यो नेतृत्वले हामीलाई कोरोनासँग बचाउन सक्दैन

समय–सापेक्ष

शुक्रबार, १७ बैशाख, २०७८
डिजिटल संस्करण

संक्रमणको चेन ब्रेक गर्नका लागि यो निषेधाज्ञालाई नागरिक र सरकारले मिलेर कडा रूपमा पालन गर्न जरुरी छ, होइन भने फेरि पनि निषेधाज्ञा थप्नुपर्ने हुन सक्छ 

‘आई ह्याड अ लिटल बर्ड,
इट्स नेम वाज एन्जा
आई ओपेन्ड द विन्डो,
एन्ड इन–फ्लु–एन्जा’

आजभन्दा १०३ वर्षअघि सन् १९१८ को स्पेनिस फ्लुका वेलामा विद्यार्थीमाझ यो बालगीत निकै चर्चित थियो । स्कुल खुल्थ्यो, फेरि बन्द हुन्थ्यो, अवस्था अहिलेको भन्दा डरलाग्दो थियो । अमेरिकाको फिलाडेल्फिया र चिलिकथीलगायत सहरहरूले पनि दोस्रो लहर व्यहोर्नुपरेको थियो । दोस्रो लहरअघि लामो समयपछि पुनः स्कुल खुलेका थिए । बजारहरू खुल्दै थिए । स्कुल खुलेपछि सोचेभन्दा बढी विद्यार्थी आए । जीवन सामान्य बन्दै थियो । सबै राम्रै हुँदै थियो । ३० नोभेम्बर शनिबारका दिन सहरभरि ‘ओपन हाउस’ मनाइयो । सयौँ नागरिक सडकमा आए । व्यापार, चर्च, क्लब अनि सिनेमा हलहरूमा पनि घुइँचो लाग्यो । धेरै पछि सहरमा उत्सव छाएको थियो, तर उत्सव धेरै दिन टिक्न सकेन । 

त्यसको केही दिनपछि विद्यार्थीहरूमा फ्लु देखिन थाल्यो । विद्ययालय आउने विद्यार्थी घट्दै गए । मानिस बिरामी पर्दै गए । अस्पतालहरू बिरामीले भरिन थाले । अस्पतालमा मानिसको मृत्यु हुन थाल्यो । स्वास्थ्यविज्ञले ‘ओपन हाउस’लाई कारण देखाए । फेरि ३ डिसेम्बरमा विद्यालयहरू बन्द गरिए । फिलाडेल्फियामा त अवस्था यस्तो आएको थियो, लासका निम्ति काठको बाकस पाउन सकस थियो । मानिसको मृत्युपछि गाड्ने स्थान थिएन । इतिहासले सिकाएको त्यो पाठ अनि त्यस्ता पाठ हामीले सिकेनौँ । 

हामीले चेतेनौँ 
अघिल्लो वर्ष न्युजिल्यान्डका मन्त्री डेभिड क्लार्कले लकडाउनका वेलामा आफ्नो परिवारलाई घरभन्दा केही परको पार्कमा घुमाउन लगे । मिडियामा प्रश्न उठ्यो । उनले नैतिकताका आधारमा आफूले सरकारको निर्देशिका उल्लंघन गरेको स्विकारेर राजीनामा दिए । नियमको नेतृत्व नेताले गर्ने हो । हाम्रोमा भने ठीक उल्टो छ, नियम उल्लंघन गरे मात्र नेता भइन्छ भन्ने छ वा नियम नेताका लागि होइन भन्ने स्थापितजस्तै छ । २५ जनाभन्दा बढी भेला हुन नपाउने नियम जारी गरेको भोलिपल्टै सयौँ मानिसलाई बालुवाटारमा भेला गरेर भोजभतेर गराउने प्रधानमन्त्रीको नेतृत्वमा हामीले कोरोना पार लगाउन सक्दैनौँ । यतिसम्म नागरिकको स्वास्थ्यसँग भद्दा मजाक गर्न सक्ने नैतिकहीन नेतृत्वसँग हामीले थप अपेक्षा गर्न मिल्दैन । 

