जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी ओलीले सोमबार संघीय संसद्को प्रतिनिधिसभाबाट लिने विश्वासको मतमा सांसदहरूलाई स्वविवेक प्रयोग गर्न दिने निर्णय गरेको छ । आइतबार पार्टीका शीर्ष नेताहरूबीच संघीय अध्यक्ष बाबुराम भट्टराईको निवासमा भएको छलफलले सांसदहरूले स्वविवेकले विश्वासको मतको पक्ष वा विपक्षमा भोट हाल्न पाउने निर्णय गरेको हो ।
सांसदहरूलाई ह्विप नलगाउने र पक्ष वा विपक्ष जेमा भोट हाले पनि त्यसलाई पार्टीभित्र छलफलका विषय नबनाउने निर्णय गरेको जसपा नेता तथा सांसद राजेन्द्र श्रेष्ठले नयाँ पत्रिकालाई बताए । ‘पछिल्लो समय चलिरहेको विवादमा हामीले पार्टीभित्र सहमतिको बिन्दु खोज्ने क्रममा सांसदहरूलाई आफ्नो अधिकार आफ्नै तवरले प्रयोग गर्न दिने निर्णय गरेका छौँ । एउटै निर्णय गर्ने प्रयास भए पनि त्यो सफल नभएपछि तत्कालका लागि यो बाटो रोज्नुपरेको छ,’ सांसद श्रेष्ठले भने, ‘विश्वासको मत लिने क्रममा यो निर्णय गरिए पनि त्यसपछि हामी अर्को निर्णयमा चाँडै पुग्नेछौँ ।’
उनले आफूहरूले पूर्ण रूपमा असफल भइसकेको ओली नेतृत्वको सरकारलाई समर्थन गर्न नसकिने बताए । नयाँ सत्तासमीकरणमा निर्णायक मानिएको जसपा पछिल्लो समय प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा दुई धारमा विभक्त थियो । यही विवादलाई सल्टाउन नसक्दा पार्टी फुटको संघारमा पुगेपछि जसपा नेताहरूले आइतबार नयाँ विकल्पमा सहमति गरेका हुन् ।