सही कदम चालिएन भने महामारीपछि विश्वमा नर्सको चरम अभाव हुन सक्छ
विश्वभरका नर्स अहिले संकटमा छन् । भारतमा चलिरहेको कोभिड–१९ को शक्तिशाली लहरविरुद्धको लडाइँमा अग्रमोर्चामा नर्स नै छन्, ब्रिटेनमा अत्यन्त धेरै दबाबमाझ नर्स काम गरिरहेका हुन्छन्, केन्या र अन्य कैयौँ स्थानमा त नर्सले महिनौँदेखि तलब नै नपाउने खतरा हुन्छ । न्यून ज्याला, न्यून सम्मान र न्यून सहयोगका कारण महामारीमाझ नर्सले अभूतपूर्वस्तरको तनाव र थकान भोगिरहेका छन् ।
इन्टरनेसनल काउन्सिल अफ नर्सेसले बताएअनुसार कोभिड–१९ का कारण विश्वभर ६० लाख नर्सको कमी देखिएको छ । सबैभन्दा धेरै कमी न्यून आय तथा मध्यम आययुक्त मुलुकमाथि परेको छ । यो स्थिति परिवर्तन गर्नका लागि सही कदम चालिएन भने महामारीपछि विश्वमा नर्सको चरम अभाव हुन सक्छ ।
हामीले वर्तमान तथा भावी महामारीसँग लड्ने हो भने र नसर्ने रोग तथा मानसिक बिरामीको बढ्दो संख्यालाई सम्बोधन गर्ने हो भने सबल तथा लगनशील नर्सिङ समुदाय निर्माण गर्नुपर्छ । यस रूपान्तरणका लागि हामीसामु ऐतिहासिक अवसर आएको छ । यो साता सम्पन्न विश्व स्वास्थ्य सभामा विभिन्न देशका स्वास्थ्यमन्त्रीहरूलाई नर्सिङ पेसालाई रूपान्तरण गर्ने एक नयाँ पाँचवर्षे रणनीतिमा समर्थन जनाउन आग्रह गरिने कार्ययोजना छ । रणनीतिलाई कार्यस्थलको वातावरण सुधार गरेर, नियमन गर्दै सीप तथा नेतृत्व विकासमार्फत अवलम्बन गरिनेछ ।
नर्सहरू सबैभन्दा ठूला स्वास्थ्य पेसाकर्मी समूह हुन् र उनीहरूको समाजमा उलेख्य पहुँच हुने गर्छ । आमजनसंख्यामा पनि नर्सप्रति उच्च विश्वास कायम छ । त्यसैले उनीहरूले रोगविरुद्धको लडाइँ र विश्वव्यापी स्वास्थ्य सेवामा महत्वपूर्ण भूमिका निभाउन सक्छन् । त्यसैले नर्समाथि पर्याप्त लगानी गर्नबाट हच्किने सरकारले पुनर्विचार गर्न आवश्यक छ । तथ्य प्रमाणले देखाएअनुसार नर्सिङ पेसाले स्वास्थ्य सुधारमा मात्र सघाउँदैन, यसले लैंगिक समानता र आर्थिक वृद्धिलाई सघाउ पुर्याउँछ ।
महामारीपछि स्वास्थ्य प्रणालीको पुनर्निर्माण गर्दा धेरै काम गर्नुपर्ने हुन्छ । तर, तीमध्ये अधिकांश काम नर्सविना पूरा हुन सक्ने खालका छैनन् ।
महामारीले नर्स र अन्य स्वास्थ्यकर्मीले कसरी आफ्नो व्यक्तिगत सुरक्षालाई दाउमा राखेर सेवा गर्छन् भन्ने देखायो । तर, अहिले पनि समाजले नर्सलाई ‘दयाकी देवी’को प्रतीकमा संकुचित गर्ने गरेको छ । जबकि उनीहरू इमोसनल इन्टलिजेन्स (भावनात्मक बौद्धिकता) र जटिल समस्या समाधान क्षमता जोडेर उच्च सीपयुक्त पेसाकर्मी हुन् । उनीहरूले आफ्नो ड्युटी अवधिभर कैयौँ बिरामीलाई प्राथमिकता छुट्याएर सेवा दिइरहेका हुन्छन् ।
