कोरोनाको दोस्रो लहरबाट केही त सिकौँ

बिहिबार, ३० बैशाख, २०७८
डिजिटल संस्करण

स्वास्थ्य नीतिमा आमूल परिवर्तन ल्याउन सक्यौँ भने पक्कै नयाँ समाज निर्माणको दिशामा हामी एक पाइला अघि बढ्नेछौँ

कोभिड–१९ को उपचारमा हालसम्म तीन विधि निकै प्रभावकारी देखिएका छन् । पहिलो, डेक्सामेथासनको प्रयोग । दोस्रो, रगत पालतो बनाउने औषधि र तेस्रो, अक्सिजन सपोर्ट । (पछिल्लो समय के भन्न सकिन्छ भने अक्सिजन पनि कोभिडविरुद्धको एउटा औषधि नै हो) यसका साथै अन्य औषधिहरू, जस्तै– प्लाज्मा थेरापी, इवेरमेक्टिन र रेम्डिसिविर पनि बिरामीलाई निको पार्ने सन्दर्भमा सार्वभौम औषधि भने होइनन् । कोरोना संक्रमितका लागि अक्सिजन सपोर्ट आरम्भदेखि नै सबैद्वारा स्विकारिएको विधि हो । कोभिडका कुल बिरामीमध्ये १५ देखि २० प्रतिशत मात्रै अस्पताल भर्ना भइरहेका देखिन्छन् । र, त्यसमध्ये केहीलाई मात्रै अक्सिजन सपोर्टको आवश्यकता पर्छ । 

त्यसैले भारतमा जति वेला पहिलो लहरअन्तर्गत कोभिडका सक्रिय मामिला बढ्न थाले, त्यसपछि अक्सिजनको माग पनि बढ्न थाल्यो । फलस्वरूप स्वास्थ्य मन्त्रालयले एउटा विशेषज्ञ टोली बनायो र स्वास्थ्यको स्थायी संसदीय समितिमा यसबारे चर्चा गरियो । आवश्यकता परेमा यसले चिकित्सकीय अक्सिजनको माग बढेमा आपूर्ति बढाउनेबारे छलफल चलाइरहेको थियो, तर संक्रमणको दर नियन्त्रणभन्दा बाहिर नगएकाले त्यसको आवश्यकता परेन । तर, कोभिडको दोस्रो लहरमा स्थिति नियन्त्रणभन्दा बाहिर गयो । 

अहिलेको संकटबाट केही सिक्ने हो भने हामीले सरकारी स्वास्थ्य संयन्त्र, औषधि आपूर्ति र वितरणको प्रक्रियामा आमूल परिवर्तन गर्नुपर्ने हुन्छ । यसमा राज्यले लगानी बढाउनुपर्छ र आपूर्ति शृंखलालाई चुस्त बनाउन पहल लिनुपर्ने हुन्छ ।

यसको एउटा ठूलो कारण के हो भने कोरोनाको पहिलो लहरमा सक्रिय बिरामीको संख्या झन्डै १० लाख ५० हजार थियो, तर दोस्रो लहरमा यसको संख्या ३.५ प्रतिशतले बढ्यो । आज देशमा ३७ लाखभन्दा धेरै सक्रिय संक्रमित छन् । यसपटक अर्को के कुरा पनि देखियो भने पहिलेको तुलनामा यसपटक धेरै बिरामीलाई अक्सिजनको आवश्यकता पर्यो । अर्थात् संक्रमित बिरामीको संख्या पनि बढ्यो र अक्सिजन सपोर्टमा रहने बिरामीको संख्या पनि त्यही अनुपातमा बढ्न पुग्यो । फलस्वरूप चिकित्सकीय अक्सिजनको देशैभरि हाहाकार हुन पुग्यो । भारतमा अक्सिजनको पर्याप्त उत्पादन हुँदैन भन्ने होइन । दैनिक झन्डै आठ करोड मेट्रिकटन अक्सिजनको उत्पादन भइरहेको छ । कोभिड–१९ भन्दा अघिको कुरा गर्ने हो भने चिकित्सकीय क्षेत्रमा जम्मा ३० प्रतिशत मात्रै अक्सिजनको प्रयोग गर्ने गरिन्थ्यो । शेष औद्योगिक क्षेत्रमा खपत हुने गर्थ्यो ।