कोरोना महाव्याधिजस्ता संक्रमणविरुद्ध लड्नका लागि हामीले ‘टु सी, थ्री आर’ रणनीति अख्तियार गर्नैपर्छ, अर्थात्, कम्युनिकेसन, कोअर्डिनेसन, रिलिफ, रिभाइब, रेडिनेस । यी पाँच रणनीतिलाई राम्रोसँग अभ्यास र तयारी गर्ने हो भने हामी कोरोना र कोरोनाजस्ता महामारीसँग जुध्न सक्छौँ । 

भारत कोभिडको दोस्रो लहरले आक्रान्त बन्दै थियो । नेपालमै पनि विद्यार्थीको समूहमा कोरोना पोजिटिभ देखिँदै थियो । तर, निजी विद्यालयको स्वार्थलाई पक्षपोषण गर्न शिक्षामन्त्री ‘विद्यालय किन बन्द गर्नुपर्‍यो र ? बच्चाहरू घरभन्दा स्कुलमै सुरक्षित छन्’ भन्दै हसाउँदै थिए । प्रधानमन्त्रीको, शिक्षामन्त्रीको अनि अन्य अधिकारीहरूको अनैतिक, गैरकानुनी र गैरजिम्मेवार कामहरूकै कारण हामीले दुःख पाइरहेका छौँ । कोरोना नियन्त्रणमा हामी चुक्नु अनि दोस्रो लहरसँगै लकडाउनसम्म पुग्नुका पछाडि निम्न कारणहरू छन : पहिलो, विज्ञान र तथ्यलाई हेपियो । कोरोनालाई नियन्त्रण गर्न सफल भएका देशहरू सबैले एउटा कुरा समान अभ्यास गरे । विज्ञान, तथ्यांक र तथ्यलाई केन्द्रमा राखेर नीति नियम बनाए । रणनीति तय गरे । असफल मुलुकले कहिले थाल ठटाउन लगाए त कहिले बेसारपानी खान लगाए । विज्ञानलाई हेपेर अन्धविश्वासलाई च्यापेर कोरोनासँग पार पाउन सकिँदैन थियो । दोस्रो, भारतमा हजारौँ मानिस कुम्भ मेलामा सरिक भए । चुनावी ¥यालीमा सहभागी भए । खेलकुदमा संलग्न भए । कोरोनाले भारतलाई अहिले नराम्ररी जकडेको छ । नेपालले पनि पहिलो लहरबाट पाठ सिकेको देखिएन । हाम्रोमा पनि जात्राहरू कायम रह्यो । नेताहरूका ठुल्ठूला भेला कायम रहे । बसका बस मानिस ओसारेर काठमाडौँ ल्याएर आमसभाहरू गरिए । अहिले पनि बसपार्क, अस्पताल, एयरपोर्टमा भीडभाड नै छ । हामीले भीडभाड नियन्त्रण गर्न सकेनौँ । 

