सामाजिक सुरक्षा कोषमा आबद्ध कोरोना संक्रमितलाई १ लाखसम्म उपचार खर्च

मंगलबार, २१ बैशाख, २०७८
डिजिटल संस्करण

मृत्यु भएमा पारिश्रमिकको ६० प्रतिशत पति वा पत्नीलाई निवृत्तिभरण, छोराछोरीलाई ४० प्रतिशत शैक्षिक वृत्ति सुविधा


सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिक कोरोना संक्रमित भएमा उपचार खर्चबापत १ लाख रुपैयाँसम्म पाउनेछन् । संक्रमितको मृत्यु भएमा कोषमा जम्मा भएको रकम र त्यसको प्रतिफल एकमुष्ट रूपमा मृतकका परिवारले पाउनेछन् । त्यसका साथै पति वा पत्नीले निवृत्तिभरण सुविधा र आश्रित परिवारले शैक्षिक वृत्ति सुविधासमेत पाउने कोषले जनाएको छ । 

योगदानमा आधारित कोषले श्रमिकका लागि चारवटा विभिन्न खालका सुविधा सञ्चालनमा ल्याएको छ । जसमध्ये कोरोना संक्रमित वा संक्रमणपछि मृत्यु भएका श्रमिकले औषधि उपचार, स्वास्थ्य सुरक्षा तथा आश्रित परिवार सुरक्षा योजना सुविधा प्राप्त गर्ने कोषका प्रवक्ता विवेक पन्थीले बताए । उनका अनुसार हालसम्म कोषले कोरोना संक्रमित श्रमिकको स्वास्थ्य उपचार खर्च भुक्तानी गरे पनि मृत्यु दाबी भुक्तानी भने गरेको छैन । यद्यपि, कोषमा कोरोना संक्रमित दुईजना श्रमिकको मौखिक मृत्यु दाबीको निवेदन परेको उनले बताए । 

एक लाख रुपैयाँसम्म उपचार खर्च पाउने
कोषमा आबद्ध श्रमिक कोरोनाबाट संक्रमित भएमा उपचारबापत १ लाख रुपैयाँसम्म दाबी भुक्तानी पाउने कोषका प्रवक्ता विवेक पन्थीले बताए । संक्रमणपछि श्रमिकले घरमा नै बसी उपचार गरेमा २५ हजार रुपैयाँसम्म दाबी भुक्तानी पाउनेछन् । अस्पतालमा भर्ना भई उपचार गरेमा पनि अधिकतम १ लाख रुपैयाँसम्म औषधि उपचार खर्च पाउनेछन् । यसका लागि संक्रमित बिरामीले उपचार गरेको अस्पताल वा परीक्षण गरिएको ल्याबको बिल कोषमा बुझाउनुपर्नेछ । जुनसुकै अस्पताल वा ल्याबमा परीक्षण गरे पनि कोषले दाबी भुक्तानी दिने कोषका प्रवक्ता पन्थीले बताए । तर, श्रमिकले कोषमा योगदान रकम जम्मा गर्न सुरु गरेको तीन महिना पूरा हुनुपर्ने उनको भनाइ छ । त्यस्तै, कोषमा योगदान रकम जम्मा गर्न छाडेको तीन महिनासम्म पनि यो सुविधा उपभोग गर्न पाउनेछन् । 

कोषले सञ्चालन गरेको अर्को योजना औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना हो । यो योजनाअनुसार श्रमिकले कुनै पनि रोग लागेर घरमै बसेर उपचार गरेमा वार्षिक २५ हजार रुपैयाँसम्म दाबी भुक्तानी रकम पाउनेछन् । अस्पताल भर्ना भई उपचार गर्नुपर्ने अवस्थामा वार्षिक १ लाख रुपैयाँ दाबी भुक्तानी पाउनेछन् ।

