कोरोना महामारीको कारण बन्दकोठामा थुनिन बाध्य बाबालिकालाई मध्यनजर गरी दुईवटा बालकथाका पुस्तकहरू सार्वजनिक भएका छन् । बालमनोविज्ञानलाई आधार बनाएर तयार पारिएका दुईवटा पुस्तक टंक चौलागाईंको ‘टाइगरको नयाँ घर’ र भवसागर घिमिरेको ‘चक र पाटीको गाउँ यात्रा’ गत शुक्रबार अनलाइन कार्यक्रमबीच सार्वजनिक भएका हुन् ।
कोरोनाले बालबालिका घरभित्रै थुनिनुपरेको छ । खुला ठाउँमा खेल्न, डुल्न नपाउँदा उनीहरूको मनोविज्ञानमा धेरै असर परिरहेकाले पुस्तकमार्फत केही सहज बनाउने प्रयास गरेको लेखक भवसागर घिमिरेले बताए ।
बालशिक्षामा कार्यरत संस्था रुम टु रिडले पुस्तक तयार पार्नका लागि १० देशका २०–२० लेखक र चित्रकारलाई गत वर्ष अनलाइन कार्यशालामा समावेश गरेको थियो । नेपालसँगै भारत, बंगलादेश, श्रीलंका, दक्षिण अफ्रिका, तान्जानिया, इन्डोनेसिया, भियतनामलगायतका देशबाट ‘कोरोना महामारी र बालबालिका विषयक’ सो कार्यशालामा सर्जकहरू सहभागी भएका थिए ।
लेखन कार्यशालामा नेपालबाट लेखकका रूपमा घिमिरे र चौलागाईं अनि चित्रकारका रूपमा प्रोमिना श्रेष्ठ र उज्ज्वल तामाङ सहभागी थिए । गत शुक्रबारको कार्यक्रममा नेपालका दुईसहित १० देशका २० पुस्तक एकैपटक सार्वजनिक गरिएको थियो । कथा पुस्तक ‘टाइगरको नयाँ घर’ मा तामाङ र बाल कमिक ‘चक र पाटीको गाउँ यात्रा’ मा श्रेष्ठले चित्र कोरेका छन् ।
लकडाउनका वेला एक्लिएर बेसहारा भएको कुकुरको कथा चौलागाईंको पुस्तकमा समावेश छ । कोरोनाका कारण लामो समय विद्यालय बन्द भएपछि दिक्क भएका चक र पाटी बालबालिका भेट्न गाउँ जाने काल्पनिक कथा घिमिरेको पुस्तकमा छ ।
विभिन्न देशका लेखक तथा कलाकारहरूले आफ्ना रचनाहरू सुनाउने, प्रतिक्रिया लिने र परिस्कृत गर्ने अवसर पाएकाले कार्यशालामा रचनात्मक पुस्तकहरू तयार भएको रुम टु रिड नेपालका प्रकाशन अधिकृत अनन्त वाग्लेले बताए ।