तेस्रो, गत वर्ष विभिन्न देशका विभिन्न विश्वविद्यालयका प्राध्यापक र अनुसन्धानकर्ताले गरेको एउटा अध्ययनका अनुसार ८० प्रतिशत मानिसले मास्क लगाउनु भनेको कडा लकडाउन गर्नुभन्दा प्रभावकारी हो । सयौँ कोभिडका कारणले मर्दै गरेका मानिसको ज्यान जोगाउनु हो । तर, हामीले यो तथ्यलाई कहिल्यै स्थापित गर्न सकेनौँ । विद्यालयहरू खुले, विश्वविद्यालयहरू खुले, तर यो कुरालाई चेतनामा बदल्ने प्रयत्न गरिएन । मास्क लगाउने, हात धुने र दुई मिटरको दूरी कायम राख्ने कुरा यो वर्षको पाठ्यक्रमदेखि सरकारको कार्यक्रम नै बन्नुपथ्र्यो । तर, यी काम अर्काका लागि गरिदिनुपरेको जस्तो गरियो । हामी भ्याक्सिन बनाउन सक्ने मुलुक थिएनौँ । हामी यही सुरक्षाका उपायलाई राम्रोसँग अवलम्बन गरेर संसारलाई देखाउन सक्थ्यौँ । अर्को महत्वपूर्ण विषय, हामीले विश्व स्वास्थ्य संगठनको सुझाबलाई बेवास्ता गर्‍यौँ । सुरुबाटै विश्व स्वास्थ्य संगठनले परीक्षण, कन्ट्याक्ट ट्रेसिङ, आइसोलेसन र उपचारमा जोड दिन सुझाएको थियो । तर, हामीले प्रभावकारी हिसाबबाट यसलाई पनि आत्मसात् गर्न सकेनौँ । हुँदा–हुँदा अनुदानमा आएका खोपलाई समेत हामीले प्रभावकारी ढंगबाट लगाउने वातावरण बनाउन सकेनौँ । चौथौ, अघिल्लोपटक कोरोना के हो, कसैलाई थाहा थिएन । सरकार पनि यही तर्कसहित उम्कन पाउँथ्यो । तर, यो वर्ष युरोपका कैयौँ देशले दोस्रो लहरका कारण लकडाउन गर्दासमेत हामीले सजगता अपनाएनौँ । भारतमै दोस्रो लहर देखिँदासमेत हाम्रो आँखा खुलेन । 

कोभिडको पहिलो लहर र दोस्रो लहरबीचको नौ महिनामा हामीले गरेको अर्को गल्ती के हो भने हामीले प्रदेश र स्थानीय तहलाई थप सशक्त बनाउन सकेनौँ । हाम्रा अस्पतालमा आइसियू र भेन्टिलेटरहरू थप्ने कामलाई प्राथमिकता दिन सकेनौँ । परिणामस्वरूप हामीले अस्पतालमा स्वास्थ्यकर्मी, परीक्षण उपकरण, पिपिई, अस्पतालको बेड, भेन्टिलेटर, अक्सिजन सिलिन्डर र औषधि उपलब्ध गराउन सकेनौँ । हाम्रै कुरा गर्दा बरु पोहोर साल त केही नभए पनि ‘कन्ट्याक्ट ट्रेसिङ’ र ‘आइसोलेसन’का काम राष्ट्रियदेखि लिएर वडास्तरीय तहमा थोरबहुत नै भए पनि भइरहेको थियो । अहिले त ती काम पनि भएका छैनन् । हामी बारम्बार चुकेका छौँ । पाँचौँ, बेलायतका राजकुमार फिलिपको अन्त्येष्टिमा बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन उपस्थित भएनन् । करोनाका कारण ३० जनाभन्दा बढी नागरिक उपस्थित हुन नपाउने नियम लगाइएको थियो । परिवारकै सदस्यको बढी उपस्थिति हुने देखेपछि प्रधानमन्त्री जोन्सन उपस्थित भएनन् । प्रधानमन्त्री हुँ भन्दै उनले नियम मिचेनन् । हाम्रो नेतृत्वको प्राथमिकतामा कुनै पनि वेला कोरोना अनि संक्रमण नियन्त्रणमा पालना गर्नुपर्ने नियम परेनन् । हाम्रा प्रधानमन्त्री केपी ओली लावालस्कर लगाएर निर्माणाधीन धरहरा उद्घाटन गर्न नियम तोडेरै गए । आफूलाई धरहराभन्दा अग्लो देखाउन उनले गरेका यस्ता प्रचारबाजी सम्झिँदा पनि लाजमर्दो लाग्छ । त्यत्रो चुचुरोबाट पनि कोरोनाले ढाल्दै गरेको मानिसको लास र नागरिकले भोगेका पीडा उनले देखेनन् । एयरपोर्टबाट आएका मानिसको लासका बाकस देखेनन् । बरु उल्टै सरकारले कोरोनाविरुद्ध उत्कृष्ट काम गरेको भाषण गरे । लाज पचेपछि कसैको केही लाग्ने रहेनछ । 

