कोरोना संक्रमित र मृत्युदर बढिरहेको वेला निषेधाज्ञा अवज्ञा गर्दै पोखरीमा स्तम्भ गाडेको हेर्न स्थानीय बासिन्दाको भिड लागेको छ ।
सप्तरीको सुरुंगा नगरपालिका– १० सिसवामा बिहीबार पोखरीको मध्यभागमा काठको स्तम्भ (जाइठ) राखेको हेर्न निषेधाज्ञालाई धज्जी उडाउँदै गाउँभरिका मानिस भेला भएका छन् ।
कोरोना संक्रमणको दोस्रो लहरले जिल्लामा ६ सयजना संक्रमित र १३ जनाको मृत्यु भइसकेको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेल स्वयं अक्सिजनको सिलिन्डर संकलन गर्न जिल्लाका विभिन्न ग्रिल उद्योगमा खटिएका छन्, तर पोखरीमा स्तम्भ राख्ने नाममा सयौँका संख्यामा स्थानीय जम्मा भएका छन् ।
सिसवाका नथुनी यादवले ४१ वर्षअघि गाउँमै खनाएको पोखरीको मध्यभागमा काठको स्तम्भ (जाइठ) राख्न बिहीबारको तिथि तय गरेका थिए । पूजापाठ गरी पोखरीमा स्तम्भ राख्ने वेलामा उनका नाताकुटुम्ब र गाउँका पूरै बस्ती पोखरीको डिलमा ओइरिएका थिए ।
बिहीबार बिहानबाट सुरु भएको यो प्रक्रिया जारी नै रहेको छ । स्तम्भ राखिएपछि नथुनी यादवले आफ्नो घरमा बृहत् भोजसमेत आयोजना गरेका छन् । यादव तत्कालीन टिकुलिया पञ्चायतको प्रधानपञ्चसमेत भएका थिए ।
इलाका प्रहरी कार्यालय कडोरवनाका प्रहरी निरीक्षक वीरेन्द्र पासवानले यस विषयमा जानकारी भएपछि रोक्नका लागि प्रहरी पठाएको बताए । तर, पोखरीमा पूजा अझै चलिरहेको र मानिसको भिड कायमै रहेको स्थानीयले जानकारी दिए ।
पोखरीमा स्तम्भ गाड्न लागेका नथुनी यादवले गाउँका सबैलाई आपूmले नबोलाए पनि गाउँले हेर्न आएको प्रतिक्रिया दिए । पूजापाठ सकेपछि भोजको समेत आयोजना गरिएको छ । उनले भने, ‘धेरै छैनन्, ४०–५० जनालाई भोजमा भन्या छु, केही अरू आइहाल्छन् ।’