खाँडादेवी प्रगतिशील युवा समाजद्वारा अक्सिजन कन्सन्ट्रेटरसहित मेडिकल सामग्री सहयोग

बुधबार, १९ जेठ, २०७८
डिजिटल संस्करण

कोरोना संक्रमण बढिरहेको वेला रामेछापको खाँडादेवी प्रगतिशील युवा समाजले पकरबास स्वास्थ्यचौकीलाई अक्सिजनसहित मेडिकल सामग्री सहयोग गरेको छ । प्रगतिशील युवा समाजको अगुवाइमा खाँडादेवी प्रगतिशील विपत् कोषबाट कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि खाँडादेवी– ५ स्थित पकरबास स्वास्थ्यचौकीलाई मेडिकल सामग्री सहयोग गरिएको हो ।

अक्सिजन कन्सन्ट्रेटर दुई थान, इलेक्ट्रोनिक औजार सफा गर्ने अटोकेल्भ एक थान, स्यानिटाइजरसहितका सामग्री सहयोग गरिएको समाजका अध्यक्ष राकेश श्रेष्ठले जानकारी दिए । सबैको सहयोगमा स्वास्थ्य सामग्री वितरण गर्न सम्भव भएको उनले बताए । 

खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष मखमली श्रेष्ठले स्वास्थ्य सामग्री सहयोग गरेकोमा समाजलाई धन्यवाद दिइन् । सामूहिक प्रयासबाटै महामारीलाई परास्त गर्न सकिने उनले बताइन् । ‘अब अक्सिजनविना अकालमा ज्यान जाँदैन,’ उनले भनिन्, ‘गाउँपालिकाले उपचारका लागि आवश्यक प्रबन्ध मिलाएको छ । सहयोग आउने क्रम पनि जारी रहेको छ ।’
 

सुझावित समाचार