दैनिक लामो समयको कामले अकालमै ज्यान लिन सक्छ : अध्ययन

सोमबार, १० जेठ, २०७८
डिजिटल संस्करण

दैनिक लामो समयको कामले वर्षैपिच्छे हजारौँ व्यक्तिको अकालमै ज्यान जाने गरेको एक अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले सार्वजनिक गरेको पछिल्लो अनुसन्धान प्रतिवेदनले यस्तो नयाँ तथ्य प्रकाशमा ल्याएको हो । 
पहिलोपटक विश्वव्यापी रूपमा गरिएको यस्तो खाले अनुसन्धानले सन् २०१६ मा दिनहुँ लामो समयसम्म काम गरेका कारण सात लाख ४५ हजारले ज्यान गुमाएको देखिएको छ । त्यसमा हृदयघात र ‘स्ट्रोक’बाट धेरैको मृत्यु भएको देखिएको छ ।

प्रतिवेदनले दक्षिणपूर्वी एसिया र पश्चिम प्यासिफिक क्षेत्रका मानिसहरू यो समस्याबाट बढी प्रभावित देखिएको जनाएको छ । प्रतिवेदनले कोरोना भाइरस (कोभिड–१९)का कारण यो समस्या थप बढ्न सक्नेतर्फ सचेत गराएको छ ।अनुसन्धानले दिएको तथ्यअनुसार सातामा ३५ देखि ४० घन्टा काम गर्नेहरूमा भन्दा ५५ घन्टा वा त्योभन्दा बढी समय काम गर्ने व्यक्तिमा स्ट्रोकका कारण मृत्यु हुने सम्भावना ३५ प्रतिशतले बढी देखिएको छ । यस्तै मुटुसम्बन्धी रोगबाट मृत्यु हुने सम्भावना १५ प्रतिशतले बढी हुनेछ ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले गरेको यो अनुसन्धानले दैनिक लामो समय काम गरेर अकालमै मृत्युवरण गरेकामध्ये युवा र वृद्ध/वृद्धा बढी छन् । यो अध्ययनले कोरोना भाइरस महामारीको अवधिलाई समेटेको छैन । यद्यपि, डब्लुएचओले कोरोना महामारी सुरु भएपछि दिनहुँ लामो समय काम गर्नुपर्दा हुने समस्या र जोखिम बढाएको जनाएको छ । ‘हामीसँग यस्ता केही प्रमाण छन्, जसले कोरोना महामारी सुरु भएपछि काम गर्नुपर्ने समय १० प्रतिशतले बढेको देखिएको छ’, डब्लुएचओका प्राविधिक अधिकृत फ्राङ्क पेगाले भने ।

अध्ययनअनुसार कामसँग सम्बन्धित कुल मृत्युको तीन भागको एक भाग मृत्यु लामो समय काम गरेका कारण भएको छ । अनुसन्धानकर्ताहरूका अनुसार दैनिक लामो समय काम गर्दा मृत्युनजिक पुर्याउने दुई कारण छन् ।पहिलो कारण तनाव वा त्यसले पार्ने मानसिक असर हो । दोस्रो कारण भने नियमित लामो समय काम गर्दा धुम्रपान र मादक पदार्थको सेवन, कम सुताइ, शारीरिक व्यायाममा कमी, अस्वस्थ्यकर खानेकुराजस्ता स्वास्थ्यलाई असर गर्ने व्यहार अपनाउनु हो ।

डब्लुएचओका अनुसार कोरोना महामारी सुरु हुनुअघि नै दैनिक लामो समय काम गर्नेहरूको संख्यामा वृद्धि भएको छ । उसका अनुसार विश्वको कुल जनसंख्याको ९ प्रतिशतले दैनिक लामो समय काम गर्ने गरेका छन् ।

सुझावित समाचार