जेठ २५ बाट राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र बिक्री

मंगलबार, १८ जेठ, २०७८
डिजिटल संस्करण

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले जेठ २५ गतेदेखि ‘८.५ प्रतिशत आरबिबिएल डिबेन्चर, २०८३’ नामको ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८ दशमलव ५० प्रतिशत ब्याजदर भएको २ अर्ब ५० करोड रुपैयाँबराबरको २५ लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो । 

यस ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने बैंकले जनाएको छ । प्रतिकित्ता १ हजार रुपैयाँ दरका कुल २५ लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १५ लाख कित्ता व्यक्तिगत तवरबाट संगठित संस्थाहरूलाई बिक्री गरिने भएको छ । 

यसका लागि ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड र निष्कासनकर्ता कम्पनी राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आपसी सहमतिमा बिक्री–वितरण गरिने जनाइएको छ । सर्वसाधारणका लागि छुट्याइएको ४० प्रतिशत अर्थात् १० लाख कित्ता सर्वसाधारण नेपालीका लागि सार्वजनिक निष्कासनबाट ऋणपत्र बिक्री गरिने जनाइएको छ । 
छिटोमा जेठ २८ गते र ढिलोमा असार ८ गतेसम्म बिक्रीमा रहने यस ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । ऋणपत्रलाई केयर रेटिङ नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा पर्याप्त मात्रामा सुरक्षा प्रदान गर्ने संस्थाका रूपमा रहेको संकेत गर्ने केयर–एनपी एप्लस (आइएस) रेटिङ प्रदान गरेको बैंकले जनाएको छ । 

सुझावित समाचार