‘सरकार’ टिकाउन जे पनि गर्न तयार रहेको नेतृत्वले ‘राज्यसंयन्त्र’ चुस्त बनाउन सकेन । वास्तवमा कोरोना कहर हाम्रो सरकारको नेतृत्व गरिरहेकाहरूको प्राथमिकतामा कहिल्यै परेन । पहिलो लहरका दौरान स्वास्थ्य सामग्रीमा भ्रष्टाचारदेखि सांसद अपहरण, अध्यादेश काण्डसम्म गरेको सरकारले कोरोनाविरुद्धको कामलाई कहिल्यै गति दिन सकेन । कोरोनाविरुद्ध लड्न, जुन राष्ट्रिय एकता कायम गर्नुपर्ने थियो, त्यो हाम्रा प्रमुख नेतृत्वले गर्न सकेनन् । 

‘टु सी, थ्री आर’ रणनीति
कोरोनाजस्ता माहामारी प्राकृतिक असन्तुलनसँगै अब विभिन्न रूपमा वेला–वेलामा आई नै रहनेछन् । तसर्थ, अब हामीले हाम्रा स्वास्थ्य संरचनालाई बलियो बनाएर महामारीको सामना गर्नुको विकल्प छैन । कोरोना महाव्याधिजस्ता संक्रमणविरुद्ध लड्नका लागि हामीले ‘टु सी, थ्री आर’ रणनीति अख्तियार गर्नैपर्छ । अर्थात्, कम्युनिकेसन, कोअर्डिनेसन, रिलिफ, रिभाइब, रेडिनेस । यी पाँच रणनीतिलाई राम्रोसँग अभ्यास र तयारी गर्ने हो भने हामी कोरोना र कोरोनाजस्ता महामारीसँग जुध्न सक्छौँ । 

आज हामी जुन बिन्दुमा उभिएका छौँ, त्यहाँबाट अबको बाटो भनेको मानिसलाई रोग र भोकबाट बचाउने नै हो । संक्रमण ह्वात्तै बढेसँगै अहिले ठूलो स्वास्थ्य संकट देखिएको छ । विशेष गरी अक्सिजन, आइसियू बेड तथा अन्य आवश्यक स्वास्थ्य सामग्रीको अभाव छ । त्यसैले अगाडिको बाटो थप चुनौतीपूर्ण देखिएको छ । 

पहिलो रणनीति– कम्युनिकेसन अर्थात् सही सूचनाको प्रवाह । यस्ता महामारी आउनेबितिकै सरकार र नागरिक तहबाट गर्नुपर्ने पहिलो काम भनेकै सही सूचनाको सञ्चार हो । यो पहिलो चरणमा हामीले कोरोनाबारे जागरण अभियान तथा सचेतना अभियान सञ्चालन गर्नुपर्छ । सूचना आमनागरिकको तहसम्म पुर्‍याउन विभिन्न भाषामा जनचेतनामूलक सन्देशहरू बनाउन जरुरी छ । नागरिकलाई नेतृत्वकै तहबाट कोरोनासँग सम्बन्धित कामहरू गर्न वा नगर्न अपिल गरिन जरुरी छ । भ्रामक समाचारलाई चिर्ने संयन्त्र खडा गर्न पनि त्यति नै जरुरी छ । दोस्रो– कोअर्डिनेसन अर्थात् समन्वय हो । यो चरणमा सरकार अनि आमनागरिकबीचको पुललाई भर्ने काम गर्नुपर्छ । सरकारले दिने सूचना र राहत सही व्यक्तिकोमा सही समयमा पुर्‍याउन प्रभावकारी समन्वयकारी भूमिका आवश्यक रहन्छ । नागरिक र सरकारबीच रहने ठूलो खाडललाई पुर्न विभिन्न स्वयंसेवकदेखि कलाकार, खेलाडी, गायकलगायत परिचित व्यक्तिसम्मको सहयोग लिएर विश्वासको वातावरण बनाउन आवश्यक छ । 

