नागरिक एपमा ८० वटा नयाँ सेवा थपिने

मंगलबार, २८ बैशाख, २०७८
डिजिटल संस्करण

सरकारी तथा सार्वजनिक निकायले प्रदान गर्ने अनलाइन सेवालाई एकीकृत बनाउन सरकारले सुरु गरेको नागरिक एपमा ८० वटा सुविधा थपिने भएको छ । सरकारले आगामी ६ महिनाभित्रमा अन्य सुविधाहरू पनि थप गर्ने तयारी गरेको हो ।

सरकारले आगामी केही समयमा नै बागमती प्रदेशअन्तर्गत यातायातको कर तिर्ने व्यवस्था सुरु गर्न लागेको प्रधानमन्त्रीका आइटी सल्लाहकार अस्गर अलीले बताए । उनका अनुसार खानेपानी बिल भुक्तानी, चौमासिक, अर्धवार्षिक, वार्षिक कर भुक्तानी, शैक्षिक कागजात राख्न मिल्ने सुविधा पनि थप्ने तयारी गरेको छ । उनले भने, ‘अहिले एसएलसी र प्लस टूको कागजपत्र मात्रै राख्न मिल्छ । तर, अबका दिनमा अन्य तहका कागजपत्र पनि राख्न मिल्ने गरी त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयसँग सम्झौता भएको छ ।’ 

 तीन चरणमा कार्यान्वयन गरिने
सरकारले तीन चरणमा नागरिक एप कार्यान्वयन गर्ने भएको छ । प्रधानमन्त्रीका आइटी सल्लाहकार अलीका अनुसार पहिलो चरणमा डेटा क्लिन गरिनेछ । दोस्रो चरणमा सम्बन्धित निकायबीच इन्टिग्रेसन गरिनेछ । अन्तिम चरणमा पूर्ण कार्यान्वयन गरिने सल्लाहकार अलीले बताए । यो एप बनाउन नेपाल सरकारले खर्च नगरेको समेत उनले स्पष्ट पारे । 

त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव तथा आइटी महाशाखा प्रमुख अनिल दत्तले नागरिक एपको निर्देशिका पारित हुने क्रममा रहेको बताए । उनले भने, ‘एपको सुरक्षाका लागि अडिट र हरेक सेवा थप्दा सेक्युरिटी परीक्षण गरिरहेका छौँ । डेटा क्लिनका लागि गृह मन्त्रालयमा सिस्टम विकास भएको र त्यसमा सुधारको काम भइरहेको छ ।’ 

साथै, एपलाई भविष्यमा नेसनल आइडी कार्डमा जोडिने तयारी भएको समेत महाशाखा प्रमुख दत्तले बताए । दत्तले भने, ‘यसले गर्दा डेटाको समस्या नहुने र प्रमाणीकरण सहज हुनेछ ।’ उनका अनुसार आजसम्म ६ लाख २५ हजारले यो एप डाउनलोड गरेका छन् भने २ लाखभन्दा बढीको भेरिफाई भएको छ । 

आमनागरिकले नागरिक एपको फाइदा लिने हो भने डिजिटल साक्षरतालाई जोड दिनुपर्ने क्यान महासंघका अध्यक्ष नवराज कुँवरले बताए । प्रविधिमा मानिसहरू साक्षर नभए यसको उपयोगिता न्यून हुने उनको जिकिर छ । 

सुझावित समाचार