नर्सलाई कमजोर रूपमा प्रस्तुत गर्नुमा केही जड सांस्कृतिक विचारको भूमिका छ । अधिकांश नर्स महिला हुन्छन् । स्वास्थ्य प्रणालीमा न्यून दर्जा दिइएकाले सामान्यतया उनीहरूलाई स्वास्थ्य नीति बनाउँदा सोधपुछ पनि गरिँदैन, उच्चस्तरको नेतृत्वदायी पद दिने त परको कुरा । अहिले विश्व स्वास्थ्य संगठनले प्रमुख नर्सिङ अधिकारी पद निर्माण गरेर राम्रो उदाहरण पेस गरेको छ । अरू देशले पनि यसलाई अनुसरण गर्नुपर्छ । नर्सहरू आफैँले पनि आफ्नो पेसालाई नयाँ दृष्टिकोणबाट हेरिनुपर्ने वकालत गर्न थालेका छन् ।
नर्सहरूले कैयौँ कठिन अवस्थामा नेतृत्वदायी र नवीनता अवलम्बन गरेको उदाहरण छन् । पाकिस्तानकी सान्ना देशको नर्थ वेस्ट फ्रन्टियर क्षेत्रका दुर्गम स्थानमा बसोवास गर्ने मानिसको मानसिक रोगलाई टेलिमेडिसिनमार्फत सम्बोधन गरिरहेकी छिन् । घानाकी स्टेफन दुर्गम ठाउँका मस्तिष्कघातकी बिरामीलाई ह्वाट्सएप कलमार्फत न्युरोरिह्याबिलिटेसनको नयाँ प्ल्याटफर्म विकास गरिरहेकी छिन् । युगान्डाकी हेरियट उद्यामी नर्स–सुडेनी हुन् । उनको संस्थाले महामारीको समयमा अथक प्रयासमार्फत सुत्केरी किशोरीलाई सघाइरहेको छ ।
महामारीपछि स्वास्थ्य प्रणालीको पुनर्निर्माण गर्दा धेरै काम गर्नुपर्ने हुन्छ । तर, तीमध्ये अधिकांश काम नर्सविना पूरा हुन सक्ने खालका छैनन् । नर्सले विश्वभर आफ्नो पेसालाई नकारात्मक र कमजोर देखाउने विश्वासलाई तोड्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ । तर, यो काम तिनले एक्लै गर्न सक्दैनन् । सरकारले देशको हरेक तप्कामा स्वास्थ्य सुधारलाई अघि बढाउने हो भने नर्सिङ क्षेत्रमा लगानी गर्दै नर्सहरूलाई तिनको पूर्ण क्षमतामा काम गर्न सक्षम बनाउनुपर्छ । यसको अर्थ सम्पूर्ण जनसंख्यालाई सेवा दिने खालको स्वास्थ्य संरचना निर्माण र डेलिभरीमा नर्सको महत्वपूर्ण भूमिकालाई स्विकार्नु हो ।
नर्सिङ क्षेत्रका दिग्गजहरूलाई सबैजसो स्वास्थ्यसम्बन्धी नीति–निर्माण, योजना र व्यवस्थापन बोर्डमा सहभागी गराउनुपर्छ । तिनको विचार र अनुभवले स्वास्थ्य निर्णयलाई थप परिपक्व बनाउन सघाउँछ । नर्सले समाजलाई ठूलो सहयोग पुर्याइरहेका हुन्छन्, त्यसैले हामीले पनि तिनको सम्मान, सुरक्षा, उत्प्रेरणामा लगानी प्रत्याभूत गर्ने अग्रसरता लिनुपर्छ । यस सहयोगले मात्र तिनलाई पूर्ण क्षमतामा काम गर्न सहयोग पुर्याउँछ ।
(लेखकद्वय ‘नर्सिङ नाउ’ अभियानका पदाधिकारी हुन्)
अलजजिराबाट