प्रधानमन्त्री केपी ओलीले आफू नेतृत्वको सरकारलाई अविश्वास गर्नुपर्ने कुनै कारण नरहेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा उनले भने, ‘राजनीतिक शक्तिहरूको बीचमा घाउ कोट्याई–कोट्याईकन, राजनीतिक शक्तिहरूको बीचमा किन चुँडिँदैन भनेर चुँडाउनका लागि तानातान गरीकन, किन भत्किँदैन भनेर ठोकी–ठोकी भत्काउन लाग्दा पनि शान्ति सुव्यवस्थाको स्थिति राम्रो छ । यदि हामी सत्यलाई स्विकारेर अघि बढ्न तयार हुन्छौँ भने यस सरकारलाई समर्थन, विश्वास नगर्नुपर्ने कुनै कारण नै छैन ।’
ओलीले भ्याक्सिन खरिदका विषयमा सरकारमाथि हिलो छ्याप्ने काम भएको टिप्पणी गरे । प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले भने, ‘मलाई अचम्म लाग्छ, हामी कोभिडविरुद्धको लडाइँमा छौँ । कतिपय पक्षमा कतिपय कर्नरमा प्रधानमन्त्रीमाथि हिलो छ्याप्ने वा सरकारमाथि होली छ्याप्ने र कोभिडविरुद्धको औषधि खरिदजस्ता कुराहरूमा भएको भ्रष्टचारको नाममा कुरा उछाल्ने र नभएका कनेक्सन अनुचित ढंगले देखाउने त्यस्ता खालका क्रियाकलापहरू भए । हामी सबैलाई थाहा छ, भ्याक्सिनको अभाव छ दुनियाँमा । भ्याक्सिन प्राप्त गर्न महामार भएको छ । यस्तो अवस्थामा दक्षिण एसियामा भारतभन्दा पछि नेपाल पहिलो राष्ट्र हो भ्याक्सिनको सुरुवात गर्ने । यस्तो महामारीको साझा समस्याका वेला यसमा पनि भ्रष्टचार गर्छ भने त्यस्तो अपराध क्षम्य हुने छैन । र, हामी छुट दिदैनौँ ।’