लमजुङमा सरकारी निर्णयको बेवास्ता गर्दै नियमित विद्यालय सञ्चालन

बिहिबार, १६ बैशाख, २०७८
डिजिटल संस्करण

कोरोना भाइरसको महामारी बढेपछि सरकारले विद्यालयहरू बन्द गर भनेर निर्देशन गरे पनि लमजुङका सरकारी तथा निजी विद्यालयले नियमित विद्यालय सञ्चालन गरेका छन् । विद्यालयले आधारभूत स्वास्थ्य मापदण्डसमेत पालना गरेका छैनन् । कोभिड– १९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीले वैशाख १३ गते सोमबारदेखि देशभरका सबै विद्यालयका परीक्षा तथा पठन–पाठन स्थगित गर्न सरकारलाई सिफारिस गरी सरकारले समेत विद्यालय बन्द गर्ने निर्णय गरिससकेको छ ।

तर, सरकारको निर्णय लत्याउँदै लमजुङका दुई पालिकाबाहेक ६ वटा पालिकामा नियमित विद्यालय सञ्चालन भइरहेको छ ।  सरकारकाे सबै विद्यालय र क्याम्पस बन्द गर्ने र परीक्षासमेत स्थगित गर्ने निर्णयलाई बेवास्ता गर्दै लमजुङका स्थानीय तहले विद्यालयमा पठन–पाठन गराएका हुन् ।

बेसीसहर नगरपालिकाले नगरपालिकास्तरीय कक्षा ५ र ८ वार्षिक परीक्षा २० देखि २८ गतेसम्म सञ्चालन गर्ने भएकाले विद्यार्थीलाई परीक्षाबारे जानकारी दिन विद्यार्थीलाई विद्यालय बोलाइएको बेसीसहर नगरपालिकाका शिक्षा शाखा प्रमुख किसानराज चिलुवालले बताए । 

परीक्षा सकिएपछि विद्यालय बन्द गरिने उनले बताए । जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइ लमजुङका प्रमुख वीरबहादुर गुरुङले कोरोना भाइरसको दोस्राे भेरियन्टको महामारी फैलिएकाले विद्यालय बन्द गर्नुपर्ने बताए । उनले भने, ‘जिल्लाको सुन्दरबजार र मध्यनेपाल नगरपालिका विद्यालय भने बन्द गरिएको जानकारी आएको छ ।’

मध्यनेपाल नगरपालिकाले हाल बढिरहेको कोभिड– १९ को जोखिमयुक्त अवस्था र नेपाल सरकारको निर्णयलाई आत्मसात् गर्दै नगरपालिकाका सम्पूर्ण विद्यालयका भौतिक पठनपाठन अर्को निर्णय नहुन्जेल सम्मको लागि स्थगन गरिएको मध्यनेपाल नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डेले बताए ।

लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले लमजुङको विद्यालय तथा परीक्षा स्थगित गर्ने विषयमा डिसिसिएमसीको बैठकले कुनै निर्णय नगरेको बताए । लमजुङका सातजना बिरामीमा कोरोना भाइरस (कोभिड– १९) संक्रमण परीक्षण गर्दा एन्टिजेन पजिटिभ देखिएको छ । कोरोना संक्रमणसँग मिल्दाजुल्दा लक्षण देखिएपछि एन्टिजेन परीक्षण गरिएकोमा दुई महिला र पाँच पुरुषमा पजिटिभ देखिएको हो । 

बिरामी भएर जिल्ला अस्पताल लमजुङ आएका उनीहरूलाई कोरोना संक्रमणको लक्षण देखिएको र एन्टिजेन परीक्षण गरिएको अस्पतालले जनाएको छ ।  अस्पतालका प्रमुख हेमन्त श्रेष्ठका अनुसार एक साताको अवधिमा जाँच गरिएकामध्ये सातजनामा एन्टिजेन पजिटिभ देखिएको हो । उनीहरूलाई ज्वरो आउने, कडा खालको रुघाखोकी लाग्ने, बान्ता हुनेलगायतको समस्या देखिएको श्रेष्ठले बताए । केही अस्पतालमा भर्ना भएर निको भइसकेपछि घर गएका छन् भने केही एन्टिजेन परीक्षणको क्रममा पजिटिभ देखिएका छन् । 
 

सुझावित समाचार