प्रधानमन्त्रीको हेलचेक्र्याइँले हजारौँ नागरिकको ज्यान जाने अवस्था सिर्जना भयो : कांग्रेस

बुधबार, ५ जेठ, २०७८
डिजिटल संस्करण

प्रमुख प्रतिपक्षी दल कांग्रेसले कोरोना महामारीप्रति प्रधानमन्त्री केपी ओलीको हेलचेक्र्याइँका कारण हजारौँ नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भएको आरोप लगाएको छ । बुधबार बसेको कांग्रेसको संसदीय दल कार्यसमिति बैठकले प्रधानमन्त्री ओलीको गलत धारणा र हेलचेक्र्याइँका कारण हजारौँ नेपाली दिवंगत हुनुपरेको र लाखौँ नेपालीको स्वास्थ्य जोखिममा परेको भन्दै राज्यको सम्पूर्ण स्रोतसाधन र शक्ति कोरोना रोकथाम, नियन्त्रण र जनताको जीवनरक्षाका लागि केन्द्रीकृत गर्न माग गरेको हो । 

‘प्रधानमन्त्री केपी ओलीजीले यो शताब्दीकै ठूलो महामारीबारे सुरुवातदेखि नै गलत धारणा बनाउनुभयो । महामारीको नियन्त्रण र आमनागरिकको जीवनरक्षाका लागि गम्भीर र संवेदनशील बन्नुभएन । हामीसँग पर्याप्त समय थियो, तर सरकारले त्यसको पूर्वतयारी गर्न सकेन,’ बैठकपछि प्रमुख सचेतक बालकृष्ण खाणले नयाँ पत्रिकासँग भने, ‘प्रधानमन्त्री आफैँ नेपालीको रोगप्रतिरोधात्मक शक्ति धेरै छ, कोरोनाले केही गर्न सक्दैन भन्ने हिँड्नुभयो । अहिले फेरि उहाँ नै मैले भनेजस्तो होइन रहेछ भन्दै हिँड्नुभा’छ । यो सबै उहाँकै कमजोरीका कारण भएको हो ।’

बैठकले अहिलेका लागि जनताको जीवनरक्षा गर्नु राज्यको पहिलो दायित्व भएकाले राज्यको सम्पूर्ण शक्ति जनताको जीवनरक्षाका निमित्त खर्च गर्नुपर्ने ठहर गरेको प्रमुख सचेतक खाणले बताए । ‘सरकारले वेलैमा पूर्वतयारी गर्न चाहेन, गरेन । अहिले न स्वास्थ्य सामग्री छ, न औपधि उपकरण । नागरिकले समयमै भ्याक्सिन पाएनन्,’ उनले भने, ‘त्यसकारणले पनि जनताले क्षति व्यहोर्नुपरेको छ ।’ 

कांग्रेसले सबै प्रदेशमा संक्रमितहरूको उपचारका लागि भेन्टिलेटर, आइसियूसहितको व्यवस्थित अस्थायी कोभिड अस्पतालहरू बनाउन माग गरेको छ । ‘कोरोना सहरमा मात्रै होइन, दूरदराजमा पुगिसकेको छ, त्यसैले अब सरकारले कोरोना नियन्त्रणलाई नै पूर्ण प्राथमिकतामा राखेर काम गरोस् भन्ने हाम्रो ठहर छ,’ उनले भने । 

कांग्रेसले औषधि, स्वास्थ्य उपकरण र भ्याक्सिन खरिदमा अनियमितता भएका समाचारहरू आएको भन्दै ती प्रकरणमा गहिरो छानबिन गरी दोषीलाई कारबाहीको व्यवस्था गर्न माग गरेको छ । यस्तै, फ्रन्टलाइनरहरूका लागि उचित सुरक्षा र आवश्यक सुविधाको व्यवस्था गर्न, निषेधाज्ञाका कारण किसान र मजदुर वर्गमा परेको असरलाई मध्यनजर गर्दै राहतका कार्यक्रम तुरुन्त ल्याउन माग गरेको छ ।

सुझावित समाचार