डेढ महिनाअघि मात्रै बंगलादेश र किर्गिस्तानको यु–२३ टोली सहभागी थ्री नेसन्सकप जितेको नेपाली टोलीका १३ खेलाडी टोलीमा परेनन् । यो कुनै पनि टोलीका लागि आमूल परिवर्तन हो ।
नेपाली राष्ट्रिय फुटबल टोलीमा युवा खेलाडीको बाहुल्यतालाई मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको ठूलो सफलताको सुरुवात दाबी गरेका छन् । नेपाली टोलीको जिम्मेवारी सम्हालेपछि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा रहेका यी कुवेती प्रशिक्षकले धेरैलाई आश्चर्यमा पार्दै नयाँ खेलाडीको बाहुल्यतामा टोलीको घोषणा गरेका छन् ।
आश्चर्य यसकारणले कि डेढ महिनाअघि मात्रै बंगलादेश र किर्गिस्तानको यु–२३ टोली सहभागी थ्री नेसन्सकप जितेको नेपाली टोलीका १३ खेलाडी उनको टोलीमा परेनन् । यो कुनै पनि टोलीका लागि आमूल परिवर्तन हो । ती १३ खेलाडीमध्ये अधिकांश पहिलो रोजाइमै खेलेका खेलाडी रहे । युवा खेलाडीलाई समावेश गर्दै उनले तय गरेको यो टोलीले १५ जेठमा इराकसँग उसकै घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्दै छ । सन् २००७ मा एसियाली फुटबल महासंघ (एएफसी) एसियाकप जितेको इराक फिफा विश्वकप खेलिसकेको टोली हो ।
नेपालको खेल
इराकविरुद्ध मैत्रीपूर्ण खेल
मिति : १५ जेठ, बस्रा रंगशाला, इराकविश्वकप २०२२ र एसियाकप २०२३ को छनोट खेल
चाइनिज ताइपेविरुद्ध
२० जेठ, अल कुवेत स्पोर्स्टस् क्लब स्टेडियम
जोर्डनविरुद्ध
२४ जेठ, अल कुवेत स्पोर्स्टस् क्लब स्टेडियमअस्ट्रेलियाविरुद्ध
२८ जेठ, अल कुवेत स्पोर्स्टस् क्लब स्टेडियम
इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली फिफा विश्वकप २०२२ र एसियाकप २०२३ को दोस्रो चरणको छनोटको बाँकी खेल खेल्न कुवेत पुग्नेछ । कुवेतमा नेपालले चाइनिज ताइपेई, जोर्डन र अस्ट्रेलियासँग खेल्नेछ । यो महत्वपूर्ण प्रतिस्पर्धा र बलिया प्रतिद्वन्द्वीविरुद्ध प्रशिक्षक अलमुताइरीले तयार पारेको खेलाडीले कस्तो प्रदर्शन गर्ला ? त्यसको प्रतीक्षा छ ।
प्रशिक्षक अलमुताइरीले भने यसलाई नयाँ सुरुवात भनेका छन् । ‘मैले टोलीको घोषणा गरेपछि धेरैले विभिन्न प्रतिक्रिया दिएका छन् । धेरैले त यो टोलीले हार्छ भनेका छन् । तर, एकपटक इतिहास हेर्नुस् त । हामीले कति खेल जितेका छौँ,’ बिहीबार पत्रकारहरूसँग उनले भने, ‘मेरा लागि अहिले नेपाली टोली अस्टे«लियासँग पराजित हुनु नौलो कुरा हुनेछैन । पछिल्लोपटक अस्ट्रेलियासँग ५–० ले पराजित हुँदा नेपाली खेलाडीको औसत उमेर ३१ वर्ष थियो । फेरि यही टोलीलाई निरन्तता दिने हो भने अर्काे खेलमा हाम्रो नतिजा के होला ? अहिले मैले छानेको खेलाडीको औसत उमेर २३ वर्ष छ । यो टोलीले अहिले भएन भने पनि दुई वर्षपछि सफलता दिनेछ । यो नयाँ सुरुवात हो ।’
उनले खेलाडी छनोटबारे धेरै आलोचना नगर्न पनि अनुरोध गरे । ‘धेरैले त्यो खेलाडी किन टोलीमा छैन, अर्काे खेलाडी किन परेन भनेको सुनेको छु’, उनले भने, ‘तपाईंहरूले त्यसो भन्दा आफ्नै खेलाडीबीचमा भेदभाव ल्याउने काम गर्नुभएको छ । यसले खेलाडीहरूलाई राम्रो गर्दैन । सबै खेलाडी उत्तिकै क्षमतावान् छन् । उनीहरूलाई सहयोग गर्नुहोस् ।’