तर, अक्सिजनको माग बढेसँगै मुख्यतः दुई चुनौती सतहमा देखा परे । पहिलो, औद्योगिक अक्सिजन संयन्त्रलाई चिकित्सकीय अक्सिजन बनाउन विशेष तयारी र समयको आवश्यकता थियो । दोस्रो, देशको केही मात्रै राज्यमा अक्सिजनको उत्पादन हुने गर्छ । यस्तो वेलामा त्यहाँबाट अक्सिजन ल्याउन सम्बन्धित राज्यमा आवश्यक पर्याप्त टैंकर नै थिएनन् । निश्चय नै यस परिस्थितिसँग जुध्नका लागि हामीसँग पहिले नै कुनै योजना हुनुपर्ने थियो । तर, त्यस्तो हुन सकेन । 

महामारी राष्ट्रिय आपदा हो, त्यसैले यससँग जुध्ने रणनीति बनाउने काम केन्द्र सरकारको हो । त्यसैले उसले यस मामिलामा पहिले नै योजना बनाउनुपर्ने थियो र त्यसलाई कार्यान्वयनमा लैजानका लागि पहल लिनुपर्ने थियो । यति हुँदाहुँदै पनि राज्य सरकारहरू आफ्नो जिम्मेवारीबाट पन्छन भने मिल्दैन । आवश्यकताअनुसारको अक्सिजन उपलब्धताका लागि राज्य सरकारले राज्यमा बिरामी संख्या र सम्भावित आक्सिजनको मागबारे पहिले नै तथ्यांक राख्नुपर्ने हुन्छ । जुन–जुन राज्यमा संक्रमणको मामिला तुलनात्मक रूपमा कम देखियो, त्यहाँ अक्सिजनको आपूर्ति पनि त्यसै हिसाबले गरियो । तर, जुन राज्यमा बिरामीको संख्या बढी थियो, ती राज्यमा तथ्यांकको अभावमा पनि अक्सिजन पुर्याउन सकिएन ।

देशमा चिकित्सकीय अक्सिजनको अभावले अर्को तथ्यतर्फ पनि संकेत गर्छ । राज्य सरकारले बिरामीहरूको उपचार निःशुल्क रूपमा गरिएकोबारे जति नै भने पनि वास्तविकतामा उनीहरूले बिरामीका लागि सामान्य औषधि पनि उपलब्ध गराइरहेका हुँदैनन् । उनीहरूले न त औषधि पाइरहेका हुन्छन्, न राम्रो चिकित्सकीय परामर्श । देशैभरि सरकारी अस्पतालबाहिर निजी औषधि पसल हुने गर्छन् । त्यहाँ औषधि लिन मात्रै लामो लाइनमा बस्नुपर्ने अवस्था नै यसको प्रमाण हो । अक्सिजन पनि एउटा औषधि हो र सरकारी अस्पतालमा अक्सिजनको आपूर्तिमा पनि यो कुरा लागू हुन्छ । भलै निजी औषधि पसलमा अक्सिजनको व्यवस्था हुँदैन । यदि मानिसलाई सजिलै अक्सिजन उपलब्ध हुन्थ्यो भने यो विषय यति ठूलो मुद्दा बन्ने थिएन । हामी अहिलेको संकटबाट केही सिक्न चाहन्छौँ भने हामीले सरकारी स्वास्थ्य संयन्त्रमा, औषधि आपूर्ति र वितरणको प्रक्रियामा आमूल परिवर्तन गर्नुपर्ने हुन्छ । यसमा राज्यले लगानी बढाउनुपर्छ । आपूर्ति शृंखलालाई चुस्त बनाउन पहल लिनुपर्ने हुन्छ । साथै यससँग जोडिएका जनशक्तिलाई प्रशिक्षित गर्दै लानुपर्ने हुन्छ । यो सबै गर्न पहिले हामीसँग स्पष्ट नीति हुनुपर्छ । हामीले आफ्नो स्वास्थ्य नीतिमा आमूल परिवर्तन ल्याउन सक्यौँ भने पक्कै नयाँ समाज निर्माणको दिशामा हामी एक पाइला अघि बढ्नेछौँ ।

(लहारिया स्वास्थ्य विशेषज्ञ हुन्)
हिन्दुस्तानबाट

सुझावित समाचार