’ राष्ट्रिय कार्यक्रम निर्देशक पशुपति कोइरालाले भने, ‘यसले वन क्षयीकरण रोक्ने र चुरेको माथिल्लो क्षेत्रबाट पहिरो खस्ने, ढुंगा–माटो बग्ने समस्यामा कमी आउने अपेक्षा गरिएको छ ।’ 

सुबोध ढकाल नेतृत्वको भूगर्भविद्को टोलीले सन् २०१८ मा गरेको अध्ययनले चुरेका २२ जिल्लाका १० हजार ठाउँमा पहिरो रहेको देखाएको थियो । त्यसमध्ये करिब सय ठाउँ अत्यन्त जोखिमयुक्त रहेको औँल्याएको थियो ।

चुरे उत्थान कार्यक्रमले बागमती, प्रदेश १ र २ का २६ नदी क्षेत्रमा संरक्षणका काम गर्न गर्नेछ । कार्यक्रम निर्देशक कोइरालाका अनुसार बागमतीको सिन्धुली तथा प्रदेश २ को सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरीमा कार्यक्रम लागू हुनेछ । त्यस्तै, प्रदेश १ का उदयपुर, सुनसरी, मोरङ, झापा र इलाममा कार्यक्रम चल्नेछ । 

मकवानपुरको पश्चिम क्षेत्रको मनहरी खोलाबाट ढुंगा, गिटी, बालुवा ओसार्न लामबद्ध ट्र्याक्टर । फाइल तस्बिर : सुदीप शिवाकोटी/नयाँ पत्रिका

२६ नदी क्षेत्रमध्ये मुख्यगरी कमलामाई, लखनदेही, रातु, रतुवा–माई, मेची र उदयपुरको सानो सुनकोसी क्षेत्रमा पारिस्थितिकीय प्रणाली पुनस्र्थापना, वन क्षयीकरण रोक्न वृक्षरोपण, जलवायुमैत्री कृषि प्रणाली र समुदायको क्षमता अभिवृद्धिका कार्यक्रम छन् । यसबाट कार्बन उत्सर्जन न्यूनीकरण हुने अपेक्षा पनि गरिएको छ । 

त्यस्तै, विश्व वातावरणीय कोषको सहयोगमा वन मन्त्रालयले आगामी आर्थिक वर्षबाट सञ्चालन गर्न लागेको एकीकृत भूपरिधि आयोजनाले पनि अप्रत्यक्ष रूपमा चुरे संरक्षणमा मद्दत पुग्ने अपेक्षा गरिएको छ । ८० करोड ८९ लाख रुपैयाँ (कुल ६.९ मिलियन डलर)को पञ्चवर्षीय कार्यक्रमको मुख्य उद्देश्य बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज तथा कर्णाली र कम्दी जैविक मार्गमा वन्यजन्तुको वासस्थान सुधार, मानव–वन्यजन्तु द्वन्द्व घटाउने र वृक्षरोपण हो । तर, माथिल्लो क्षेत्रका केही ठाउँमा भूसंरक्षणका काम पनि हुने कार्यक्रम संयोजक सुमन सुवेदीले बताए । कर्णाली जैविक मार्गको माथिल्लो क्षेत्र चुरेसँग जोडिएको छ ।

सर्लाहीको लखनदेही नदी प्रणालीको संरक्षण, तटबन्ध निर्माणका लागि विश्व संरक्षण संघमार्फत कार्यक्रम आउँदै छ । जसको लागत ७० करोड ३४ लाख रुपैयाँ (६ मिलियन डलर) अनुमान गरिएको छ ।

विश्व बैंकको आइडिएमार्फत राष्ट्रपति चुरेमा कार्यक्रम स्वीकृत भए पनि बजेट निकासा नहुँदा सरकारले नै व्यहोरिरहेको छ । अर्थ मन्त्रालयले चुरे कार्यक्रमका लागि बजेट निकासा गर्दा आव ०७५/७६ मा ८५ करोड र ०७६/७७ मा ६० करोड दायित्व वैदेशिक सहायता उल्लेख गरेको थियो । तर, निकासा नभएपछि सरकारी कोषबाट व्यहोरिएको थियो । 

उता अर्थ मन्त्रालयले भने बुधबार विज्ञप्ति प्रकाशन गरी चुरे दोहन नहुने गरी खानीबाट निर्यात गरिने स्पष्टीकरण दिएको छ । वातावरण र जीविकामा असर नपर्ने गरी निकासी गरिने अर्थ मन्त्रालयको दाबी छ ।

सरकारकै पनि साढे पाँच अर्बका कार्यक्रम

सरकार आफैँले पनि चुरे संरक्षण र नदी कटान रोक्न आगामी आर्थिक वर्षका लागि पाँच अर्ब ४४ करोड विनियोजन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत नदी नियन्त्रणका आधा दर्जन आयोजनाका लागि तीन अर्ब ९१ करोड र राष्ट्रपति चुरे तराई–मधेस संरक्षण कार्यक्रमका लागि एक अर्ब ५३ करोड विनियोजन गरिएको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत नदी नियन्त्रणका आधा दर्जन आयोजनामध्ये जनताको तटबन्ध कार्यक्रममा मात्रै आगामी आवका लागि सवा अर्ब विनियोजन गरिएको छ । यो कार्यक्रम ०६६ देखि सुरु गरिएको हो । 

