ओली पक्षसँगको संवादबारे नेपालको टिप्पणी– वार्तालाई टुंगोमा पुर्‍याउन अनौपचारिक छलफलको तरिका ठीकै हो

बिहिबार, २० जेठ, २०७८
डिजिटल संस्करण

संस्थापनबाट कारबाही गरिएका एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओली पक्षसँग दोस्रो तहका नेताहरूको अनौपचारिक संवादबाट पनि वार्तालाई टुंगोमा पुर्याउन सकिने बताएका छन् । आफ्नो समूहका केन्द्रीय सदस्यहरूको भर्चुअल बैठकको सुरुवात गर्दै नेपालले त्यस्तो बताएका हुन् ।

‘अनौपचारिक छलफलबाट मात्रै टुंगोमा पुगिँदैन । यसले वार्ताको वातावरण बनाउने भएका कारण यो तरिकाको छलफल पनि ठीकै छ । तर, औपचारिकता दिएर अन्तिम टुंगोमा पुर्याउनका लागि प्रतिबद्धता, योजना, कार्यक्रम के हो केही पनि आएको छैन,’ ओली पक्षसँगको पछिल्लो संवादबारे नेपालको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘त्यसैले उनीहरूले हाम्रा साथीहरूसँग अनौपचारिक कुराकानी गरे भन्दैमा सहमति भइहाल्यो भनेर बाहिर आए पनि ती गलत हुन् ।’

यद्यपि, नेपालले अनौपचारिक वार्तामा केही सकारात्मक देखिएको संकेत गरे पनि प्रधानमन्त्री ओलीले दाउपेचका लागि मात्रै प्रयोग गरेको हुन सक्ने आशंका पनि गरेका थिए । ‘यति कुरा बुझ्नुस् अनौपचारिक कुरा भएका छन्, तर औपचारिकतामा कहिले जाने हो थाहा छैन । न जाने होइन कि केही थाहा छैन । वार्ता कमिटीका संयोजकलाई नै कारबाही गरेको छ । भीम रावल र अरू साथीहरू हुनुहुन्छ, उहाँहरूले कुरा राख्नुहोला,’ नेपालको भनाइ थियो ।

बैठकमा अहिलेसम्म वरिष्ठ नेता झलनाथ खनालसहित नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसालसहित करिब एक दर्जनजतिले धारणा राखेका छन् । पाण्डे र भुसालले वरिष्ठ नेता नेपाल र खनालको जानकारीमै वार्ता चलिरहेको र त्यहाँ भइरहेका सबै विषयमा नियमित ब्रिफिङ गरिएको जानकारी गराएका थिए । केन्द्रीय सदस्य निरज आचार्यले प्रधानमन्त्री ओली २ जेठमा फर्किन तयार भएको हो भने सकारात्मक भएकाले पार्टीलाई औपचारिक रूपमै पुरानै संरचनामा फर्काइए विमतिहरू क्रमश: अन्तर्संघर्षकै माध्यमबाट हल हुँदै जाने धारणा राखेका थिए ।

सुझावित समाचार