तेस्रो– रिलिफ अर्थात् राहतको व्यवस्था । यो अवधिमा नागरिकलाई राहत पुर्‍याउन सरकारबाट विभिन्न राहत दिन जरुरी छ । आवश्यक नागरिकलाई राहत वितरण गर्ने, आवश्यक नागरिकको राहतमा पहुँच सुनिश्चित गर्ने र उचित सुरक्षासहित स्वयंसेवा गर्ने काममार्फत नागरिकलाई भोक र रोगबाट बचाउन जरुरी छ । चौथो– रिभाइब अर्थात् पुनरुत्थान । यस्ता महाव्याधिको वेलामा राज्यका संरचनालाई बलियो बनाउन जरुरी छ । भ्याक्सिन नागरिकका निम्ति सक्दो छिटो उपलब्ध गराउने, आफ्ना नागरिकलाई सुरक्षित राख्ने कामसँगै नागरिकलाई सामान्य जीवनमा फर्काउन सरकारले विशेष नेतृत्व लिनुपर्ने हुन्छ । साथै, आमनागरिकले सरकारको कामको पारदर्शिता खोजेर सरकारलाई जवाफदेही बनाउन जरुरी छ । ‘सूचनाको हक’ जस्ता अभियानमार्फत यसबीचमा भएका कार्यको पारदर्शितालाई बहसको विषय बनाउनुपर्छ । देशमा गिरेको अर्थतन्त्रलाई उकास्न साकारले ठोस योजनाहरू ल्याउन जरुरी छ । साथै, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत विषयलाई राज्यको दायित्वका रूपमा स्थापित गरेर नागरिकमा आत्मविश्वास भर्न जरुरी छ । 

अन्तिममा पाँचौँ– रेडिनेस अर्थात् पूर्वतयारी । कोरोनाजस्ता महामारीबाट दीर्घकालमा आउने असरको सामना गर्नका निम्ति नेतृत्व सधैँ तयारी रहन आवश्यक छ । अर्को माहामारी वर्षौंपछि आउन सक्छ वा छिटै पनि आउन सक्छ । तर, नेतृत्व सधैँ यस्ता महामारीका निम्ति तयार रहनुपर्छ । त्यसका लागि तिन तहको सरकारलाई सक्रिय गराई शिक्षा अनि स्वास्थ्यमा नागरिकको सहज, सुलभ अनि स्तरीय पहुँच कायम राख्न सक्नु हरेक नेतृत्वका लागि प्रारम्भिक सर्त हो । राज्य र नेतृत्वले एउटा घटना हेरेर अल्पकालमा समाधान खोज्नु हुँदैन । कम्तीमा नेतृत्वले केही आधारभूत दुर्घटना, प्राकृतिक प्रकोप र महामारीलाई केन्द्रमा राखेर सधैँ पूर्वतयारी गर्नुपर्छ । 

आज हामी जुन बिन्दुमा उभिएका छौँ, त्यहाँबाट अबको बाटो भनेको मानिसलाई रोग र भोकबाट बचाउने नै हो । संक्रमण ह्वात्तै बढेसँगै अहिले ठूलो स्वास्थ्य संकट देखिएको छ । विशेष गरी अहिले अक्सिजन, आइसियू बेड तथा अन्य आवश्यक स्वास्थ्य सामग्रीको अभाव छ । स्वास्थ्यकर्मी नै संक्रमित हुन थालेका छन् । कोरोनाको यो भेरियन्टको अर्को खतरा भनेको यसले युवाहरूलाई समेत सिकिस्त पारेको छ । त्यसैले अगाडिको बाटो थप चुनौतीपूर्ण देखिएको छ । तसर्थ, हामीले निम्न बुँदाहरू अविलम्ब गर्न जरुरी छ : 

