करेक्सनपछि सेयर बजार पुनः लयमा फर्किएको छ । करेक्सनपछि निरन्तर बजार बढ्नु र कारोबार रकममा सुधार हुँदै जानुलाई बजारले लय समातेको मानिन्छ । लगानीकर्ता तथा विश्लेषक विष्णु बस्याल बजार लयमा फर्किएको दाबी गर्छन् । यस्तो समयमा लगानीकर्ताले लगानी बढाउने अवस्थाको सिर्जना भएको उनको भनाइ छ । निषेधाज्ञाका कारण अन्य क्षेत्रमा लगानी गर्ने अवसर पनि कम हुने भएकाले सेयर बजारमा लगानी बढ्ने हुँदा बजार सकारात्मक दिशामा रहेको उनले बताए ।
मंगलबार नेप्से परिसूचक २७ दशमलव ४७ अंकले बढेर २ हजार ६ सय ७३ दशमलव ३२ बिन्दुमा पुगेको छ । त्यस्तै, ‘क’ वर्ग कम्पनीमापक सेन्सेटिभ इन्डेक्स ३ दशमलव १२ अंकले बढेर ४ सय ७८ बिन्दुमा पुगेको छ । नेप्से सूचक बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ ।
यस दिन धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २ सय २० कम्पनीको १ करोड ८ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ८१ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा नेपाल रिइन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको ७६ करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ भने दोस्रोमा अपी पावर कम्पनीको २० करोड २३ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्टको १६ करोड २२ लाख रुपैयाँको कारोबार भएको छ ।
पाँच कम्पनीको सर्किट लेबलमा कारोबार
पाँच कम्पनीको सर्किट मूल्यमा कारोबार भएको छ । बोटलर्स नेपाल (तराई लिमिटेड) को १० प्रतिशतले बढेको छ । कम्पनीको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण नाफामूलक भएपछि यस दिन लगानीकर्ता आकर्षित भएका हुन् । कम्पनीको खुद नाफा २९ करोड रुपैयाँ रहेको छ । त्यस्तै, रुरु जलविद्युत् परियोजना, युनाइडेट मोदी हाइड्रोपावर, गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स कम्पनी, समता घरेलु लघुवित्त वित्तीय संस्थाको करिब १० प्रतिशतले सर्किट मूल्यमा रहेर कारोबार भएको छ ।
सबैभन्दा धेरै घट्ने कम्पनीमा विशाल बजार कम्पनीको रहेको छ । कम्पनीको नकारात्मक सर्किट लागेर घट्न पुगेको छ । मंगलबार मात्र कम्पनीको सेयर मूल्य ५ सय ४४ रुपैयाँले घट्न पुगेको छ । त्यस्तै, लिबर्टी इनर्जी कम्पनीको ३ र वरुण हाइड्रोपावरको २ प्रतिशतले घटेको छ ।