बजेटमा विशेष प्याकेजको व्यवस्था गर्न घरेलु, साना तथा मझौला उद्योगीको सरकारसँग माग

बिहिबार, ६ जेठ, २०७८
डिजिटल संस्करण

घरेलु, साना तथा मझौला उद्योगीहरूले व्यवसाय पुनरुत्थानका लागि आगामी आर्थिक वर्षको बजेटमा विशेष प्याकेजको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । 

कोभिड– १९ संक्रमणको पहिलो लहरको क्रममा नै लामो समयसम्मको बन्दाबन्दीका कारण मर्कामा परेको व्यवसाय पुरानै लयमा फर्कन नपाउँदै दोस्रो लहरमा गरिएको बन्दाबन्दीले थला परेको भन्दै निरन्तरताका लागि सरकारले विशेष प्याकेज घोषणा गर्नुपर्ने माग उनीहरूले गरेका छन् ।

देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको घरेलु तथा साना र मझौला उद्योगीहरू  कोभिड– १९ महामारीको चपेटामा परेको भन्दै उद्योगीहरूले प्राथमिकताका साथ आफूहरूको समस्या सम्बोधन गर्न सरकारसँग माग गरेका छन् ।

साना तथा मझौला व्यवसायी महासंघ नेपालका प्रथम उपाध्यक्ष इनु पौडेलले ०७६ चै देखि नै साना तथा मझौला व्यवसायी मारमा परेकाले शून्यको अवस्थाबाट व्यवसाय सुरु गर्नुपर्ने अवस्थामा पुगेको व्यवसाय पुनरुत्थानका लागि विशेष प्याकेजको व्यवस्था गर्नुपर्ने बताइन्  । 

अल्पविकसित एवं अविकसित मुलुकहरूको अर्थतन्त्राई चलायमान बनाउने मूल आधार नै साना तथा मझौला उद्योगहरूको भएको र विश्वभर यस्ता उद्योगलाई प्राथमिकतामा राख्ने गरिएको भन्दै उनले नेपाल सरकारले पनि प्राथमिकतामा राखेर बजेट तर्जुमा गर्नुपर्ने बताइन्  ।

आन्तरिक राजस्व विभागले अनलाई कर तिर्ने व्यवस्था रहेकाले कर तिर्नलाई समस्या नभएको भन्ने गरेको भन्दै उनले व्यवसाय नै ठप्प भएका वेला कर तिर्न नसकिने बताए । उनले कोभिड– १९ संक्रमणको जोखिम घटेर बजार सामान्य बनेपछि करलगायतका शुल्क तिर्ने गरी सरकारले व्यवस्थापन गर्नुपर्नेमा जोड दिइन् । 

सुझावित समाचार