विपद्का सारथि : जो आफैँ संक्रमित भएर पनि बिरामी स्याहारिरहेका छन्

शुक्रबार, १४ जेठ, २०७८
डिजिटल संस्करण
विपद्का सारथि : जो आफैँ संक्रमित भएर पनि बिरामी स्याहारिरहेका छन्

बिरामी स्याहार्दै अमृता उप्रेती ।

गत वर्ष कोरोना भाइरसको पहिलो लहर फैलिँदै गर्दा सरकारले लकडाउन गरेपछि अलपत्र परेका पैदलयात्रीलाई निःशुल्क खाना खुवाउन खटिएका एक दम्पती यसपटकको संकटमा भने संक्रमितको उपचारमै जुटेका छन् । यो क्रममा आफैँ संक्रमित हुँदासमेत उनीहरू बिमारीको हेरचाहमा अहोरात्र खटिएका छन् ।

यी दम्पती हुन् हरिवन नगरपालिका–९ सुकेपोखरीमा सर्लाही जीवन अस्पताल सञ्चालन गर्दै आइरहेका अमृता उप्रेती र अर्जुन मैनाली । बिरामीको उपचारमा खटिँदाखटिँदै आफूहरूसमेत संक्रमित बनेको अमृताले बताइन् । अमृताका अनुसार उनीहरूकै कारण छोरा, छोरी, दाजु, बुबासमेत संक्रमित भएका छन् ।

उप्रेती परिवारले निर्माणधीन अस्पताल भवन आइसोलेसनका रूपमा प्रयोग गर्न हरिवन नगरपालिकालाई दिएका थिए । नगरले भवनमा ६० बेडको अक्सिजनसहितको आइसोलेसन तयार गरेको जनाएको थियो । आइसोलेसन स्थापना गरेको सुनेपछि २४ वैशाखदेखि नगरका संक्रमित आउन सुरु गरे । तर, नगरपालिकाले बिरामीको उपचार भने गरेन । बिरामीको उपचारमा नगरपालिकाले बेवास्ता गरेपछि उनीहरू आफैँ उपचारमा खटिए । उनले भनिन्, ‘नगरपालिका  तर्किरहेको छ, बिरामी बेडमा लम्पसार परेपछि हामीले कसरी फर्काउनु भन्नुस् त ? बिरामी मरेको हेरेर बस्नु ?’ 

अमृता सिएमए हुन् । उनका श्रीमान् अर्जुन ल्याब टेक्निसिएनसँगै जुनिएर इन्ट्रन हुन् । अहिले उनीहरूको निगरानीमा हरिवन र बागमती, लालबन्दीलगायत स्थानबाट आएका १९ संक्रमित उपचारत छन् । गम्भीर समस्या भएका आठजना उपचारपश्चात् घर फर्किसकेका छन् । सामान्य स्वास्थ्य सुरक्षाको सामग्रीसमेत नहुँदा असुरक्षित ढंगले बिरामीको उपचार गरिरहनुपरेको उनले दुखेसो गरिन् । 

उपचारत बिरामीका लागि बागमती नगरपालिकाका मेयर भरतकुमार थापाले दिएको अक्सिजन प्रयोग गरिरहेको उनले बताइन् । निकै अनुरोधपछि हरिवन नगरले पनि चारवटा खाली सिलिन्डर दिएको छ । आफैँ संक्रमित भएका कारण बिरामीको हेरचाह गर्न निकै समस्या हुने गरेको छ । तर, बिरामीहरू अन्त जान नमानेको अमृता बताउँछिन् । थप भर्ना नलिने भनेर फर्काउँदासमेत बिरामीहरू अस्पतालको गेटमा बस्ने गरेको उनले सुनाइन् ।

बिरामी बढेपछि डाक्टर र स्वास्थ्य सामग्रीको व्यवस्था गर्न हरिवनका मेयर गणेशप्रसाद प्रसाईलाई निकै अनुरोध गरे पनि बेवास्ता गरेको उनको भनाइ छ । नगरपालिकाले भने अस्पताल राख्नुपर्ने बिरामीलाई आफ्नै स्वास्थ्य कार्यालयस्थित आइसोलेसनमा राखेको जनाएको छ । 

See More On

सुझावित समाचार