चीनप्रति अमेरिकाको दुस्मनीले के बताउँछ ?

चीनविरोधी भाष्यले अमेरिकी राजनीतिमा ठूलै स्थान पाउन थालेको छ

सोमबार, १० जेठ, २०७८
डिजिटल संस्करण

गत महिना अमेरिकी सिनेटको विदेश सम्बन्ध समितिले आधिकारीक रूपमा स्ट्रयाटेजिक कम्पिटिसन एक्ट अफ २०२१ अघि बढायो । यो कानुनले चीनलाई व्यापार, प्रविधि तथा सुरक्षालगायत विभिन्न क्षेत्रमा रणनीतिक प्रतिस्पर्धी करार गर्छ । पछिल्लो समय अमेरिकी सिनेटमा दुई दलबीच सहयोग दुर्लभ भए पनि कंग्रेसबाट यो विधयेक पास हुने र राष्ट्रपति जो वाइडेनद्वारा प्रमाणीकरण हुन कठिनाइ छैन । योसँगै, चीनप्रति अमेरिकाको दुस्मनी कानुनी तवरमा प्रभावकारी रूपले प्रतिस्थापित हुनेछ ।

यो रणनीतिक प्रतिस्पर्धा कानुनको उद्देश्य चीनले अनुचित आर्थिक लाभ तथा आफ्नो राजनीतिक एवं रणनीतिक अभीष्टमा अन्य मुलुकको समर्थन प्राप्त गर्नमा सहारा लिने उसका ‘दूषित व्यवहारहरू’लाई उजागर गर्नु हो भनिएको छ । तर, वास्तवमा यो विधेयकले चीनका बारेमा भन्दा पनि अमेरिकी सोचकै बारेमा बढी बताउँछ ।

पहिले, अमेरिका चीनको आर्थिक विकासले आकर्षक अवसरहरू प्रदान गर्ने भन्दै उदार दृष्टिकोण राख्ने गथ्र्याे । आर्थिक तथा राजनीतिक महाशक्तिका रूपमा चीनको उदयमा समेत पूर्वअमेरिकी प्रशासन चीनलाई प्रतिस्पर्धीभन्दा पनि रणनीतिक साझेदारकै रूपमा लिन्थे । तर, पछिल्ला केही वर्षदेखि अमेरिकी राजनीतिको मूलधारले चीनलाई रणनीतिक प्रतिस्पर्धीका रूपमा हेर्ने र सहकार्यभन्दा पनि टकराव रोज्ने क्रम बढ्दो छ । 

विडम्बना, यो समस्याको जरा विचारधारागत चरम धु्रवीकरणमा गढेको छ । यसले आजको भूमण्डलीकरण तथा डिजिटलाइजेसनको युगमा संरचनात्मक रूपान्तरणको सामाजिक लागतलाई न्यूनतम बनाउने एवं शासनलाई प्रभावकारी बनाउने अमेरिकी राजनीतिक नेतृत्वको क्षमतालाई नै कमजोर बनाएको छ ।

जसले सामाजिक तनाव तथा निराशालाई मलजल गर्दा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको अमेरिका फस्टको लोकप्रियतावादी अभियानका निम्ति उर्वर भूमि तयार हुन पुग्यो । चीनको बदख्वाइँ ट्रम्पको चुनावी अपिलको केन्द्रमा थियो । तर, चीनले भने संरचनागत परिवर्तनको लागत कम गर्न आर्थिक भूमण्डलीकरणको जोखिमलाई विवेकपूर्ण ढंगले व्यवस्थापन गर्यो ।

पछिल्ला केही वर्षदेखि अमेरिकी राजनीतिको मूलधारले चीनलाई रणनीतिक प्रतिस्पर्धीका रूपमा हेर्ने र सहकार्यभन्दा पनि टकराव रोज्ने क्रम बढ्दो छ  

चीनविरोधी भाष्यले अमेरिकी राजनीतिमा ठूलै स्थान पाउन थालेको छ । दुर्भाग्यवश, अमेरिकीहरू यस्तो अवधारणामा सहमत भइरहेका छन्, जसले उनीहरूको भलाइभन्दा धेरै नोक्सानी गरिरहेको छ । अमेरिका भूमण्डलीकरण र प्रविधिगत प्रगतिबाट कसरी लाभ लिने र यससँग सम्बन्धित संरचनागत अवरोधका जोखिमलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा केन्द्रित हुनपथ्र्याे । यसका लागि खुला व्यापार तथा आर्थिक खुलापन अँगाल्दै चीनसँगको सहयोग एवं सहकार्यलाई प्रभावकारी बनाउनु ज्यादै उपयोगी हुन्छ ।

