दैनिक उपभोग्य वस्तुको ढुवानीका साधनले सबैले देख्ने गरी ढुवानी सेवा खुलाउनुपर्ने

सोमबार, २० बैशाख, २०७८
डिजिटल संस्करण

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक उपभोग्य वस्तुको ढुवानीका साधन अनिवार्य रूपमा सबैले देख्ने गरी ढुवानी सेवा खुलाउनुपर्ने निर्णय गरेको छ । सरकारी निकाय, निजी क्षेत्रमा संगठित छाता संगठनका प्रमुख र प्रतिनिधिको संयुक्त बैठकले यो निर्णय गरेको हो । प्रयोग गरिएको सवारीसाधनमा सबैले देख्ने गरी अगाडि खाद्यान्न बोक्ने हो भने खाद्यान्न ढुवानी सेवा, फलफूल ढुवानी गर्ने भए फलफूल ढुवानी सेवा र तरकारी, दुग्धलगायत अन्य अत्यावश्यक उपभोग्य वस्तु भए त्यही वस्तुको ढुवानी सेवा भनेर उल्लेख गर्नुपर्नेछ । 

त्यस्तै, दैनिक उपभोग्य वस्तुको ढुवानीको साधनमा चालक र कामदार कर्मचारीले आफ्नो परिचयपत्रसहित प्रमुख जिल्ला अधिकारी र आफ्नो संस्था दर्ता वा आबद्ध भएको संस्थाको प्रमुखलाई सम्बोधन गरी पठाएको पत्रको एक–एक प्रति साथमा राख्नुपर्नेछ । 

त्यस्तै, दैनिक अत्यावश्यक उपभोग्य वस्तुहरूको आयात, ढुवानी, सञ्चय र वितरण गर्ने कम्पनी, उद्योग र संस्थाहरूले पनि प्रयोग गर्ने सवारीसाधनको नम्बर, किसिमलगायतका विवरण आफ्नो औपचारिक पत्रबाट प्रमुख जिल्ला अधिकारी र आफ्नो संस्था दर्ता आबद्ध भएको संस्थाको प्रमुखलाई विद्युतीय माध्यमबाट जानकारी गराउनुपर्नेछ ।

त्यस्तै ढुवानी साधनमा संलग्न कामदारको नाम, ठेगाना र मोबाइल नम्बरको विवरण पनि प्रजिअ र आफ्नो संस्था दर्ता आबद्ध भएको संस्थाको प्रमुखलाई विद्युतीय माध्यमबाट जानकारी गराउनुपर्नेछ । यसबाहेक दैनिक अत्यावश्यक उपभोग्य वस्तुहरूको ढुवानी सेवाका लागि उपयोग गरिएको सवारीमा चालक र कामदार कर्मचारीबाहेक अन्य व्यक्ति राख्न नपाइने भएको छ ।  

See More On

सुझावित समाचार