नेपाल सुपर लिगको फाइनलमा धनगढी एफसी

बुधबार, २९ बैशाख, २०७८
डिजिटल संस्करण
नेपाल सुपर लिगको फाइनलमा धनगढी एफसी

काठमाडौं रेजर्सविरुद्व निर्णायक गोल गरेका विशाल राई (बीचमा) सँग खुसी मनाउँदै धनगढी एफसीका खेलाडी । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

पहिलो क्वालिफायर खेलमा काठमाडौं रेजर्सलाई २–१ गोलले पराजित गर्दै धनगढी एनएसएलको उपाधिनजिक पुगेको हो 

धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा पुगेको छ । मंगलबार भएको पहिलो क्वालिफायर खेलमा काठमाडौं रेजर्सलाई अतिरिक्त समयमा २–१ गोलअन्तरले पराजित गर्दै धनगढी पहिलो संस्करणको एनएसएल उपाधितर्फ अग्रसर भएको हो । 

एनएसएलको लिग चरणको खेलबाट प्लेअफमा स्थान सुरक्षित गर्ने पहिलो टोली धनगढी फाइनलमा पुग्ने पनि पहिलो टोली नै बनेको छ । फाइनलमा उसले उपाधिका लागि प्रतिस्पर्धा गर्ने प्रतिद्वन्द्वीको टुङ्गो भने लाग्न बाँकी छ ।

प्रतियोगिताको नियमअनुसार लिग अंक तालिकाको शीर्ष दुई स्थानमा रहेका टोलीले प्रतिस्पर्धा गर्ने पहिलो क्वालिफायरको विजेता सीधै फाइनलमा पुग्नेछ । पराजित टोलीले लिग अंक तालिकाको तेस्रो र चौथो स्थानमा रहेका दुई टोलीले प्रतिस्पर्धा गर्ने इलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । त्यससपछि पहिलो र दोस्रो क्वालिफायरको विजेता टोलीले १ जेठमा हुने फाइनल खेलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । 

पहिलो क्वालिफायर खेलमा धनगढीसँग पराजित भएपछि काठमाडौंलाई फाइनलमा स्थान सुरक्षित गर्न दोस्रो क्वालिफायरको बाटो पछ्याउनुपर्ने भएको छ । दोस्रो क्वालिफायरमा काठमाडौंको प्रतिद्वन्द्वीको टुंगो बुधबार लाग्नेछ । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने इलिमिनेटर खेलमा लिग अंक तालिकाको तेस्रो स्थानमा रहेको ललितपुर सिटी एफसी र चौथो स्थानमा रहेको बुटवल लुम्बिनी एफसी भिड्दै छन् । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा धनगढीले विजयी गोल गरेको थियो । 

नियमित समयको खेलमा अग्रता काठमाडौंले लिएको थियो । मेसोके ओलोउमोउले क्रस गरेको बललाई सिक्स यार्ड बक्सबाहिरबाट हेडिङ गोल गर्दै तेज तामाङले खेलको ७५औँ मिनेटमा काठमाडौंलाई अगाडि बढाएका थिए । 

तर, काठमाडौंको यो अग्रता लामो समय टिकेन । धनगढीले आफूले गोल व्यहोरेको तीन मिनेटपछि नै बराबरी गोल फर्कायो । निशान खड्काले प्रहार गरेको कर्नरमार्फत आएको बललाई काठमाडौंका गोलरक्षक विकेश कुथुले हातले अगाडि फ्याँकेर क्लियर गर्ने प्रयास गरेका थिए । तर, फ्राङ्कलिन टल्लाले हेडिङ गर्दै फर्काएको उक्त बललाई पुजन उपरकोटीले पेनाल्टी प्वाइन्टबाट बाइसाइकल किकमार्फत गोल गर्दै धनगढीलाई खेलको ७८औँ मिनेटमा १–१ को बराबरीमा फर्काएका थिए । 

त्यसपछिको बाँकी समयमा दुवै टोलीबाट थप गोल नभएपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । अतिरिक्त समयको पहिलो हाफसम्म पनि दुवै टोलीबाट गोल सम्भव नहुँदा खेल टाइब्रेकरतर्फ अग्रसर देखिएको थियो । यद्यपि, खेलको एक सय आठौँ मिनेटमा विशाल राईले निर्णायक गोल गर्दै धनगढीको फाइनल यात्रा निश्चित गरे । 

रमेश दंगालले हेडिङ गरेको बललाई काठमाडौंका रक्षक आशिष गुरुङले आफ्नो खुट्टाबाट फुत्काएपछि विशाल राईले पाएका थिए । सोही बललाई गोलमा परिणत गर्दै विशालले धनगढीको जित २–१ ले पक्का गरेका थिए । 

