मानवअधिकार र मध्यपूर्वको द्वन्द्व

बिहिबार, १३ जेठ, २०७८
डिजिटल संस्करण

इजरायलले गाजामा गरेको पछिल्लो आक्रमणलाई सही ठहर्‍याउने जुन प्रयास गर्‍यो, त्यो इजरायलमा भइरहेको घटनासँग परिचित हरेकलाई खोक्रो लागेको छ । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको सरकारले अरबविरोधी नश्लवादीहरूको सहयोगमा संरचनात्मक रूपमा, क्रूरताका साथ र निरन्तर अरब जनसंख्याको आधारभूत मानवअधिकारलाई उल्लंघन गरेको छ । धेरै यहुदी पदाधिकारी रहेको अन्तर्राष्ट्रिय एनजिओ ह्युमन राइट्स वाचले इजरायलले मानवताविरुद्ध अपराध गरेको भन्दै आलोचना गरेको छ । 

इजरायलको व्यवहारलाई लिएर धेरैको नजर अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनतर्फ पनि गएको छ । बाइडेनले आफ्नो परराष्ट्र नीति मानवअधिकारमा आधारित हुने बताएका छन् । यदि बाइडेनका प्रतिबद्धता साँचो हो भने उनको प्रशासनले इजरायलले अरब जनसंख्यामाथि गरेको मानवअधिकार उल्लंघनको घटनाको स्वतन्त्र छानबिन गराउनुपर्छ र अनुसन्धान अन्त्य नभएसम्म र प्यालेस्टिनीहरूको अधिकार सुरक्षित नभएसम्म इजरायललाई दिने सैन्य सहयोग रोक्नुपर्छ। 

गाजामाथि इजरायलले हवाई आक्रमण गर्नुअघि पूर्वी जेरुसेलममा रहेको सेख जराह बस्तीमा बस्ने प्यालेस्टिनीलाई हटाउने प्रयास भइरहेको थियो । त्यही समयतिर मुलसमानहरूको तेस्रो पवित्र स्थल अल–अस्का मस्जिदस्थलमा इजरायली प्रहरीले बल प्रयोग गरे । वातावरण तनावपूर्ण भएकै समयमा दक्षिणपन्थी इजरायलीको एक समूहले पूर्वी जेरुसेलममा ‘अरब मुर्दावाद’ भन्ने नारा लगाउँदै र्‍याली निकाल्यो । त्यसपछि गाजाबाट इजरायलतर्फ रकेट आक्रमण सुरु भयो । नेतान्याहुले चाहेकै त्यही थिए । आफूमाथि लागेको भ्रष्टाचारको मुद्दा अघि बढ्ने खतरामाझ उनलाई आफ्नो राजनीतिक साख बचाउनु थियो । आखिरमा अरबविरोधी घृणाको भावना बढ्दा नेतान्याहुलाई फाइदा पुग्ने गरेको छ । 

म आफैँ यहुदी हुँ र मलाई इजरायलको अरबविरोधी हिंसा देख्दा निकै दुःख लाग्छ । इजरायली हिंसा यहुदी नैतिकताको मूल सिद्धान्तविपरीत छ । तालमन्डमा भनिएको छ, ‘कसैले एउटा जीवन मात्र बचायो भने उसले सारा संसार बचाएको मानिनेछ ।’ महान् साधु हिलेलको अवलोकनअनुसार सम्पूर्ण तोराह (यहुदी कानुन)को सार हुन्छ : तिमीलाई मन नपर्ने कुरा आफ्ना परिचितसँग नगर ।

बाइडेनले आफ्नो परराष्ट्र नीति मानवअधिकारमा आधारित हुने बताएका छन् । यदि उनी यस प्रतिबद्धताप्रति अडिग छन् भने उनको प्रशासनले इजरायलले अरब जनसंख्यामाथि गरेको मानवअधिकार उल्लंघनका घटनाको स्वतन्त्र छानबिन गराउनुपर्छ ।

