आधुनिक लोकतन्त्रलाई कार्यान्वयन गर्ने दौरानमा राजनीतिक दलको उदय भएको हो । लोकतन्त्रको मुलभूत उद्देश्य आमजनताको सर्वोत्तम हित गर्नु हो । जनताको जीवन सहज र राष्ट्रको सार्वभौमसत्ता सबल बनाउन पार्टीहरू जनताको अभिमतबाट पलपलमा परीक्षित हुनुपर्छ । ती आमचुनाव, स्थानीय चुनाव, महाधिवेशन आदि हुन सक्छन् । चुनावहरू त लोकतन्त्रका आधारभूत प्रक्रिया मात्र हुन् । खासमा लोकमैत्री नेतृत्वले निर्वाचनपछि सबै तत्वलाई संयोजन गरेर राज्यको मिसनलाई पूरा गर्ने हो । तर, नेपालमा राजनीतिक दलहरू भित्री रूपमा जनमैत्री छैनन् । दलहरूबाट नेता चुन्ने प्रक्रिया जबसम्म पारदर्शी र लोकतान्त्रिक हुँदैन, तबसम्म नेपालले उत्कृष्ट नेतृत्व पाउँदैन । यहाँनेर उत्कृष्ट नेतृत्व भन्नाले इमानदार, संविधानको परिधिमा बसेर दिशानिर्देश गर्ने नेता बुझ्नुपर्छ । त्यसकारण दलहरूले आफ्नो नेतृत्व चुन्ने पद्धति निजी मामिला मात्र होइन, यो त बृहत्तर लोकतान्त्रिक प्रक्रियाबाट गुज्रिने प्रक्रिया हो । तब मात्र नेपालले राष्ट्रसुहाउँदो लिडरसिप विकास गर्न सक्छ ।
यो लेख लोकतन्त्रमा विश्वास राख्ने राजनीतिक दलहरूलाई कसरी जनमैत्री र अझ धेरै व्यवहारमा लोकतान्त्रिक बनाउन सकिन्छ भन्नेमा केन्द्रित छ । दलहरू समूल लोकतान्त्रिक नहुँदासम्म नेपालको समृद्धि सम्भव छैन । पार्टी भनेको समान राजनीतिक सोच र जनसेवाको उद्देश्य बोकेका व्यक्तिहरूको संगठन हो । त्यसकारण व्यक्तिको चरित्र र सोच राम्रो हुन सके मात्र राजनीतिक दलहरूले जनताको पक्षमा काम गर्न सक्छन् । ३० वर्षदेखि हामी प्रजातान्त्रिक अभ्यासमा रहँदा पनि नेपाल विकास हुन नसक्नुको मुख्य कारण दलहरूभित्रको कमजोर लोकतन्त्र हो । अलोकतान्त्रिक दलहरूबाट लोकतान्त्रिक संविधान कार्यान्वयन खै कसरी हुन्छ र समृद्ध नेपाल बन्छ ?