त्यसअघि खेलको निर्धारित समयको पहिलो हाफमा काठमाडौंले सशक्त प्रदर्शन गरेको थियो । यद्यपि, उसले गोलको राम्रा अवसर सदुपयोग गर्न नसक्दा जितबाट वञ्चित भयो । खेलको १६औँ मिनेटमै काठमाडौंका स्टेफेन बिनोङको प्रहार क्रस बारमा लागेर फर्किएको थियो । स्टेफेनले झन्डै २० यार्ड दूरीबाट गरेको उक्त प्रहार रोकिनु काठमाडौंका लागि ठूलो दुर्भाग्य थियो । 

त्यसपछि खेलको ३७औँ मिनेटमा काठमाडौंका सुदील राईको अर्काे सशक्त प्रहार धनगढीका गोलरक्षक किरणले रोकिदिए । उनले धनगढीका दर्शन गुरुङलाई छक्याएर सिक्स यार्ड बक्सको कर्नरबाट उत्कृष्ट प्रहार गरेका थिए ।

धनगढीले भने तुलनात्मक रूपमा खेलको दोस्रो हाफमा केही राम्रा अवसर सिर्जना गर्यो । यद्यपि, ती अवसर सदुपयोग गर्न नसक्दा धनगढीलाई जितका लागि अतिरिक्त ३० मिनेट मैदानमा मिहिनेत गर्नुपर्यो । खेलको ८९औँ मिनेटमा धनगढीका सौजन राईले ओलाडिपो ओलावाले अफिजका लागि उत्कृष्ट अवसर सिर्जना गरेका थिए । तर, डी बक्सभित्र काठमाडौंका गोलरक्षक विकेशसँगको वान भर्सेस वानको अवस्थामा अफिजले गोल गर्न सकेनन् । उनको प्रहार विकेशले रोकिदिए ।

खेलको एक सय १५औँ मिनेटमा काठमाडौंको अर्काे राम्रो अवसर खेर गयो । मेसोकेले प्रहार गरेको फ्रीकिकलाई धनगढीका गोलरक्षक किरण चेम्जोङले उत्कृष्ट बचाउ गरेका थिए । तर, किरणले क्लियर गरेको बललाई सिक्स यार्डमा खुल्ला पाएका अञ्जन राईले पोस्टभन्दा निकै माथिबाट प्रहार गरे । काठमाडौंलाई खेलमा बराबरीमा फर्कने त्यही अन्तिम मौका थियो । त्यही मौका चुकाएपछि काठमाडौंले पहिलो क्वालिफायरबाटै फाइनलमा पुग्ने अवसर पनि गुमाएको हो । 

खेलपछि काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जनले प्राप्त अवसर सदुपयोग गर्न नसक्नु र अग्रता जोगाउन नसक्नुजस्ता कारणले महत्वपूर्ण खेलमा पराजय व्यहोर्नुपरेको प्रतिक्रिया दिए । यद्यपि, उनले दोस्रो क्वालिफायरमार्फत काठमाडौं उपाधि होडमा फर्कने आशा व्यक्त गरे । ‘हामी लिग चरणमा शीर्ष स्थानमा रहेर प्लेअफमा आएको टोली हौँ । यो खेलमा पनि त्यही जितको शैली कायम राखेर अघि बढ्ने योजना थियो । यद्यपि, योजना सफल भएन,’ पराजयपछि उनले भने, ‘हामीले अग्रता जोगाउन सकेनौँ । प्राप्त धेरै अवसर सदुपयोग गर्न सकेनौँ । तर, हामी अझै प्रतियोगिताबाट बाहिरिसकेका छैनौँ । हामी दोस्रो क्वालिफायर खेलमा यस्तै राम्रो प्रदर्शन गरेर उपाधि होडमा फर्कनेछौँ ।’ त्यसका बाबजुद प्रशिक्षक बालगोपालले आफ्नो खेलाडीको प्रदर्शनमा सन्तुष्टि जनाए ।

धनगढीका नाइजेरियन प्रशिक्षक फुजा टोपेले आफ्नो टोलीको फाइनल यात्रामा खुसी व्यक्त गरे । उनले फाइनलमा पनि यस्तै प्रदर्शन गरेर उपाधि जित्ने बताए । ‘आजको खेल हामी सबैका लागि राम्रो रह्यो । खेलाडीले राम्रो प्रदर्शन गरे । यो जितसँगै हामी फाइनलमा पुगेका छौँ,’ उनले भने, ‘फाइनलमा पनि यस्तै प्रदर्शनले निरन्तरता पाउनेछ ।’
 

See More On

सुझावित समाचार