इजरायलले गाजामाथि गरेको भीषण बमबारीले कैयौँ निर्दोष मानिसको ज्यान गयो । मर्नेमा कम्तीमा ६३ जना बालबालिका पनि छन् । नेतान्याहुजस्ता भ्रष्ट र स्वार्थी राजनीतिज्ञले आफूले गरेको कुकर्मलाई पनि धार्मिक रंग दिने गर्छन्, जुन कार्यले धर्मलाई नै असर गर्छ । नेतान्याहु आफूले यहुदी जनताको हितका लागि यी सबै काम गरेको दाबी गर्छन्, तर त्यसो होइन । विश्वभरका धेरै यहुदी (मसमेत) नेतान्याहुको नश्लवादी राजनीतिलाई घृणा गर्छन् । एक अमेरिकीको रूपमा मलाई अमेरिकी सरकारले इजरायलका हरेक कामप्रति समर्थन जनाएको कुराप्रति चित्त बुझ्दैन । सौभाग्यवश यस्तो विचार राख्ने म मात्र होइन । डेमोक्रेटिक पार्टीभित्रका कंग्रेस सदस्य (जसमा यहुदी र गैरयहुदी दुवै छन्)ले अमेरिकाले इजरायलको गैरकानुनी कामलाई समर्थन जनाउन रोक्नुपर्ने आह्वान गर्न थालेका छन् । अमेरिकी सरकारले इजरायललाई आँखा चिम्लेर विश्वास गरेर अमेरिकी यहुदी जनसंख्यालाई खुसी पार्न खोजेको होइन । खासमा देशको ठूलो जनसंख्या रहेको इभ्यान्जेलिकल इसाईले सबै यहुदी इजरायलमा भए मात्र संसारको अन्त्य हुने विश्वास गर्छ । त्यसैले उनीहरू जायोनिजमलाई समर्थन जनाउँछन् ।

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई दिएको ‘खाली चेक’ले पछिल्लो समय इजरायली समाजका अतिवादी रंगवादीलाई उत्साहित बनाएको छ । इजरायली नेताहरूमा पनि आफूहरूले जस्तोसुकै कुकर्म गर्दा पनि अमेरिकी सरकारले समर्थन गर्छ भन्ने विश्वास छ । इजरायलभित्र बसोवास गर्ने अरब समुदाय र अतिक्रमित प्यालेस्टिनीहरूप्रति इजरायली राज्यको नीतिबारे ह्युमन राइट्स वाचले भर्खरै एक रिपोर्ट सार्वजनिक गरेको छ । त्यसले इजरायली अधिकारीले यहुदी जनसंख्यालाई विशेषाधिकार दिने गरेको र प्यालेस्टिनीलाई भेदभाव गर्ने खालको भनेको छ । 

प्रमुख इजरायली कानुन, नीति र इजरायली अधिकारीहरूको बोलीवचनले यहुदी इजरायलीहरूको बाँकी जनसंख्या, राजनीतिक शक्ति र जमिनमाथि आधिपत्य हुनुपर्छ भन्छ । यो लक्ष्य हासिल गर्न अधिकारीहरूले प्यालेस्टिनीलाई बलपूर्वक परिवारसँग अलग गर्ने, कैद गर्ने, घरबाट निकाल्ने र दमन गर्ने गर्छन् । रिपोर्टका अनुसार केही स्थानमा विभेद यति कठोर छ कि तिनलाई मानवताविरुद्धको अपराध मान्न सकिन्छ । 

यदि बाइडेन प्रशासनले अन्तर्राष्ट्रिय मानवअधिकार कानुन पालना गर्ने हो भने उसले चीनविरुद्ध चाहिँ औँला देखाउने, इजरायललाई भने हरेक भने कुरामा छुट दिने कार्य जारी राख्न सक्दैन । मानवअधिकार जहाँ पनि उही नै हुन्छ, चाहे त्यो सिन्जियान र उहिगुरको होस्, म्यानमार र रोहिंग्याको होस् वा इजरायल र प्यालेस्टिनी अरबको । संयुक्त राष्ट्रसंघको बडापत्रअन्तर्गत अन्तर्राष्ट्रिय कानुनको हिस्सा रहेको मानवअधिकारको संरक्षण गर्ने हो भने संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्मार्फत स्वतन्त्र अनुसन्धान गराउनुपर्छ । अर्को कुरा, विगतमा जस्तो हरेक आक्रमणपछि गाजाको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय दाता सम्मेलन गर्न बन्द गर्नुपर्छ । इजरायलले गरेको विध्वंसको भरपाइ उसैले गर्नुपर्छ । अन्तर्राष्ट्रिय डोनरको सीमित कोष विश्वका गरिब मानिसलाई सहयोग गर्न लगाउनुपर्छ, कुनै देशले गरेको विध्वंसको भरपाइ गर्न होइन । 

कोलम्बिया विश्वविद्यालयका प्राध्यापक स्याक्स संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको दिगो विकास लक्ष्यका सल्लाहकार हुन् । 

© Project Syndicate 2021
नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्य

 

सुझावित समाचार