झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालले एक सय बेडको कोरोना अस्पाल सञ्चालन गरेको छ । अस्पतालमा चारवटा भेन्टिलेटर छन् । तर, महामारीले भयावह रूप लिँदा पनि भेन्टिलेटर सञ्चालन हुन सकेको छैन । जनशक्ति अभावमा अस्पतालले भएका भेन्टिलेटर सञ्चालन गर्न नसकेको हो । कोरोना संक्रमितले भेन्टिलेटर अभावमा ज्यान गुमाइरहेका छन् । तर, भएको भेन्टिलेटर पनि जनशक्ति नहुँदा सञ्चालनमा आउन सकेको छैन ।
अस्पतालका सूचना अधिकारी मनोज पोखरेलका अनुसार अस्पतालमा तीनवटा भेन्टिलेटर ‘ननकोभिड वार्ड’मा छन् । यी कहिलेकाहीँ सञ्चालन हुन्छन् । तर, यहाँ कोभिडका बिरामी राखिएको छैन । बाँकी एउटा भेन्टिलेटर जनशक्ति अभावमा सञ्चालनमा ल्याउन नसकिएको उनले बताए । ‘कोभिडका कारण अरू बिरामीलाई बेवास्ता गर्नुभएन । ननकोभिडको आइसियूमा तीनवटा छन् । त्यहाँ कोभिडका बिरामी राखेका छैनौँ,’ उनले भने, ‘कोभिडको एचडियूमा एउटा राखेका छौँ । जनशक्ति अभावमा पर्याप्त सञ्चालन गर्न सकेका छैनौँ । अरू दुईवटा पनि सञ्चालनमा ल्याउने तयारीमा छौँ । तर, जनशक्ति छैन ।’
भेन्टिलेटर अभाव हुँदा कोरोना संक्रमणका गम्भीर बिरामीलाई रेफर गर्नुपर्ने बाध्यता रहेको उनी बताउँछन् । सरकारी अस्पतालमा भएको सेवा पनि दिन नसक्दा कोरोना संक्रमितले लाखौँ तिरेर निजी अस्पतालमा उपचार गराइरहेका छन् । ‘भेन्टिलेटर अभाव हुँदा कतिपय बिरामी रेफर गर्नुपरेको छ,’ उनले भने, ‘निजीमा एक दिन बस्दा एक लाख रुपैयाँ हाराहारी बुझाउनुपर्छ । बिरामीलाई त मार परेकै छ ।’
उनका अनुसार प्रदेश सरकारलाई १२ जना नर्सिङ स्टाफ र १० जना डाक्टर पठाउन आग्रह गरिएको छ । त्यसमध्ये सातजना नर्सिङ स्टाफ पठाउने तयारी प्रदेश सरकारले गरिरहेको उनले बताए । ‘सातजना नर्सिङ स्टाफ आउँदा कोभिडको एचडियूको एउटा भेन्टिलेटर सञ्चालन गर्न सकिन्छ,’ उनले भने, ‘तर, अरू दुईवटा भेन्टिलेटर कोभिड अस्पतालमा चलाउन अझै जनशक्ति पुग्दैन ।’
अस्पतालले अरू दुईवटा भेन्टिलेटर पनि खरिद गरिसकेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पिताम्बर ठाकुरले बताए । तर, जनशक्ति नहुँदा कसरी सञ्चालन गर्ने भन्ने अन्योल रहेको उनको भनाइ छ । ‘थप दुईवटा भेन्टिलेटर ल्याएका छौँ । जडान भएको छैन । जडान गरे पनि चलाउन जनशक्ति छैन । मन्त्रालयलाई डाक्टर मागेका थियौँ । पठाएको छैन । भद्रपुर नगरपालिकाले पनि व्यवस्थापन गरिदिन्छु भनेको थियो, अहिलेसम्म छैन,’ उनले भने, ‘भेन्टिलेटर राखेपछि तयारी अवस्थामा डाक्टर, नर्स बस्नुपर्यो । हामीले चलाउने प्रयत्न त गरिरहेका छौँ । तर, प्रदेश सरकारले भेन्टिलेटरमा राख्ने बिरामी विराटनगर र धरानमा रेफर गरिरहेको छ ।’
एक करोडको भेन्टिलेटर र आइसियू प्रयोगविहीन
गत वर्ष कोरोना संक्रमणको दर तीव्र भएका वेला दैलेखमा आइसियू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसियू र दुईवटा भेन्टिलेटरका लागि करिब एक करोड रुपैयाँ खर्च गरियो । स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा.निरञ्जन पन्तले भेन्टिलेटर सञ्चालन हुनु खुसीको कुरा भएको बताएका थिए । तर, उनको सरुवा भएसँगै अहिले स्वास्थ्य सेवा कार्यालयमा भेन्टिलेटर र आइसियू कक्षसमेत सञ्चालन हुन सकेको छैन । लाखौँ रुपैयाँ खर्चेर जडान भएका उपकरण त्यत्तिकै थन्किएका छन् ।
कोरोना संक्रमणको धेरै जोखिम भएका बिरामीलाई आइसियू र भेन्टिलेटरमा राखेर उपचार गर्न सके केही हदसम्म बाँच्ने सम्भावना हुन्छ, तर अहिले दैलेखमा श्वासप्रश्वासको समस्या भएका बिरामीलाई सामान्य अक्सिजनको भरमा उपचार गरिँदै आएको छ । गम्भीर प्रकृतिका बिरामीहरू प्रभावकारी उपचार नपाएर दिनहुँ मृत्युको मुखमा पुगेका छन् । मंगलबार मात्रै अक्सिजन अभावमा एक महिलाको ज्यान गयो ।
दैलेखमा कोरोना संक्रमणबाट हालसम्म १४ जनाको मृत्यु भइसकेको छ । अधिकांश बिरामी श्वासप्रश्वासको समस्या भएर गम्भीर अवस्थामा आउने गरेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख थिरप्रसाद रेग्मीले बताए । ‘हामीसँग भएका अक्सिजनबाट उपचार गर्दै आएको छ, तर बचाउन निकै समस्या भएको छ । भेन्टिलेटर भए पनि चलाउने दक्ष जनशक्ति नभएकाले त्यसै थन्किएको छ । जनशक्ति माग गरेका छौँ, तर व्यवस्थापन हुन सकेको छैन,’ उनले भने ।
प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले दुई साताअघि नै डिसिसिएमसीको बैठकबाट निर्णय गराएर जनशक्ति माग गरे पनि अहिलेसम्म सुनुवाइ नभएको जानकारी दिए । प्रतिनिधिसभाका तीनवटै सांसद रवीन्द्र शर्मा, राजबहादुर बुढा र पार्वती बिशुंकेले तत्काल स्वास्थ्य मन्त्रालयमा यसबारे कुरा गर्ने र दक्ष जनशक्ति जिल्ला पठाउने बताएका छन् ।