रसुवामा १३ जेठसम्म निषेधाज्ञा लम्बियो

सोमबार, ३ जेठ, २०७८
डिजिटल संस्करण

रसुवामा १० दिनका लागि निषेधाज्ञा थपिएको छ । जिल्लास्तरीय कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को सोमबार बसेको बैठकले १३ जेठसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । 
 
जिल्लामा कोरोना संक्रमण तीव्र रूपमा बढ्दै गइरहेकाले समुदायस्तरमा संक्रमणको दर न्यूनीकरणका लागि १३ जेठको राति १२ बजेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले बताए । 

यसअघि कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि गत १७ वैशाखको राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको थियो । 

निषेधाज्ञाको समयमा खाद्यवस्तु तथा पशुपछीका दाना, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दुग्ध डेरीजन्य, माछा, मासु, पानी, निर्माण सामग्रीलगायतका अत्यावश्यक पसल व्यवसाय बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र सञ्चालन गर्न दिइएको छ । औषधि एवं स्वास्थ्य सामग्रीका पसल भने २४सै घन्टा खुला रहेका छन् । 

निषेधाज्ञाको उल्लंघन गर्ने, आदेश पालना गर्ने कार्यमा अवरोध गर्ने, औषधि, औषधिजन्य सामग्री, अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने, लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्ने–गराउने कार्य गरेमा स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही हुनेसमेत जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । 
 

सुझावित समाचार