(क) कडा लकडाउन र राहत 
जनचेतनामूलक कार्यक्रम कहिल्यै बासी हुँदैन । हामी करिब दुई सय वर्षदेखि हात धुन सिक्दै छौँ । यस्ता जनचेतनामूलक कार्य कोरोनाजस्ता महामारीका निम्ति सबैभन्दा प्रभावकारी औषधि हुन् । देशका मुख्य सहरमा निषेधाज्ञा जारी भइसकेको छ । तसर्थ, संक्रमणको चेन ब्रेक गर्नका लागि यो निषेधाज्ञालाई नागरिक र सरकार मिलेर कडा रूपमा पालन गर्न जरुरी छ । होइन भने फेरि पनि निषेधाज्ञा थप्नुपर्ने हुन सक्छ । त्यसले हाम्रो अर्थतन्त्रलाई झन् धराशायी बनाउनेछ । तर, सरकारको दायित्व निषेधाज्ञामै सीमित भने हुनुहुँदैन । सरकारले दैनिक ज्याला मजदुरी गरेर खानेहरूका निम्ति राहत प्याकेजको घोषणा गर्नुपर्छ । सरकारले स्थानीय तहको मद्दतले यस्ता नागरिकको पहिचान गरी खानाको व्यवस्था गर्न सक्नुपर्छ । अब कोही सूर्यबहादुरहरू भोकको कारणले मर्नु हुँदैन । साथै, हामीले विदेशी कामदारको अवस्थाबारे समेत ध्यान दिन जरुरी छ । यस्तो वेलामा हामीले प्रदर्शन गर्नुपर्ने भनेकै मानवता हो । 

(ख) स्वास्थ्य सेवाको प्रभावकारिता
अहिले पनि विभिन्न स्थानमा स्वास्थ्यकर्मीले पिपिईलगायत स्वास्थ्य उपकरण पाउन नसकेको गुनासो आइरहेको छ । सरकारले सम्पूर्ण स्वास्थ्यकर्मी र अस्पतालका स्वयंसेवकलाई तुरुन्तै पिपिईलगायत अन्य स्वास्थ्य सामग्री उपलब्ध गराइहाल्नुपर्छ । साथै, स्वास्थ्यकर्मीको स्वास्थ्यको ध्यान दिने, अस्पतालमै सुरक्षित खानपान व्यवस्थापन गर्ने जस्ता विषयमा पनि सरकारले तुरुन्तै प्रबन्ध गर्नुपर्छ । स्वास्थ्यकर्मीको स्वास्थ्य बिमा र कोरोना भत्ता समयमै उपलब्ध गराउन ढिला गर्नुहुन्न । संक्रमणको दोस्रो लहरको अहिलेको सुरुवाती अवस्थामै केही अस्पतालमा अक्सिजन र आइसियू शड्ढयासहित जनशक्ति अभावले भयावह स्थिति देखिइसकेकाले हरसम्भव उपाय लगाएर तत्काल समस्या समाधान गर्न सरकारले एक सेकेन्ड पनि ढिला गर्नुहुन्न । अस्पतालमा बिग्रिएका अक्सिजन प्लान्ट मर्मतदेखि सिलिन्डर आयातमा आवश्यक तदारुकता देखाइहाल्नुपर्छ । 