अबको हाम्रो कार्यभार भनेको प्रत्येक राजनीतिक दलहरूलाई लोकतान्त्रिक बनाउनु नै हो । राजनीतिक दलको विधान पनि देशको संविधानअनुसार प्रभावित हुनुपर्छ, तब मात्र जनता, दल र देश एउटै पंक्तिमा खडा भएको देखिन्छन् । एउटै स्वर गुन्जिन्छ । त्यसो हुँदा वैदेशिक हस्तक्षेपको पनि गुन्जाइस रहँदैन ।
कानुनको नजरमा गिरेका व्यक्ति राजनीतिक दलको कुनै पनि नेतृत्व तहमा बस्न पाउनुहुँदैन । लोकतन्त्रको सही अभ्यासले नै राजनीतिमा अपराधीकरण रोक्न सक्छ ।
हाम्रो संविधानले आवधिक निर्वाचनको सुनिश्चितता गरेको छ । त्यसकारण प्रत्येक राजनीतिक दलले आमनिर्वाचनभन्दा एक वर्षअगाडि नै संगठनको नेतृत्व चयन गरिसक्नुपर्छ । यसले राजनीतिक दलभित्रको नेतृत्व राष्ट्रिय आवश्यकताअनुसार कार्यकर्तामाझ माझिन्छन् र दलको लोकप्रिय नेतृत्व आमनिर्वाचनका लागि तयार हुन्छ । जनताको माग नसुन्ने, कानुन नमान्ने अक्षम व्यक्ति दलीय निर्वाचन प्रक्रियाबाट नै फिल्टर हुनेछन् । त्यसपछि आमनिर्वाचनले दलहरूबीचबाट पनि उत्कृष्ट नेतृत्व चयन गर्न सक्छ । हामीले वि.सं. ०४७ देखि ०७७ सम्मको ३० वर्ष उही बासी एवं अक्षम नेतृत्वलाई निरन्तर रूपमा सहन पर्नुको कारण नै हाम्रा दलहरूमा सदस्य वितरणको परम्परागत तौरतरिका हो, जसले गुणस्तरीय युवा नेतृत्व दलहरूमा आकर्षित हुन सकिरहेको छैन ।
राजनीतिक दलहरूले आ–आफ्नो विधानलाई धेरैभन्दा धेरै लोकतान्त्रिक बनाउनुको विकल्प लोकतान्त्रिक व्यवस्था भएको देशमा हुँदैन । राजनीतिक इतिहास हेर्दा समयक्रमसँगै अलोकतान्त्रिक दलहरूको पतन हुँदै गएको देखे, भोगेका छौँ । त्यसकारण राजनीतिक दलको नेतृत्व अधिकतम् कार्यकर्ताबाट प्रत्यक्ष निर्वाचित हुनुपर्छ । कानुनको नजरमा गिरेका व्यक्ति राजनीतिक दलको कुनै पनि नेतृत्व तहमा बस्न पाउनुहुँदैन । लोकतन्त्रको सही अभ्यासले नै राजनीतिमा अपराधीकरण रोक्न सक्छ ।
लोकतन्त्रलाई गहिरिएर दृष्टिगोचर गर्ने हो भने यसले प्रत्येक नागरिकको सबलतामा विश्वास गर्ने देख्न सकिन्छ । त्यसकारण भनिन्छ, अक्षम नागरिकले सबल कार्यकर्ता बन्न दिँदैन र भ्रष्ट कार्यकर्ताले उत्कृष्ट नेतृत्व चुन्न सक्दैन । र, अक्षम नेतृत्वले राष्ट्रलाई अधोगतितर्फ लैजान्छ । विद्यालयका विद्यार्थीहरूलाई संविधानका मर्म अनिवार्य रूपमा पढाउनुपर्छ, ताकि प्रत्येक नागरिकले लोकतान्त्रिक ज्ञान बालिग हुनअगावै बुझून् ।
दलहरूलाई बलियो बनाउन विद्यार्थीलाई सामाजिक तथा नैतिक शिक्षामार्फत राजनीतिक दलहरूका कार्य, आचरण, निर्वाचन पद्धति र संविधानको ज्ञान दिनु अनिवार्य छ । यसो गरियो भने विद्यालय, महाविद्यालयहरूमा कुनै पनि राजनीतिक दलको विद्यार्थी संगठन लोकतन्त्रका लागि आवश्यक रहँदैन ।
कानुनीराजका लागि सीपमूलक तालिम केन्द्र र महाविद्यालयहरूमा विषयगत कानुन पढाउनु उचित हुन्छ । पेसागत कानुन नेपालमा अझै बनिसकेका छैनन् । यस्ता कानुन बनाउने काम सरकार र व्यवस्थापिकाको हो । राजनीतिक दलहरूले आफ्नो स्तरीयता कायम गर्न सके भने मात्र देशबाट भ्रष्टाचार, अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूको चलखेल कम हुनेछ । इमानदारिताविनाको राजनीतिक नेतृत्वले नेपालको लोकतान्त्रिक मार्ग सशक्त बनाउन सक्दैन ।
[email protected]