जोखिमयुक्त क्षेत्र घोषणा गर्दै पर्वतको कुश्मा बजार एक साताका लागि बन्द

शुक्रबार, १७ बैशाख, २०७८
डिजिटल संस्करण

कोभिड– १९ को नयाँ भेरियन्टसहितको संक्रमणबाट पर्वतको कुश्मा नगरपालिकास्थित कुश्मा बजार जोखिमयुक्त क्षेत्र भएको घोषणा गर्दै एक साताका लागि बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला कोभिड– १९ संक्रमण व्यवस्थापनका लागि बनेको समितिको शुक्रबार बसेको बैठकले वैशाख १८ गते राति १२ बजेदेखि लागू हुने गरी वैशाख २५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो । 

कुश्मा नगरपालिकाको अनुरोधअनुसार समितिले उक्त निर्णय गरेको सदस्यसचिव विमल गौतमले बताए ।  नगरपालिकाले कुश्माको १, ४, ५, ६, ७, ८ र ९ नं. वडा कार्यालय जोखिमयुक्त रहेको भन्दै लकडाउनका लागि अनुरोध गरेको थियो । समितिको बैठकले भने कुश्मा नगरपालिकाको बजार क्षेत्रमा रहेका वडा नं. ४, ५, ६ र ७ उच्च जोखिम भएको भन्दै १८ गतेदेखि लागू हुने गरी बन्द गर्ने निर्णय गरेको हो । 

बन्दका क्रममा अत्यावश्यक काममा बाहेक घरबाट बाहिर निस्कन निषेध गर्ने, एम्बुलेन्स, दमकल, शववहान, खाद्यसामग्री तथा पशुपक्षीका दाना, तरकारी, फलफूल, दूध डेरीजन्य उत्पादन, माछा, मासु, पानी, ग्याँस तथा पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन, सञ्चारकर्मीलगायतका अत्यावश्यक सवारीसाधनलाई परिचयपत्रका आधारमा स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न दिनेसमेत निर्णय गरेको छ । 

बैठकले खाद्यसामग्री तथा अत्यावश्यक सेवाका पसलहरूलाई वैशाख १९ गते बिहानदेखि लागू हुने गरी बिहान ७ बजेदेखि १० बजेसम्म र साँझ ४ देखि ७ बजेसम्म मात्रै सामाजिक दूरी कायम गरेर मात्रै सञ्चालनमा ल्याउने गरी निर्णय गरेको छ । औषधिजन्य पसलहरू भने पूर्ण रूपमा सञ्चालनमा आउने भएका छन् । 

सुझावित समाचार