२ लाख श्रमिक जोडिए कोषमा
सामाजिक सुरक्षा कोषको तथ्यांकअनुसार हालसम्म कोषमा २ लाख ९ सय ९६ श्रमिक आबद्ध भइसकेका छन् । जसमध्ये प्रदेश नम्बर १ का २० हजार ५ सय ८२, प्रदेश नम्बर २ का १४ हजार ३ सय ८२, बागमती प्रदेशका १ लाख ५० हजार ३ सय १६, गण्डकी प्रदेशका ७ हजार २ सय ९, लुम्बिनी प्रदेशका ७ हजार १ सय ५८, कर्णाली प्रदेशका ५ सय २३ र सुदूरपश्चिम प्रदेशका ८ सय २६ श्रमिक कोषमा आबद्ध भएका छन् । त्यस्तै, हालसम्म १३ हजार ७ सय ९७ रोजगारदाता कोषमा आबद्ध भएका छन् । कोषले हालसम्म ५ अर्ब ४५ करोड योगदान रकम संकलन गरेको छ भने ७ करोड ७९ लाख दाबी भुक्तानी गरेको छ । कोषले औषधि उपचार सुविधाअन्तर्गत २ हजार ५ सय २४ वटा दाबीको भुक्तानी गरेको छ । दुर्घटना तथा अशक्तताबापत १ सय ९, आश्रित परिवार सुरक्षाबापत ३ सय ५१ र वृद्ध अवस्था सुरक्षा योजना सुविधा दाबीबापत ५ सय ४९ वटाको भुक्तानी गरेको छ । 

मृत्यु भएमा परिवारले एकमुष्ट रकम पाउने

कोरोना संक्रमणका कारण कुनै श्रमिकको मृत्यु भएमा सामाजिक सुरक्षा कोषले एकमुष्ट रकम भुक्तानी गर्नेछ । श्रमिकले हालसम्म जम्मा गरेको रकम र त्यसमा आउने प्रतिफल मृतक श्रमिकको पति वा पत्नीलाई एकमुष्ट भुक्तानी गर्ने कोषका प्रवक्ता पन्थीले बताए । 

पन्थीका अनुसार कोषले सञ्चालन गरेको अवकाश सुविधा योजनाअनुसार कोषमा आबद्ध श्रमिकको मृत्यु भएमा पति वा पत्नीले एकमुष्ट रकम पाउने व्यवस्था छ । सोही व्यवस्थाअनुसार कोरानाकै कारण श्रमिकको मृत्यु भएमा पनि कोषले एकमुष्ट रकम भुक्तानी गर्नेछ । यसका साथै मृतक श्रमिकको पति वा पत्नीले आजीवन निवृत्तिभरण सुविधासमेत पाउनेछन् । श्रमिकले खाइपाई आएको अन्तिम आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम मासिक रूपमा पाउनेछन् । 

त्यस्तै, मृतक श्रमिकको छोराछोरीले २१ वर्ष उमेर पूरा नभएसम्म योगदानकर्ताको आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम मासिक रूपमा शैक्षिक वृत्तिबापत पाउनेछन् । एकभन्दा बढी सन्तति भएमा ६० प्रतिशत रकम दामासाहीले पाउनेछन् । तर, शारीरिक वा मानसिक रूपमा अशक्त भएका बच्चाको हकमा उमेरको हद लाग्नेछैन । यस्तो अवस्थाका जुनसुकै उमेरका छोरीछोरीले पनि अध्ययन खर्च पाउनेछन् । 

त्यस्तै, मृतक श्रमिक अविवाहित भएमा एकाघरका बुबाआमाले आधारभूत पारिश्रमिकको ६० प्रतिशत जीवनकालभरिमा मासिक रूपमा निवृत्तिभरण सुविधा पाउनेछन् । मृतकका हकवालालाई २५ हजार रुपैयाँ अन्तिम संस्कार खर्चबापत प्रदान गरिन्छ ।

सुझावित समाचार