जिल्ला प्रशासन कार्यालय झापाले १९ वैशाखबाट निषेधाज्ञा गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आइतबार मध्यरातबाट निषेधाज्ञा जारी गर्ने घोषणा गरेका हुन् ।
कोरोना संक्रमण तीव्र रूपमा फैलिएपछि जिल्ला प्रशासन कार्यालयले एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको प्रजिअ तिमिल्सिनाले जानकारी दिए । यो समयमा प्रशासन कार्यालयले सर्वसाधारणलाई घरबाहिर ननिस्कन आग्रह गरेको छ । निषेधाज्ञाको समयमा कुनै पनि सभा, सम्मेलन गर्न नपाइने प्रजिअ तिमिल्सिनाले जानकारी दिए ।
२६ वैशाखसम्म सवारीलाई जोर–बिजोर प्रणालीमा सञ्चालन गर्न दिइने प्रशासन कार्यालयले जनाएको छ । खाद्यान्न सामग्रीसम्बन्धी पसल बिहान ६ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्न पाइनेछ । यस्तै, विवाह, व्रतबन्धलगायत सांस्कृतिक कार्यक्रममा पनि २५ जनाभन्दा धेरै भेला हुन पाइने छैन ।
विवाहमा बेहुली लिन बाहिरको जिल्लामा जान परेमा प्रशासन कार्यालयको अनुमतिमा दुईवटा गाडीमा सातजना मात्र पाइने प्रजिअ तिमिल्सिनाले बताए । आदेशको पालना नगर्नेलाई संक्रामण रोग नियन्त्रण ऐन, २०२० अनुसार कारबाही हुने प्रशासन कार्यालयले जनाएको छ ।
यस्तै मोरङको विराटनगर महानगरपालिकासहित आसपालका तीन गाउँपालिकामा शनिबारदेखि एक हप्ता निषेधाज्ञा घोषणा भएको छ ।
शनिबार बसेको जिल्ला संक्रमण रोग नियन्त्रण समितिको बैठकले आवश्यक छलफल गरी बढ्दो कोरोना संक्रमण रोकथाम गर्न शुक्रबार राति १२ बजेदेखि ७ दिनसम्म विराटनगर महानगरपालिकासहित आसपासका गाउँपालिकाहरू बुढीगंगा, कटहरी र जहदामा एक साता लकडाउन घोषणा गरेको हो ।
निषेधाज्ञा उल्लंघन गर्नेहरूलाई संक्रामक रोग नियन्त्रण ऐन, २०२० कानुनी कारबाही हुने मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए । बुढीगंगा विराटनगरको उत्तर, कटहरी पूर्व र जहदा दक्षिण क्षेत्रमा जोडिएका गाउँपालिकाहरू हुन् ।