स्विट्जरल्यान्डद्वारा ९४ करोडबराबरका स्वास्थ्य सामग्री सहयोग

शनिबार, ८ जेठ, २०७८
डिजिटल संस्करण

नेपाललाई कोभिड १९ को महामारीविरुद्ध लडाइँमा सहयोग गर्न स्विट्जरल्यान्डले ९४ करोड रुपैयाँ बराबरका स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । जेनेभाबाट स्वास्थ्य सामग्री बोकेको विशेष कार्गो विमान शनिबार काठमाडौंमा अवतरण गरेको छ । स्विस राजदूत एलिजावेथ भोन क्यापेलरले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा  स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी छिन् । 

स्विस दूतावासका अनुसार विनाशकारी कोभिड–१९ संकटसँग लड्न अत्यावश्यक स्वास्थ्य सामग्रीबारे नेपालले गरेको आग्रहमा स्विट्जरल्यान्डले सहयोग उपलब्ध गराएको हो । कुल तीस टन तौल, अमेरिकी डलर ८० लाख (नेपाली रुपैयाँ झन्डै ९४ करोड) बराबरको स्वास्थ्य सामग्रीमा ४० भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, ११ लाख र्यापिड एण्टिजेन टेस्ट साथै एक लाख १० हजार केएन ९५ मास्क, ५० हजार पन्जा र १५ हजार पिपिई छन् । 

भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर र सुरक्षा उपकरणले नेपालका विभिन्न अस्पतालले प्रदान गर्ने सेवालाई थप प्रभावकारी बनाउने स्विस सरकारले अपेक्षा व्यक्त गरेको छ । यसैगरी उपलब्ध एन्टिजेन परीक्षणले द्रुत स्वास्थ्य परीक्षण, सामुदायिकस्तरमा निगरानी र बिरामीहरूको शीघ्र आइसोलेसनलाई सहज बनाउँदै भाइरसको फैलावटलाई अनुगमन र नियन्त्रण गर्न सघाउ पुर्याउने अपेक्षा स्विस सरकारले गरेको छ  । 

हालसम्म, स्विट्जरल्यान्डले नेपालमा कोभिड–१९ महामारी सम्बाेधनका लागि कुल अमेरिकी डलर दुई करोड (नेपाली रुपैयाँ झन्डै दुई अर्ब ३४ करोड) उपलब्ध गराएको छ । सहयोगप्रति स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले स्विस सरकारलाई धन्यवाद दिएका छन् ।  ‘स्विट्जरल्यान्ड कोभिड–१९ महामारी विरुद्धको लडाइँमा नेपाल र नेपालीहरूसँग ऐक्यबद्धतामा उभिन्छ । यी अत्यावश्यक स्वास्थ्य सामग्रीले मानिसहरूको ज्यान बचाउँछ र महामारी नियन्त्रण गर्न र रोक्न नेपाल सरकारलाई थप सघाउ पुर्याउनेछ,’  नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत क्यापेलरले भनेकी छिन् । 

स्विस दूतावासका अनुसार हाल पठाइएको अत्यावश्यक स्वास्थ्य सामग्री नेपालमा स्विट्जरल्यान्डले अप्रिल २०२० मा सुरु गरेकोमा कोभिड–१९ विरुद्धको बृहत्तर सम्बोधनको एक भाग हो । यसअन्तर्गत हालसम्म ७० हजार रोच  पिसिआर परीक्षण टेस्ट किट र दुईवटा पिसिआर उपकरण हस्तान्तरण भइसकेका छन्, र प्रदेश १ का दुई अस्पतालमा स्वास्थ्यजन्य फोहाेरको सुरक्षित व्यवस्थापन प्रणाली र स्वच्छ खानेपानी प्रणालीको स्थापना भइसकेका छन् ।

स्विट्जरल्यान्डले कृषक परिवारलाई बिउलगायतका महत्त्वपूर्ण कृषि सामग्री उपलब्ध गराउन स्थानीय व्यापारीहरूलाई परिचालन गर्ने कार्यक्रम पनि स्थापना गरेको छ । यसले आफ्ना  विद्यमान परियोजनाहरूलाई कोभिड–१९ महामारीको समयमा पनि सेवाहरूलाई निरन्तरता दिने गरी परिमार्जन गरेको छ र वैदेशिक रोजगारीका गन्तव्य मुलुकमा रोजगारी गुमाएर अलपत्र परेका आप्रवासी कामदारहरूलाई आवास, खाना, स्वास्थ्य सहायता, कानुनी परामर्श र स्वदेश फिर्तीका लागि सहायता उपलब्ध गराउँदै आएको छ । 

सुझावित समाचार