साथै, अब कोरोना परीक्षणलाई व्यापक बनाएर कन्ट्याक्ट ट्रेसिङमा वडाले नेतृत्व लिनुपर्छ । वडा कार्यालय बन्द गरेर घरमा सुत्ने वेला होइन, यो । क्वारेन्टिन तथा आइसोलेसन सेन्टरको आवश्यक व्यवस्थासहित प्रभावकारी व्यवस्थापन गर्नसमेत स्थानीय तहले नेतृत्व लिन जरुरी छ । स्थानीय तहले विभिन्न क्लब, संघसंस्थालाई समेत चलायमान बनाएर नागरिक सचेत बनाउने काम निरन्तर गर्न जरुरी छ । साथै, हामीले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारी, पत्रकारको मनोबल बढाउने नीतिगत निर्णयहरू पनि लिनुपर्छ । 

(ग) व्यवस्थापकीय कौशल
हाम्रो अवस्थाअनुसार हामीले धेरै विषय अरू देशमा भर पर्नुपर्ने बाध्यता छ । हामीले धेरै गर्न सक्दैनौँ । तर, हामीले सक्ने पनि गरिरहेका छैनौँ । पिसिआर टेस्ट गर्ने ठाउँ व्यवस्थित गर्न हामी किन सकिरहेका छैनौँ ? भ्याक्सिन लगाउने ठाउँ आज माछा बजारजस्तो किन छ ? एयरपोर्ट र बसपार्कको भीड आज कोरोना सर्ने हटस्पट किन बन्दै छ ? आज कति स्थानमा हामीले किनेका र अनुदान पाएका उपकरणहरू प्रयोगमा आएका छैनन् । यति व्यवस्थापन राम्रोसँग गर्न सके मात्र पनि कोरोना एक हदसम्म नियन्त्रणमा आउने थियो । यी विषयमा सरकार मात्र दोषी छैन, विज्ञले चलाएको अस्पताल त आफैँले व्यवस्थापन गर्न सकिन्थ्यो नि ?

(घ) अर्को लहरको पूर्वतयारी
फेरि पनि नेतृत्वको काम भनेकै पूर्वतयारी हो । हामी अलिकति संक्रमणको संख्या घट्नेबित्तिकै वास्ता गर्दैनौँ । हामीलाई दोस्रो लहरपछिको तेस्रो लहर कस्तो हुन्छ, थाहा छैन । वा, हामीलाई अर्को महामारी कस्तो हुन्छ, थाहा छैन । तसर्थ, हामीले भविष्यमा आउन सक्ने कोरोनाको अर्को लहर वा यस्तै अन्य महामारीका निम्ति हाम्रा संरचना, प्रणाली र रणनीतिहरू तयार राख्नुपर्छ । हामीले हाम्रो स्वास्थ्य सेवालाई बलियो बनाउन अबको केही वर्ष अन्य कुराहरूमा सम्झौता गरेरै भए पनि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्न सकेनौँ भने हामीले ठूलो क्षति व्यहोर्नुपर्ने हुन्छ । 

इतिहासकारहरूका अनुसार यस्ता महाव्याधि प्रायः दुई किसिमले अन्त्य हुन्छन् । पहिलो, चिकित्साका कारणले, दोस्रो, सामाजिक मनोविज्ञानका कारणले, अर्थात्, जब मानिसमा त्यो रोगका कारणले डरको अन्त्य हुन्छ । अहिले दुवै पूर्ण रूपमा हुन सकेको छैन । पोहोरको तुलनामा डर निकै घटेको भए तापनि पूर्ण रूपमा डरलाई मानिसले जितिसकेका छैनन् । कोरोनाको केसमा भने सम्भवतः भ्याक्सिन र डरको कमीले एकैचोटि काम गर्नेछ र यो महाव्याधिको अन्त्य हुनेछ । आशा गरौँ, कोरोना हाम्रो लागि पाठ बन्नेछ र यसले धेरै सिकाएर जानेछ, थप पीडादायी क्षति गर्नेछैन । थप आशा गरौँ– जब कोभिड–१९ आफ्नो रूप बदलिएर कोभिड–३० बनेर आउनेछ, हामी कोभिड–३० सँग जुध्न तयार भएर बस्नेछौँ । 

सुझावित समाचार