‘सानादेखि ठूला नदीमा कटान रोक्न तटबन्धदेखि स्पर बनाउँछौँ,’ जलस्रोत तथा सिँचाइ विभागका उपमहानिर्देशक प्रदीप थापाले भने, ‘चुरेको भूभाग सकिएर तराईको सुरुवाती क्षेत्रमा बढी तटबन्ध बनाउनुपर्छ, त्यहाँ कटानको बढी समस्या छ । हामी वार्षिक देशभरमा ५०–६० किलोमिटर तटबन्ध बनाउँछौँ ।’

तर, अध्ययनविना नै जथाभावी ढुंगा, गिटी, बालुवा झिकिँदा तराई क्षेत्रमा नदी कटान हुनुका साथै निर्मित तटबन्धमा पनि क्षति हुने गरेको थापाले बताए । ‘पहाडमा नदीको दायाँबायाँ त्यति कटान भएको देखिएको छैन । तर, चुरेपछिको क्षेत्रमा बढी क्षति भएको पाइन्छ,’ उनले भने, ‘हामीले तटबन्ध मात्र बनाउँछौँ, के–कसरी ढुंगा, गिटी, बालुवा निकाल्ने भनेर स्थानीय तहलाई अधिकार छ । राष्ट्रपति चुरे कार्यक्रमसँग पनि समन्वय नहुँदा डुब्लिकेसन भएको हो कि जस्तो लाग्छ ।’

केन्द्रीयस्तरका १६ वटा आयोजना कार्यालयले १६ वटा ठूला नदी र प्रदेशस्तरका आयोजना निर्देशनालयले चुरे तथा महाभारत शृंखलाबाट सुरु भएर बग्ने नदी नियन्त्रणमा काम गर्ने गरेका छन् ।

त्यस्तै, राष्ट्रपति चुरे कार्यक्रमअन्तर्गत शिवालिक तथा महाभारत क्षेत्रमा दुई सय पोखरी निर्माण गरी जल पुनर्भरण र चुरे क्षेत्रका एक सय ६४ नदी प्रणालीमा भूक्षय नियन्त्रण गर्ने योजना छन् । चुरे तथा तराई–मधेस क्षेत्रमा डेढ करोड बिरुवा रोप्ने कार्यक्रम पनि यसमा समावेश छ । 

चुरेको नदी प्रणालीमा एक सय ६४ नदी छन् । राष्ट्रपति चुरे कार्यक्रमबाट ४८ वटा नदीमा प्रणालीमा काम भइरहेको छ । 

गिटी, ढुंगा निर्यात गरिए नेपालमै अभाव हुने

चुरे र तराई–मधेसलाई प्रत्यक्ष असर गर्ने गरी ढुंगा, गिटी, बालुवा निकासी गर्ने सरकारी योजनाले देशभित्रै अभाव हुने देखिएको छ । यसअघि भारत निर्यात गर्दा पनि स्वदेशमै अभाव भएको थियो । 

‘खानीबाट निकासी गर्ने भनिए पनि त्यो त्यति सजिलो छैन, लागत बढी महँगो पर्छ । अन्ततः चुरे र त्यसअन्तर्गतका नदी क्षेत्रबाटै ढुंगा, गिटी निकासी योजना रहेको देखिन्छ,’ राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. शंकर शर्माले भने, ‘दशकअघि पनि सीमित परिमाणमा निकासी गर्ने भन्दा थेग्न सकिएन । अहिले त ढुंगाको माग नेपालमै बढिरहेको छ । निर्यात किन ?’

वातावरण संरक्षण र अनुदानका लागि नेपालले अन्तर्राष्ट्रियस्तरमा प्रतिबद्धता जनाएका कारण पनि वातावरणमा क्षति पुर्‍याउने काम गर्न नमिल्ने शर्माले बताए । ‘वातावरणीय मुद्दा विश्वव्यापी हो, वातावरण संरक्षण र अनुदानका लागि अन्तर्राष्ट्रियस्तरमा प्रतिबद्धता जनाउने, तर यहाँ उल्टो काम गर्ने ? यस्तो सुहाउँदैन,’ पूर्वउपाध्यक्ष शर्माले भने ।

अहिले पनि अवैध रूपमा निर्यात भइरहेको र खानी देखाएर सरकारले त्यसलाई वैध बनाउने प्रयास गरेको शर्माले बताए । ०६४ देखि ०७० सम्म नेपालबाट भारतमा ढुंगा, गिटी यति निकासी हुन्थ्यो कि देशभित्रका चलिरहेका आयोजनाले अभाव झेल्नुपर्थ्यो । संसदीय समितिको निर्देशन तथा सर्वाेच्च अदालतको आदेशपछि २९ जेठ ०७१ मा मन्त्रिपरिषद्ले निकासी बन्द गर्ने निर्णय गरेको थियो । 

भारतको उत्तर प्रदेश र बिहारमा पहिला उत्तराखण्डबाट ढुंगा, गिटी, बालुवा आउँथ्यो । तर, डेढ दशकयता उत्तराखण्डमै विकास निर्माणका काममा तीव्रता आएपछि अन्य प्रदेशमा अत्यन्त न्यून निर्यात भएको छ । त्यसैले उत्तर प्रदेश र बिहार अहिले ढुंगा, गिटी, बालुवामा नेपालको भर पर्न थालेको विज्ञहरू बताउँछन् ।

See More On

सुझावित समाचार