नेपाल बैंक लिमिटेडले ‘ए’ स्तरको रेटिङ पाएको छ । मुडिजको लगानी सेवा उपलब्ध गराउने कम्पनी इक्रा नेपाल लिमिटेडले मुडिजको स्ट्यान्डर्डबमोजिम नेपाल बैंकलाई इक्रा एनपी–आइआर ‘ए’ स्तरको रेटिङ प्रदान गरेको हो ।
रेटिङ एजेन्सीद्वारा यस स्तरको रेटिङ प्राप्त गर्ने बैंक तथा वित्तीय संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्वलाई समयमै भुक्तानी गर्न सक्ने पर्याप्त क्षमता हुने, बैंकको करेन्ट एकाउन्ट, सेभिङ एकाउन्ट (कासा) को हिस्सा ६३ प्रतिशत रहेको, पर्याप्त पुँजीकोष अनुपात रहेको, कर्जा तथा निक्षेपको कन्सन्ट्रेसन जोखिम कम रहेको र समग्र कर्जा जोखिम न्यून रहेको जस्ता आधारमा ए रेटिङ प्राप्त गरेको बैंकले जनाएको छ । यस्ता आधार प्रमाणित हुने हुनाले बैंकप्रतिको विश्वसनीयता बढ्नुका साथै बैंकको व्यवसाय वृद्घि तथा विस्तारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरेको बैंकले जनाएको छ ।
बैंकद्वारा कोभिड–१९ को प्रभावले सिर्जित प्रतिकूल परिस्थितिमा समेत कर्जा तथा अन्य सम्पत्तिको गुणस्तर कायम राख्न सफल रहेको, वित्तीय दबाबलाई व्यवस्थापन गर्न कर्जा जोखिम, व्यावसायिक तथा वित्तीय जोखिमहरूको विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारिताजस्ता कुराले ‘ए’ रेटिङमा पर्न सफल भएको जनाइएको छ । त्यस्तै, बैंकको प्रभावकारी सञ्चालनमा प्रभाव पार्ने आन्तरिक तथा बाह्य वातावरणीय तत्वहरूको विश्लेषण, बजार हिस्सा, ब्रान्ड तथा इमेज, स्वस्थ मुनाफाको आधार, नीतिगत तथा कानुनी प्रभावहरूको मूल्यांकन, पुँजी संरक्षण तथा सरकारबाट प्राप्त सहयोगजस्ता आधार पनि रहेको बैंकले जनाएको छ ।
सुशासन कायम गर्नका लागि गरिएका प्रयासहरू, नीति तथा स्थापना गरेका पूर्वाधारहरू, जोखिम वहन गर्न सक्ने क्षमता, पर्याप्त तरलता तथा पुँजीकोष, आम्दानीका स्रोतहरू तथा तिनका स्थायित्व, निक्षेपको मिश्रण, कर्जा तथा निक्षेपको अनुपात, पारदर्शिता एवं समग्र इन्डस्ट्रीको जोखिम आदिजस्ता तथ्यहरूका आधारमा बैंक ‘ए’ रेटिङमा पर्न सफल भएको बैंकको ठहर छ । बैंकद्वारा जारी गरिएको साढे ३ अर्ब बराबरको १० वर्ष समयावधि तथा ८ दशमलव ५ प्रतिशत ब्याजदर भएको ऋणपत्रलाई पनि इक्राले ‘ए’ रेटिङ गरेको बैंकले जनाएको छ ।