अक्सिजन सकियो, मेरा श्रीमान्ले छटपटाउँदै ज्यान गुमाउनुभयो : सुकमाया थापा, मृतककी श्रीमती
हामी तनहुँको खैरेनीटारबाट उपचारका लागि यहाँ आएका हौँ । उच्च रक्तचापको बिरामी भएकाले उहाँमा अक्सिजनको कमी थियो । त्यसैले तनहुँबाट सुविधासम्पन्न अस्पताल भनेर यहाँ ल्याएर उपचार गराइरहेका थियौँ । मेरा श्रीमान्को चार दिनदेखि यहाँ उपचार भइरहेको थियो । बिहीबार राति करिब १० बजे अचानक अक्सिजन सकियो भने । मेरा श्रीमान् छटपटाउँदै हुनुहुन्थ्यो । अरू पनि छटपटाइरहेका थिए । पहुँच हुनेहरू सिलिन्डर खोज्न दौडिए । मैले केही गर्न सकिनँ । हेर्दाहेर्दै मेरा श्रीमान्ले ज्यान गुमाउनुभयो ।
... ...
अक्सिजन अभावमा बिहीबार राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत आठ कोरोना संक्रमितको ज्यान गएको छ । ज्यान गुमाउनेमा एक सुत्केरीसमेत छिन् । उनीहरू सबैलाई हाई फ्लो अक्सिजन दिएर उपचार भइरहेको थियो ।
ज्यान गुमाएकाका परिवारजनले दिएको जानकारीअनुसार बिहीबार राति करिब १० बजेबाट झन्डै आधा घन्टा (३० मिनेट) अक्सिजनको आपूर्ति बन्द भएको थियो । ज्यान गुमाउनेमा तनहुँ, पोखरा, स्याङ्जा, पर्वत र म्याग्दीका बिरामी रहेको उपचारमा संलग्न डा. शरदचन्द्र बरालले जानकारी दिए ।
अस्पताल प्रशासनले भने अक्सिजन सकिएर नभई आवश्यक मात्रामा अक्सिजनको प्रवाह हुन नसक्दा आठजनाको मृत्यु भएको दाबी गरेको छ । प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले भने, ‘अस्पतालमा अक्सिजन सकिएर होइन, उच्च जोखिममा रहेका बिरामीलाई प्रतिमिनेट ६० देखि ८० लिटरसम्म अक्सिजन चाहिने अवस्था आयो, एउटै पाइपलाइनबाट अक्सिजन दिँदा त्यो सम्भव भएन । त्यति अक्सिजन प्रवाह गर्ने प्रणाली हामीसँग नभएकाले ज्यान गएको हो । । त्यही कारणले ज्यान गुमेको हो ।’
प्रतिष्ठानमा बिरामी आफन्तको कुरुवा बसेकी पोखरा एयरपोर्टकी महिला त्यसवेला घटनाको प्रत्यक्षदर्शी थिइन् । घटना वर्णन गर्दै ती महिलाले भनिन्, ‘राति करिब पौने १० बजेतिर बिरामीलाई औषधि दिइसकिएको थियो । केही क्षणमा अक्सिजन सकियो भन्ने खबर आयो । बिरामीहरू अक्सिजन अभावले छटपटाउन थाले । मेरो बिरामीको आडमा चार–पाँच दिनकी एक सुत्केरी हुनुहुन्थ्यो । अक्सिजन नपाएर उहाँ भुक्लुक्क ढल्नुभयो । म हेर्न नसकेर रुँदै बाहिर निस्केँ । फर्कंदा आफन्तले कतैबाट अक्सिजन ल्याएर जोड्दै हुनुहुन्थ्यो । तर, डाक्टरले मृत घोषणा गरे ।’ उनले सो रुममा अक्सिजन अभावमा चारजनाले ज्यान गुमाएको जानकारी दिइन् ।
पोखरामा अक्सिजन र बेड अभाव नरहेको भन्दै बाहिरबाट समेत पछिल्लो समय बिरामी ल्याउने गरिएको छ । यहाँका उद्योगले अक्सिजन अभाव नरहेको बताइरहेका थिए । तर, प्रतिष्ठानमा बिहीबार राति १० देखि बिहान ५ बजेसम्म तीनपटकसम्म अक्सिजन आपूर्ति ठप्प भएको खुलेको छ । अक्सिजनका सिलिन्डर जोड्नेसमेत काम गरेका अस्पतालमा सुरक्षा गार्ड राजनकुमार गुरुङले राति १० बजे, बिहान ३ र ५ बजेआसपास पनि अक्सिजन सकिएको बताए । दुवैपटक करिब २५ मिनेट अक्सिजनविहीन भएको उनले जानकारी दिए ।
प्रतिष्ठानमा दुईवटा ब्लकमा अहिले कोभिड बिरामी राखिएको छ । एउटा मेडिकल वार्ड र अर्को अस्पताल रेक्ट्रोफिटिङका लागि तयार पारिएका कच्ची संरचना । त्यसैगरी इमर्जेन्सी वार्डमा पनि कोभिड संक्रमितको उपचार भइरहेको छ । मेडिकल र इमर्जेन्सीमा सो बीचमा अक्सिजन आपूर्ति नभएको गुरुङले बताए । ‘बेलुका १० बजेपछि पनि दुईपटक अक्सिजन ठप्प भयो । सकिएर जोड्न नै पाइएन । दोस्रोपटक झन्डै ३ बजेको हुँदो हो र तेस्रोपटक त्यस्तै पौने ५ या ५ बजेको हुँदो हो, दुवैपटक २०–२५ मिनेट अक्सिजन जोड्न नै पाइएन,’ उनले भने ।
अस्पतालका अक्सिजन फोकलपर्सन विमल बरालले अक्सिजन उद्योगबाट उत्पादन कम भएका कारण पर्याप्त अक्सिजन नपाएको बताए । अस्पतालमा अझै पनि अक्सिजनको कमी भइरहेको उनको भनाइ छ ।
छानबिन गर्न निर्देशन दिएको छु : मुख्यमन्त्री
गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले घटनाको छानबिन गर्न निर्देशन दिएको बताए । ‘अक्सिजनकै अभाव हुने र ज्यान गुम्ने अवस्था छैन भन्ने नै रिपोर्ट पाएको छु । तर, उपचार गर्न आएका नागरिकले अक्सिजनको अभावले ज्यान गुमाए भन्दा म मर्माहत भएको छु । यसमा अस्पतालको पनि लापरबाही भयो कि भन्ने देखिन्छ । वास्तविकता छानबिन गर्न निर्देशन दिएको छु,’ मुख्यमन्त्री गुरुङले भने ।