उनले प्रतियोगिताका लागि सबै खेलाडीले उत्तिकै मिहिनेत गरिरहेको बताए । नेपाली टोलीले मैत्रीपूर्ण खेल र विश्वकप तथा एसियाकप छनोटको खेलका लागि नियमित तयारी गरिरहेको छ । प्रशिक्षक अल्मुतइरीका अनुसार नेपाली खेलाडीले मैदानमा मात्रै होइन, मैदानबाहिर पनि उत्तिकै मिहिनेत गरिरहेका छन् । खेलाडीहरू आफैँले खेलको मूल्यांकन गर्ने र योजना बाउनेजस्ता काममा मिहिनेत गरिरहेको उनले जनाए । नेपाली टोली मैत्रीपूर्ण खेलका लागि यही मंगलबार इराकतर्फ प्रस्थान गर्नेछ । त्यससँगै नेपाली टोली विश्वकप ०२२ र एफएफसी एसियनकपको छनोट खेल खेल्न कुवेततर्फ प्रस्थान गर्नेछ ।
‘सबै खेलाडी सक्षम छन्, उनीहरूलाई उत्साहित गर्नुहोस्’ : अब्दुल्लाह अलमुताइरी, मुख्य प्रशिक्षक, नेपाली टोली
प्रतियोगिताका लागि तयारी राम्रो भइरहेको छ । एनएसएलपछि खेलाडी धेरै नै थाकेका छन् । खेलाडी ‘रिकभर’ हुन समय लाग्नेछ । आशा छ कि विश्वकप छनोटअघि खेलाडीहरू फिट भइसक्नेछन् ।
मलाई धेरैले यो खेलाडी किन छैन, त्यो खेलाडी किन परेन भनेर सोधिरहेका छन् । त्यसमध्ये रवि पासवानको बारेमा धेरैले सोधेका छन् । तर, उनलाई क्रस कसरी गर्ने भनेर कसैले सिकाएको छ ? छैन । उनलाई बल लिएर अघि बढ्ने भन्ने मात्रै सिकाएको छ । ऊ बल लिएर अघि बढ्छ, तर त्यसपछि उसले के गर्छ ? उसैलाई थाहा छैन । अहिले उसले धेरै कुरा सिक्दै छ ।
हामीसँग धेरै राम्रा खेलाडी छन् । तर, उनीहरूलाई अहिले आफू कहाँ छु । कसरी खेल्नुपर्छ भनेर थाहा छैन । अहिले उनीहरूले त्यसको समीक्षा गर्न थालेका छन् । उनीहरूले अहिले निकै कडा मिहिनेत गरिरहेको देखेको छु । धेरैले काठमाडौं रेजर्सका खेलाडी लिएन भनिरहेका छन् । मसँग काठमाडौं रेजर्ससँग कुनै दुस्मनी छैन । म उनीहरूलाई सम्मान गर्छु ।
तर, मैले काठमाडौंबाट किन खेलाडी छनोट गरिनँ भनेर सत्य कुरा भन्छु । विकेश कुथु धेरै थकित छन् । यस्तो समय उनलाई लिने हो भने उनले अनावश्यक गल्ती गर्न सक्छन् । तेज तामाङले हातको औँला भाँचेका छन् । यस्तो अवस्थामा उनलाई टोलीमा लिँदा थप कुनै क्षति भयो भने ? यस्तै, संजोगसँग लिगामेन्टको समस्या छ । यदि, उनले एक महिनासम्म यसरी नै खेल्ने हो भने त्यसपछि भविष्यमा फेरि फुटबल खेल्न सक्दैनन् । उनलाई अहिले आराम चाहिएको छ ।
अर्का खेलाडी हुन्, मेरो ‘फेभरेट’ लेफ्ट ब्याक विश्वास श्रेष्ठ । यदि, तपाईंले विराटनगर र काठमाडौंबीचको खेल हेर्नुभयो भने ५०औँ मिनेटमा विराटनगरका प्रशिक्षकले उनलाई बल दिएका छन् । तर, उसले प्रशिक्षकतर्फ नै बल फ्याँके र प्रशिक्षक उभिएकै मुनि रहेको पानीको बोतल टिपे । त्यसपछि मैले उनलाई कारबाही गर्छु भनेको थिएँ । यदि कसैले गल्ती गर्छ भने उसले त्यसको सजायँ पाउनुपर्छ । यो सबैका लागि स्पष्ट हुनुपर्छ । तपाईंले नेपालका लागि खेल्ने हो ।
नेपाललाई प्रतिनिधित्व गर्ने हो । त्यसबाहेक अरू कुराको ख्याल गर्दिनँ । ललितपुरका रक्षक निरज बस्नेतलाई पनि मैले भनेको छु कि यदि तिमी वार्मअपको समय गम्भीर बन्न सकेनौ भने कहिल्यै बन्न सक्दैनौ । त्यसैले आगामी जुलाईसम्म परिवर्तन भएर देखाउनुपर्छ भनेको छु । जुलाईमा फेरि भेट हुँदा जो पनि आउनेछन् उनीहरू सबैले यो नियम थाहा पाउनुपर्नेछ । त्यसैले कृपया खेलाडीलाई समर्थन गर्नुहोस् । तीन महिना कुर्नुहोस् । मलाई त्योभन्दा बढी समय चाहिँदैन । त्यसपछि प्रतिक्रिया दिनुहोला ।