गाउँगाउँ पुग्यो कोरोना, लमजुङमा तयारी न्यून

शनिबार, १८ बैशाख, २०७८
डिजिटल संस्करण

१२ जिल्लामा कोरोना संक्रमितको संख्या बढेपछि कोरोनाबाट सुरक्षित हुने भन्दै लमजुङ भित्रनेको संख्या दिनानुदिन बढिरहेको छ । कोरोना संक्रमितस्थलबाट सीधै घर गएपछि कोरोना समुदायमा फैलने जोखिम पनि त्यत्तिकै बढेको छ । 

लमजुङमा स्वास्थ्य सुरक्षाविना आवतजावतमा खुला गरिएको छ । कोरोना संक्रमणको जोखिम ठाउँबाट आएका नागरिकको स्वास्थ्य परीक्षण नगरी जिल्ला प्रवेश गर्न दिइएको छ । जिल्ला भित्रने नाका पाउँदी, दुइपिप्ले, रामबजारमा कुनै पनि ठाउँमा चेकजाँच गरिएको छैन ।

देशका विभिन्न जिल्लामा संक्रमित बढ्न नदिन कडाइ गरिएका वेला लमजुङमा भने कोरोनाको जोखिम ठाउँबाट आएका नागरिकलाई स्वास्थ्य सुरक्षाविना प्रवेश दिइएको हो । सुन्दरबजार नगरपालिका ७ पाउँदीबजारका लक्ष्मीप्रसाद मिश्रले जिल्ला प्रवेश गर्नेको संख्या बढेको र उनीहरू स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरी जिल्ला भित्रिँदा जोखिम बढ्ने बताए ।

‘सवारीसाधनमा  भौतिक दूरी कायम गरिएको छैन र मास्क पनि केहीले मात्र प्रयोग गर्ने गर्छन् ’ मिश्रले भने । स्थानीय तहले स्वास्थ्य परीक्षण गरेर मात्र घरमा जान दिए संक्रमण गाउँगाउँमा पुग्न नपाउने मिश्रको भनाइ छ । बेँसीसहर नगरपालिका ८ शेराकी अनिता पौडेल भन्छिन्– ‘स्थानीय तह र प्रशासनले बाहिरी जिल्लाबाट आउनेको स्वास्थ्य परीक्षण
 गरेर मात्र जिल्ला प्रवेश गराए कोरोनाको जोखिम गाउँगाउँमा पुग्ने थिएन ।’

उनका अनुसार सवारीसाधनमा स्यानिटाइजरको व्यवस्थापन गरिएको छैन भने सामान्य ज्वरो, रूघाखोकी लागेकासमेत सार्वजनिक सवारीसाधन चढेर आएका छन् । जोखिमयुक्त ठाउँबाट आएका मानिसहरुले यात्रा गरेको सवारीमा सामाजिक तथा भौतिक दूरी कायम नगर्दा लमजुङमा केही दिनमै कोरोना संक्रमणको दर बढ्ने भन्दै उनले चिन्ता व्यक्त गरेकी छिन् । 

केही दिनयता जिल्ला प्रवेश गर्नेको संख्या बढेको भन्दै सबैमा स्वास्थ्य सुरक्षाको मापदण्ड हेरेर जिल्ला प्रवेश दिइएको प्रहरीले जनाएको छ । मानिस आउनेक्रम बढिरहेको र पाउँदीस्थित अस्थायी प्रहरी बिटले निगरानी गरिरहेको लमजुङका प्रहरी प्रमुख डिएसपी गंगाबहादुर थापाले बताए । 

लमजुङका १५ जना बिरामीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण परीक्षण गर्दा एन्टिजेन पोजेटिभ देखिएको छ । कोरोना संक्रमणसँग मिल्दाजुल्दा लक्षण देखिएपछि एन्टिजेन परीक्षण गरिएकोमा पाँच महिला र १० पुरुषमा पोजेटिभ देखिएको हो । बिरामी भएर जिल्ला अस्पताल लमजुङ आएका उनीहरूलाई कोरोना संक्रमणको लक्षण देखिएको र एन्टिजेन परीक्षण गरिएको अस्पतालले जनाएको छ । 

अस्पतालका प्रमुख हेमन्त श्रेष्ठका अनुसार १० दिनको अवधिमा जाँच गरिएकामध्ये १५ जनामा एन्टिजेन पोजेटिभ देखिएको हो । कोभिडसँग मिल्दाजुल्दा लक्षण देखिएपछि परीक्षण गरिएको अस्पतालले जनाएको छ । एन्टिजेन पोजेटिभ देखिएका दोर्दी गाउँपालिका, मङ्दी गाउँपालिका र बेँसीसहर नगरपालिकाका उनीहरूलाई होमआइसोलेसनमा बस्न सुझाब दिएको र होम आइसोलेसनमा रहेको अस्पतालले जनाएको छ । 
 

See More On

सुझावित समाचार