 पूर्वअमेरिकी गृहमन्त्री हेनरी किसिंगर विश्वव्यापी शान्ति तथा समृद्धिका लागि चीन–अमेरिकाबीच सकारात्मक द्विपक्षीय सहकार्यको सम्बन्ध अत्यावश्यक भएको धारणा राख्छन् । उनले गत मार्चमा बेइजिङमा आयोजित चीन विकास मञ्चको विशेष सत्रमा यस्तो विचार प्रकट गरेका थिए ।

किसिंगर अहिलेका कुनै पनि अमेरिकीभन्दा राम्रोसँग अमेरिका–चीन सम्बन्धको महत्व बुझेका व्यक्ति हुन् । ५० वर्षअघि बेइजिङसँग कूटनीतिक सम्बन्ध स्थापित गराउनमा उनको भूमिका छ । किसिंगरका अनुसार यी दुई ठूला मुलुकको फरक ऐतिहासिक र सांस्कृतिक भिन्नताले पनि धारणामा भिन्नता स्वाभाविक हो । यसैले चीन–अमेरिका सम्बन्ध निर्माण कठिन काम हो ।

आधुनिक प्रविधि, विश्वव्यापी सञ्चार तथा अर्थिक विश्वव्यापीकरणले पनि चीन–अमेरिकालाई सहमतिमा पुग्न थप कठिन बनाएको छ । किसिंगरले दुई मुलुकबीचको सम्बन्धमा आधुनिक प्रविधिलाई मुख्य चुनौतीका रूपमा लिनु सही हो । विगतमा धेरै हदसम्म एकाध प्रभुत्वशाली मिडियाले नै लोकप्रिय भाष्य निर्माण गर्थे, बाँकी सापेक्षिक रूपले तटस्थ रहन्थे ।

राजनीतिज्ञहरूले आमसमुदायमा पस्कने तथ्यमा लगभग समानता हुन्थ्यो । जसले तटस्थ मतदातालाई आफूप्रति आकर्षित गर्न सक्थ्यो उसकै जित हुन्थ्यो । तर, आधुनिक प्रविधिले मिडियाको स्वरूपलाई नै परिवर्तन गरिदिएको छ । मिडियाको बाचडगको परम्परागत छविलाई प्रविधिले खारेज गरिदिएको छ ।

गलत, भ्रामक र अन्य अविश्वसनीय सूचना तत्कालै ठूलो संख्याका पाठक, स्रोताबीच प्रवाहित हुन सक्ने भएको छ । समर्थकलाई मात्रै लक्षित गरेर आफ्ना धारणा प्रवाहित गर्न र विरोधीहरूलाई त्यसबाट टाढै राख्न सकिने भएको छ । प्रविधिले व्यक्तिको रुचिअनुसार सूचना वा विचारको प्रवाहको प्रवृत्तिलाई मलजल गरेको छ । जसका कारण प्रतिस्पर्धाका रणनीतिहरू फेरिएका छन् ।

यस्तो वातावरणमा तटस्थ रिपोर्टिङले आग्रही वा उत्तेजक रिपोर्टिङले जति मानिसको ध्यान आकृष्ट गराउन सक्दैन । विशेषगरी, आग्रही वा उत्तेजक रिपोर्टिङलाई समूह विशेषमा लक्षित गरिएको खण्डमा त त्यसले निकै ठूलो प्रभाव पार्न सक्छ । यसरी सामान्य तथ्य स्थापित गर्ने मिडियाको भूमिका किनारीकृत हँुदै गएको छ । र, योसँगै तटस्थ मतदातालाई आकर्षित गर्ने नयाँ रणनीतिहरू स्थापित हुँदै गएका छन् । र, चीनविरोधी भाष्य पनि यस्तै रणनीति हो । 
(जुन फुदान विश्वविद्यालय, स्कुल अफ इकोनोमिक्सका डिन हुन्)प्रोजेक्ट सिन्डिकेटबाट
 

See More On

सुझावित समाचार