थप दुईवटा पेट्रोलियम पाइपलाइन बनाउने, तीन वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य

शनिबार, १५ जेठ, २०७८
डिजिटल संस्करण

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै थप दुईवटा पेट्रोलियम पाइपलाइन निर्माण सुरु गर्ने जनाएका छन् । अर्थमन्त्री पौडेलका अनुसार भारतको सिलगढी हुँदै सीमापारि पानीट्यांकीदेखि नेपालको झापास्थित चारआलीसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिनेछ । चारआलीमा निगमको शाखा कार्यालय छ । त्यहाँ पाइपलाइनबाट आएको तेल भण्डारण गर्न यसअघि नै जग्गा खरिद गरिसकिएको छ ।

त्यस्तै, बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिने भएको छ । अहिले अमलेखगञ्जसम्म भारतको मोतिहारीदेखि पाइपलाइनबाट डिजेल आइरहेको छ । सोही संरचना प्रयोग गर्दै लोथरसम्म पाइप विस्तार गर्न लागिएको हो । लोथरमा यसअघि नै जग्गा खरिद गरिसकिएको छ । 

सो ठाउँको जग्गा अहिले सम्याएर परियोजना कार्यान्वयनका लागि तयारी हुँदै गरेको आयल निगमको दुई नम्बर प्रादेशिक कार्यालय, अमलेखगञ्जका प्रमुख प्रदीप यादवले जानकारी दिए । यादवलाई सोही परियोजना सफल बनाउन करिब दुई महिनाअघि सरुवा गरी अमलेखगञ्ज पठाएको थियो ।

दुवै परियोजनाको सर्वे र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सकिएको छ । पाइपलाइनबाट आएको तेल भण्डार गर्न दुवै स्थानमा ठूलो क्षमताको भण्डारण गृहसमेत निर्माण हुनेछ । अर्थमन्त्री पौडेलले अबको तीन वर्षभित्र दुवै पाइपलाइन
सञ्चालनमा ल्याइसक्ने जनाएका छन् ।

करिब दुई वर्षअघि मोतिहारी–अमलेखगञ्ज रुटमा पहिलो पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको थियो । पाइपलाइनबाट तेल ल्याउन छिटो, सजिलो र सुरक्षित हुनुका साथै वार्षिक रूपमा खर्च हुँदै आएको ढुवानी भाडाबापतको अर्बाैँ रकम बचत हुन थालेपछि पाइपलाइन निर्माण गरी इन्धन ढुवानी गर्न सरकार आकर्षित भएको हो ।

सुझावित समाचार